PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जम्बो मन्त्रिपरिषद् : ठाउँ नपाएर होटलको कोठामा बसिरहेका छन् मन्त्री



सविन ढकाल

जम्बो मन्त्रिपरिषद् : ठाउँ नपाएर होटलको कोठामा बसिरहेका छन् मन्त्री

काठमाडौः केही दिनदेखि स्वयम्भूको भगवान पाउमा रहेको 'स्वयम्भू पिस होटेल' मा बिहान-बेलुका सुरक्षाकर्मीको आवतजावत बाक्लिएको छ। वरपरका स्थानीयबासी अचम्ममा थिए- होटलभित्र के भएको छ? किन सुरक्षाकर्मीको दौडधुप छ? 

शुक्रबार बिहान करिब ७ बजे 'स्वयम्भू पिस होटेल' पुग्दा गेटमै सुरक्षाकर्मी खटिएका थिए। केही मिनेटमा एउटा सरकारी गाडी गेटबाट भित्र प्रवेश गर्‍यो। गाडी नम्बर थियो - बा.१ झ १००९।

होटेलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुनुको रहस्य खुल्यो। यो होटेलको एउटा कोठामा केही दिनदेखि गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ 'कुशल' बस्दा रहेछन्। 

भदौ ४ गते पद तथा गोपनियताको शपथ खाएपछि मन्त्री श्रेष्ठको बास नै होटेलमा भएको रहेछ। एक स्थानीयवासीले हामीसँग भने, 'चार पाँच दिन भयो, बिहान ७ बजे र बेलुका ७ देखि ९ बजेतिर सुरक्षाकर्मीको भीड हुन्छ। किन रहेछ भनेर बुझ्दा मन्त्री बस्ने गरेको पत्तो पाइयो।' 

नेकपा माओवादी केन्द्रबाट राज्यमन्त्री बनेका रामेछाप निवासी श्यामकुमार श्रेष्ठ 'कुशल' पहिले बस्दै आएको कोठा पर्याप्त नभएपछि होटलमा बस्नु परेको खुलेको छ। 

मन्त्री श्रेष्ठ यसअघि नयाँबजारमा कोठा लिएर बस्दै आएका थिए। शुरुमा त उनले आफू होटेलमा बसेको कुरा अस्वीकार गरे, 'होइन-होइन'। होटेलको नाम नै लिएपछि उनले अस्वीकार गर्न सकेनन्। भने, 'नियमित बस्दै आएको ठाउँ साँघुरो भयो। मन्त्री भएपछि आउने जाने मान्छे बढी भएकोले गाउँकै दाइको होटेलमा बस्दै आएको हुँ ।' 

मन्त्री श्रेष्ठले सीतापाइलामा घर पाइसकेकाले अबको केही दिनमा सर्ने तयारी भइरहेको जानकारी दिए। 'सीतापाइलामा घर भेटिएको छ। केही दिनमा नै सर्छु ।'

करिब साढे सात बजेतिर सशस्त्र र नेपाल प्रहरीका थप सुरक्षाकर्मी होटेलमा आए। त्यसपछि मन्त्री श्रेष्ठ होटेलबाट निस्किएर एक कार्यक्रमको लागि रामेछापतर्फ लागे। 

जम्बो मन्त्रिपरिषद्, कार्यकक्ष पाउनै गाह्रो  

सरकारले पटक-पटक थप गरेर मन्त्रिपरिषद्को संख्या ५० पुर्‍याएको छ। यसमा राज्यमन्त्रीको संख्या नै २३ जना रहेको छ। जम्बो मन्त्रिमण्डल बनेपछि अहिले राज्यमन्त्रीलाई कार्यकक्ष कहाँ दिने भन्ने समस्या पर्न थालेको छ।  

मन्त्रीहरुका लागि पुल्चोकमा मन्त्री क्वार्टर भए पनि त्यहाँ सीमित ठाउँमात्र छ। 

२३ जना मन्त्री र तीन जना उपप्रधानमन्त्रीसमेत रहेकोले भएकै मन्त्रीहरुलाई त्यहाँ ठाउँ पुगेको छैन। यस्तो अवस्थामा जुनियर राज्यमन्त्रीहरुले ठाउँ पाउन सक्ने कुरै भएन। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell