PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सौराहामा पर्यटककाे चहलपहल सुरु, २ साताभित्र ९० प्रतिशत होटल सञ्चालनमा आउने



राजेन्द्र आचार्य

सौराहामा पर्यटककाे चहलपहल सुरु, २ साताभित्र ९० प्रतिशत होटल सञ्चालनमा आउने

चितवन :  चितवनको पर्यटकीय नगरी सौराहामा फेरि पर्यटकीय चहलपहल सुरु भएको छ। दुई साताअघिको बाढीका कारण सौराहामा पर्यटकको चहलपहल ठप्प प्रायः भएको थियो। 

व्यवसायीले बाढी घटेको दुई दिनपछि नै सरसरफाई गरि होटल तथा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका थिए। पर्यटकहरुको सुविधालाई ध्यान राखी व्यवसाय संचालन गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी बताए।

पर्यटकको चहलपहल सुरु भएपछि सौराहामा हात्ती, जिप, डुंगा सफारी सुरु भइसकेको छ। बाढीले सौराहाका रिभर साईडमा तहसनहस भएको रेष्टुरेण्टकोसमेत पुनर्निर्माण कार्य धमाधम भईरहेको छ।

सौराहाका १ सय १० वटा होटल तथा रेष्टुरेण्ट डुवानमा परेपनि व्यवसायी सबै पीडा भुलेर ३० प्रतिशत होटलहरु सेवा दिन तयार भइसकेका क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले बताए।

उनले भने,‘हामीलाई पीडा भन्दा पनि पर्यटकलाई कसरी सेवा दिने भनेर चिन्ता छ। पर्यटकहरु आईरहेका छन्, पहिलाकै जस्तो सेवा दिन आतुर छौं।’

सौराहा मुलुकै तेश्रो पर्यटकीय गन्तव्य हो। यहाँ प्राकृतिक सौन्दर्यतासँगै एक सिङ्गे गैंडा, बाघलगायतका जीवजन्तु हेर्न पर्यटकहरु लालायित हुने गर्दछन्।

बाढीले सवैभन्दा धेरै राप्ती नदी किनारको होटलहरु क्षति पुर्याएको थियो भने रिभर साईडका ६ वटा रेष्टुरेष्ट बगाएको थियो। १५ करोड रुपैयाँ बराबरको क्षति हुँदासमेत तुरुन्त सञ्चालन गर्न यहाँका व्यवसायी लागिपरेका छन्।

क्षेत्रीय होटल संघका सचिव दामोदर रेग्मीले दुई हप्तामा ९० प्रतिशत होटल सञ्चालन आउने बताए। उनले सरकारसँग बैंकको ऋण र कर छुट गर्न माग पनि गरे।

भूकम्प, नाकावन्दी र नारायणगढ–मुग्लिनसडक खण्डमा हुने अवरोधका कारण सौराहामा पर्यटन सुस्ताएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell