PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

भारतले मेची नदीमाथि १५९ करोड भारुको लागतमा पुल बनाउने, भोलि देउवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर हुँदै



भारतले मेची नदीमाथि १५९ करोड भारुको लागतमा पुल बनाउने, भोलि देउवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर हुँदै

नयाँ दिल्ली : भारतले मेची नदीमाथि १५९ करोड भारुको लागतमा पुल बनाउने भएको छ। नेपालको काकडभित्ताबाट भारतको पानीट्याङ्की बाइपास जोडिने गरी यो नयाँ पुल बनाउने समझदारी पत्रमा भोलि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर हुँदैछ। 

प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भ्रमणको क्रममा आज नयाँ दिल्ली पुगेका छन्। भोलि हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच वन टु वन वार्तापछि हुने प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुई प्रधानमन्त्रीको उपस्थितिमा यो समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। 

नेपालसँग हुने यो समझदारीपत्रलाई भारतको मन्त्रिपरिषद्ले आज पारित गरेको छ। समझदारीपत्रमा  भारत र नेपालबीच मेची नदीमाथि नयाँ पुल बनाउन सुरु गर्न लागत बाँडफाँट, तालिका र सुरक्षाका विषय उल्लेख छन्। 

भारत सरकारले एसियाली विकास बैँकको ऋण लिएर यो पुल बनाउन लागेको भारतीय मन्त्री अरुण जेट्लीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

१५ सय मिटर लम्बाई रहेको पुलसँगै ८ सय २५ मिटरको ६ लेनको अप्रोच रोड पनि बनाउने योजना त्यसमा छ। 

पुलले क्षेत्रीय कनेक्टिभिटीमा सुधार गर्ने र दुई देशबीचको सीमापार व्यापारलाई सुदृढ बनाउने उनले बताए। 

नेपाल र भारतबीच भोलि हुने अर्को एउटा समझदारीपत्रलाई पनि भारतीय मन्त्रिपरिषद्ले आज पारित गरेको उनले जानकारी दिए। अर्को समझदारी लागू औषधको ‌ओसारपसार र नियन्त्रणबारे छ। 

नार्कोटिक र साइकोट्रोपिक लगायतका लागू औषधहरुको अवैध व्यापारलाई रोक्ने र यसको मागलाई घटाउने सम्बन्धी भारत र नेपालबीच भोलि दुई प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर हुँदैछ। 

  

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell