PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कमल थापाको पक्षमा ओलीको सम्बोधन, संसदमा भने- 'मेरो यो आँसु बगाई व्यक्तिप्रति हैन प्रवृत्तिप्रति हो'



कमल थापाको पक्षमा ओलीको सम्बोधन, संसदमा भने- 'मेरो यो आँसु बगाई व्यक्तिप्रति हैन प्रवृत्तिप्रति हो'

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेता तथा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको पक्षमा संसदमा अभिव्यक्ति राखेका छन्। 

कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको सम्बन्धमा सर्वोच्च अदालतमा पशुपतिशमशेर राणाले दायर गरेको रिटका सम्बन्धमा भएको अन्तरिम आदेशप्रति असन्तुष्टि व्यक्त गर्दै उनले अदालतको स्वतन्‍त्र भूमिकाबारे प्रश्न उठाए। 

'आम जनताले अदालतको निष्पक्ष भूमिका खोजेको, हेरेको र अपेक्षा गरेको हुन्छ,' उनले भने। 

अस्तिको दिन निर्वाचन आयोगले पार्टी टुक्राउन निवेदन दिने केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि दिएको समयमा सनाखतका लागि नआएकाले प्रस्ताव स्वीकार्य भएन भनेर निर्वाचन आयोगले भनिसके पनि हिजो अदालतबाट पहिले नै रोहवरमा भएकोले सनाखत फेरि गर्नु पर्दैन भनेर फैसला आएको उनले बताए। 

'यो कमसेकम नेपाली जनताले बुझ्ने गरी हुनुपर्‍यो नि, एउटा संस्थाले सार्वजनिक ढंगले सूचना गर्छ। अर्कोले फेरि सनाखत भइसक्यो फेरि किन गर्नु भन्छ', उनले भने।
 
'मेरो आग्रह के छ भने लोकतन्त्र क्षणिक लाभका निम्ति मर्यादित संस्था दुरुपयोग गर्ने प्रणाली हैन', ओ‌लीले भने, 'लोकतन्त्रमा आधारभूत मूल्य मान्यतामा अडिनु पर्छ। शक्ति सन्तुलन र नियन्त्रण कायम हुनुपर्छ।'

बलियाले असंगठित कमजोर र शक्तिविहीनलाई अन्याय गर्छ कि भनेर हेर्नुपर्नेमा त्यसो नभएको भन्दै यसले लोकतन्त्रको स्वास्थ्य भविष्यका निम्ति दुखद हुने ओलीले बताए।
 
उनले डिआइजी नवराज सिलवालबारे पनि नाम नलिई संसदमा कुरा उठाए, 'एउटा पुलिस अफिसरले चाकडी पुर्‍याएन भनेर सिङ्गो राज्य लाग्ने। दोस्रो हैन पहिलो वरियताको हो भनेर भनिसकेपछि ११ वटा (एआइजी) बढुवामा १२ औँ नम्बरमा पनि पर्दैन।'

उनले पाएको हक पनि सरकारले मासिदिएको आरोप लगाउँदै भने, 'मेरो यो आँसु बगाई व्यक्तिप्रति हैन प्रवृत्तिप्रति हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell