PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पूर्व युवराज्ञी हिमानी छोराछोरीसहित पर्सामा, बाढीपीडितलाई राहत बाँडिन्

पूर्व युवराज्ञी हिमानी छोराछोरीसहित पर्सामा, बाढीपीडितलाई राहत बाँडिन्

राधेश्याम पटेल/पहिलोपोस्ट


काठमाडौँ : पूर्व युवराज्ञी हिमानी शाह बाढीपीडितलाई राहत बाँड्न आज पर्सा आएकी छन्। 

आफ्नै नामबाट खोलिएको सामाजिक संस्था हिमानी ट्रस्टले पर्साको पोखरिया बजारमा आयोजना गरेको राहत वितरण कार्यक्रममा २५० जना बाढीपीडितलाई चामल, दाल, चिउरा, नुन, तेल, त्रिपाल र बिस्कुटलगायत सामानको छुट्टाछुट्टै प्याकेट वितरण गरिएको थियो। 

पूर्व युवराज्ञी हिमानीसँगै छोरी कृतिका शाह र छोरा हृदयेन्द्र शाहको हातबाट पनि राहत वितरण गरिएको थियो।

पर्साको मध्यस्थल पर्ने पोखरियामा बाढी प्रभावित नगरपालिका र गाउँपालिकाका बाढी पीडितलाई निमन्त्रणा गरी राहत बाँडिएको हो। राहत पाउनेमा पोखरिया नगरपालिका, लहावरथकरी, सुरजाहा, बुडगाई, मिर्जापुर, झौवा, विन्दवासिनीलगायतका बाढीपीडित थिए।

बिहान  साढे ८ बजे हवाईजहाजबाट सिमरा आएकी हिमानी करिब १० बजे गाडीमा पोखरिया पुगिन्। पोखरिया जाने क्रममा उनलाई बहुआर्वा भाठ्ठामा प्रशंसकहरुले अबिर र मालाले स्वागत तथा अभिनन्दन गरेका थिए।

प्रशंसकहरुको भीडले केही बेर सुरक्षाकर्मीहरुलाई सडक खाली गराउन हम्मेहम्मे परेको थियो। पोखरियाको कार्यक्रमपछि हिमानीले बाराको भलुही भरवलियामा पनि २५० जना बाढीपीडितलाई राहत बाँड्ने कार्यक्रम छ।

वीरगन्जको होटेल सम्झनामा खाना खाई उनी बारा प्रस्थान गरेकी छन्। बाराको कार्यक्रम सकेर आजै साँझ नै काठमाडौं फर्किने कार्यक्रम छ।
उनीसँग काठमाडौंबाट किशोरबहादुर सिह र हीराबहादुर चन्द, वीरगन्जका समाजसेवी पशुपतिविक्रम शाह, समाजसेवी उषा शाह, राजावादी संस्था विद्वत परिषद्, राष्ट्रवादीका जनक शाहलगायत सहभागी छन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell