PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

च्यासलमा रहेको एन्फा टेक्निकल सेन्टरको स्तरोन्नती गरिने



पहिलोपोस्ट

च्यासलमा रहेको एन्फा टेक्निकल सेन्टरको स्तरोन्नती गरिने

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ललितपुरको च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको स्तरोन्नती गर्ने भएको छ। राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले बुधबार उक्त सेन्टरको शिलान्यास गरे ।

अब बन्ने एन्फा टेक्निकल सेन्टरमा अन्य सुविधासहित हाल पूर्व र दक्षिण दिशामा गरी १ हजार २ सय दर्शक क्षमताको प्यारपिटलाई १० हजार दर्शक क्षमताको बनाइन लागेको हो। पूर्व र दक्षिणमा पनि थप दर्शक बस्न मिल्ने गरी थप पूर्वाधार निर्माण गरिनेछ भने पश्चिमपट्टि नयाँ पूर्वाधार थपिने छ। अहिले खाली रहेको उत्तर दिशा भने खाली नै रहनेछ।

स्तरोन्नतीका लागि ३३ करोड ५० लाख रुपैयाँ खर्च हुने राखेप सदस्य–सचिव केशवकुमार विष्टले जानकारी गराए। २०१९ को फेब्रुअरी अन्तिमसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी डाँफे कन्स्ट्रक्सन कम्पनी, प्रेरा निर्माण सेवा र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि. ले निर्माणको जिम्मेवारी पाएका छन्।

शिलान्यासपछि मन्त्री केसीले सेन्टरको स्तरबृद्धि सबैका लागि खुशीको कुरा भएको बताउँदै अझ त्यसले विशेष गरी फुटबलकर्मी र खेलाडी बढी खुशी दिने धारणा व्यक्त गरे। उनले १३औं साग आयोजनाको प्रतिष्ठालाई जोगाउन सेन्टरको निर्माण कार्य समयमा सम्पन्न गर्नु पर्नेमा जोड दिदै गुणस्तरमा पनि विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याए।

उनले ‘मन्त्री आउँछन् शिलान्यास गर्छन र जान्छन्, काम पूरा हुन वर्षौं लाग्छ’ भन्ने पराम्परालाई तोड्न निर्माण कार्यले समयमै पूर्णता पाउनु पर्ने बताए।

सदस्य–सचिव विष्टले १३औं सागलाई लक्षित गरी सेन्टरको स्तरोन्नती गर्न लागिएको बताउँदै बिहीबारदेखि नै निर्माण कार्यले गति लिने बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष नरेन्द्रमान श्रेष्ठले फुटबलका लागि ऐतिहासिक दिन भएको बताउँदै सेन्टरको स्तरबृद्धिले फुटबलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई विशेष पहल गर्न आग्रह गरे। श्रेष्ठले सेन्टरमा एस्ट्रो टर्फ र फ्लडलाइट राख्नका लागि फिफाबाट स्वीकृति प्राप्त भइसकेको जानकारी गराउँदै त्यसका लागि अगष्ट ३१ मा नेपाल आउने फिफाका प्रतिनिधिसंग विस्तृत छलफल हुने बताए।

यता सदस्यसचिव विष्टले टर्फ नराखी हक्की खेल्न सहभागी राष्ट्र सहमत भएको खण्डमा सेन्टरमा हक्की खेलाउन प्रस्ताव गरिएको जानकारी गराए।

‘हक्कीमा सहभागी हुने राष्ट्रहरुले बिना टर्फ मै हक्की खेल्ने सहमति जनाए भने हामीले यो पूर्वाधारलाई हक्की खेलाउन प्रस्ताव गरेका छौं। सदस्य–सचिव विष्टले भने– ‘हक्कीको छुट्टै पूर्वाधार निर्माण गर्न ठूलो खर्च लाग्छ। यदि सरकार त्यसमा सहमत भए झन राम्रो हुन्छ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell