PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मौसमका कारण दुई चरणमा निर्वाचन



पहिलोपोस्ट

मौसमका कारण दुई चरणमा निर्वाचन
फाइल फोटो

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले १० गतेका लागि तोकिएको प्रदेश र संघीय संसदको निर्वाचन दुई चरणमा हुन सक्ने बताएका छन्। आयुक्त यादवले मुलुकको भौगोलिक अवस्था र प्राविधिक कारणले अर्को चरणमा पनि हुन सक्ने सम्भावना रहेको बताएका हुन्। 

रिपोटर्स क्लबमा उनले भने, ‘संविधान सभाको निर्वाचनका बेलामा पनि मंसिर ४ गते हिमाली भेगमा हिऊँ परेको थियो। अहिले पनि त्यो सम्भावना छ। प्राकृतिक चुनौती आइपरे हामी दोस्रो चरणमा जानै पर्छ।’

यादवले आफूहरुले भौगोलिक अवस्था र निर्वाचनको प्राविधिक तयारीको अवस्थालाई मध्यनजर गरेर मंसिर ४ र २१ गते गरी दुई चरणको निर्वाचनको प्रस्ताव गरेको उल्लेख गरे। 

उनले भने, ‘अहिलेसम्म निर्वाचन कानून आइसकेको छैन, निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि आइसकेको छैन। हामीलाई निर्वाचनको तयारीको लागि पनि प्रयाप्त समय दिइएको छैन। नियन्त्रण बाहिरको परिस्थिति आए निर्वाचन अर्को चरणमा पनि हुन सक्छ ।’

यादवले अहिलेको चुनावमा मतपत्रको ब्यवस्थापन सबैभन्दा ठूलो चुनौती भएको भन्दै आयोगले दुई वटा मतपत्रमार्फत् निर्वाचन गराउने तयारी भइरहेको स्पष्ट पारे। यद्यपि उनले राजनीतिक बृत्तबाट बाहिर आए जस्तो चार वटा मतपत्रबाट चुनाव गराउने गरी कानून निर्माण गरे तोकिएको मितिमा निर्वाचन गर्न नसक्ने दावी गरे। यादवले दलहरुले नै नमानेकाले आगामी निर्वाचनमा पनि भोटिङ मेसिनको प्रयोग नहुने स्पष्ट पारे । 

उनले असोज २ गतेको तेस्रो चरणको स्थानीय निर्वाचनको मिति कुनै पनि हालतमा नसर्ने दावी गर्दै बाढीका कारण उत्पन्न समस्या समाधानका लागि आफूले प्रधानमन्त्रीसँग आग्रह गरिसकेकोले मतदान केन्द्रसम्मको बाटोसहितको ब्यवस्था सरकारले गर्ने विश्वास ब्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell