PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डायमण्ड र पुलिस सेमिफाइनलमा



पहिलोपोस्ट

डायमण्ड र पुलिस सेमिफाइनलमा

पोखरा : डिफेन्डिङ च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लब रेडबुल राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखराको लामाचौरमा तीज महोत्सबको अवसरमा मंगलबारबाट शुरु भएको छैटौँ संस्करणमा समूह ‘ए’ बाट डिफेन्डिङ च्याम्पियन न्यू डायमण्ड समूह विजेता तथा पुलिस समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।

मंगलबार भएको खेलमा न्यु डायमण्डले पुलिसमाथि ३–० को सोझो जित निकाल्यो। खेलमा न्यू डायमण्ड २५–१५, २५–१९ र २५–२० ले विजयी भयो। डायमण्डको जितमा मुख्य स्पाइकर प्रतिभा मालीले उत्कृष्ट प्रदर्शन गरेकी थिईन्।

समूह ‘ए’ मा दुई टोली मात्रै रहेकाले पुलिस डायमण्डसँग पराजित भएपनि सेमिफाइनलमा पुग्न सफल भयो।

मंगलबार बिहानै भएको समूह ‘बी’ को पहिलो खेलमा पश्चिमाञ्चलले काठमाडौंको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि २५–१५, २५–१७ र २५–२३ को सहज जित निकाल्यो।

मंगलबारको लागि तय भएको पश्चिमाञ्चल र नेपाल एपिएफ क्लबको अन्तिम खेल भने वर्षाका कारण स्थगित हुन पुग्यो। नेपाल एपिएफ क्लबले १४–४ को अग्रता लिइरहेको अवस्थामा भारी वर्षा भएपछि खेल स्थगित हुन पुगेको थियो। त्यसपछि वर्षा नरोकिएपछि खेल पुन सुचारु हुन सकेन। मंगलबार स्थगित भएको खेल बुधबार हुने प्रतियोगिता संयोगिता सुशिलकुमार श्रेष्ठले जनकारी गराए।

तीन दिनसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय स्तरको पाँच टिमको सहभागिता रहेको छ। समूह ‘ए’ मा न्यू डायमण्ड र पुलिस तथा समूह ‘बी’ मा एपीएफ क्लब, पश्चिमाञ्चल र जावलाखेल रहेको छ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। तेश्रो हुनेले २० हजार र सान्त्वना हुनेलाई १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार स्वरुप ट्रफी र घडी उपहार प्राप्त गर्नेछ। लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका सबै खेलहरु इन्द्रराज्यलक्ष्मी माविको परिसरमा संचालन हुनेछ।

न्यू डायमण्ड एकेडेमी प्रतियोगिताको सर्वाधिक सफल टिम हो। डायमण्डले दोस्रो संस्करणदेखि पाँचौ संस्करणसम्म लगातार उपाधि जितेको थियो। एपीएफ क्लबले पहिलो संस्करणको उपाधि जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell