PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तीजको आगमन : आज दर खाने दिन



तीजको आगमन : आज दर खाने दिन

काठमाडौं : नेपाली नारीले भाद्र शुक्ल द्वितीया। हरितालिकाको अघिल्लो दिन अर्थात् दर खाने दिन। तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज नेपाली हिन्दु नारीहरु दर खाँदैछन्।
 
भोलिको व्रतमा दिनभर निराहार रहनका लागि भाद्र शुक्ल द्वितीयामा १० पटक दर खाने चलन छ। आज राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ्य दिएर मात्र खाने परम्परा छ।
 
शास्त्रीय रुपमा भने निराहार व्रत मात्र बस्ने विधान नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। 'निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत विधान शास्त्रमा छ,' उनले भने, 'भोलि निराहार व्रत बस्नुछ भने अघिल्लो दिन धेरै खाएर र भोलिपल्ट पानी पनि नखाई व्रत गर्दा व्रतालुको स्वास्थ्यमा समस्या आउँछ।' वेदमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्मालाई रक्षा गर भनिएकाले पनि नसक्नेले निराहार व्रत बस्नु नपर्ने उनी बताउँछन्।
 
धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ।
 
तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरी शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकामा सत्य कुरो बुझ्नतर्फ लाग्न संस्कृतिकर्मीले अनुरोध गरेका छन्।
 
केही वर्षअघिदेखि तीजको दर खाने नाममा एक महिना पहिलेदेखि भोजभतेर गरेर संस्कृतिका नाममा विकृति सुरु भएको संस्कृतिका अध्यापक दिनेश थापा मगरले बताए। 'प्राचीन ऋषि परम्पराअनुसार खोज अनुसन्धान गरी व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि उपयुक्त विषयलाई अघि बढाइएको थियो,' उनले भने, 'तर मानिसले पछि थपेका विकृतिले धर्मको वैज्ञानिक पक्षलाई पनि ओझेलमा पार्न थालेको छ।'
 
तीजमा माइतीले छोरी/चेलीलाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने चलन छ। दर खाने दिनबाट तीज पर्वको सुरु हुन्छ। दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ।
 
सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म नपिई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो।

(१८ भदौ २०७३ मा पहिलोपटक प्रकाशित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell