PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोप निर्यात



रासस

गोरखा : गोरखा सदरमुकामको हरमटारीमा सञ्चालित गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोपका विभिन्न देशमा निर्यात हुने गरेका छन्। 

कम्पनीले आयुर्वेदिक औषधि र चियालगायत सामग्री उत्पादनलाई विशेष प्राथमिकता दिँदै आएको छ। जंगलमा खेर गएका विभिन्न जडीबुटी प्रयोग गरी विभिन्न रोगविरुद्धका ८० प्रकारका औषधि उत्पादन हुँदै आएको कम्पनीका गोरखास्थित इञ्चार्ज अर्जुन अर्यालले जानकारी दिए। 

अधिकांश औषधि, चिया युरोपका विभिन्न देशमा निर्यात हुन्छ। तुलसी चिया, गुडुची चिया, हर्बल चियालगायत चिया युरोपमा निर्यात हुने गरेको अर्यालले बताए। यहाँका वनजंगलमा पाइने जडीबुटीले उद्योग सञ्चालन भइरहेको छ। 

धादिङ, तनहुँ, लम्जुङ, चितवनलगायत जिल्लाबाट समेत कच्चापदार्थ ल्याउने गरिन्छ। जटामसी, कुड्की, चिराइतो, हर्रो, बर्रो, अमला, गुर्जो, घोरताप्रे, तेजपात, रुद्राक्ष, सिमली, असुरो, सर्पगन्धालगायत कच्चापदार्थ कम्पनीले खरिद गरी विभिन्न औषधि बनाउने गर्छ। सामुदायिक वन समूहको समन्वयमा जडीबुटी कम्पनीसम्म आइपुग्छ। 

निमपत्ता, टाँकीका पात र बोक्रा पनि औषधि बनाउन प्रयोग गरिन्छ। मरिच, सुकमेललगायत कच्चापदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ।

जिल्लामै पाइने कच्चापदार्थले प्रायः उद्योगको माग धान्ने गरेको अर्यालले बताए। पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त कम्पनीमा २७ जनाले रोजगारी पाएका छन्। 

कम्पनीका कविराज जीवन रेग्मी ग्यास्टिक रोगविरुद्ध खाने चूर्ण अइरपत्तिकर, पायल्स रोगविरुद्धको पिलारिन, उच्चरक्तचाप घटाउने केन्सारिनलगायत औषधिको बजारमा माग बढेपछि कम्पनीले उत्पादन बढाएको बताउँछन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell