PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

यी हुन् नयाँ शक्तिको कमजोरीका आठ बुँदा



आकाश क्षेत्री

यी हुन् नयाँ शक्तिको कमजोरीका आठ बुँदा

काठमाडौंः नयाँ शक्ति पार्टीले आफ्नो पार्टीको वार्षिक समीक्षा सार्वजनिक गरेको छ।  समीक्षामा पार्टी र नेतृत्वप्रति अनेक प्रकारका भ्रम छर्ने प्रयास भएको र यस्ता भ्रामक प्रचारबाट पार्टी पंक्ति किञ्चित प्रभावित नहुने प्रतिबद्धता जनाएको छ। उसले पार्टी कहाँ चुक्यो भन्ने विषयमा समेत समीक्षा गरेको छ। 

नयाँ शक्तिले सुरु गरेको वैकल्पिक राजनीतिको अभियान कुनै खेलाँची नभएको उल्लेख गर्दै आउँदा केही वर्षभित्रै नेपालको राजनीतिलाई नयाँ मोड दिने अभियानमा समेत लाग्ने घोणणा गरेको छ। 

समीक्षाको अन्त्यमा भनिएको छ, ‘हामी हार्न, थाक्न, विचलित र पलायन हुन यो आन्दोलन र पार्टीमा आएका हैनौं। हामीलाई पूर्ण विश्वास छ कि निकट भविष्यमा नै नयाँ शक्तिले अवश्य नेपाली जनताको मन जित्नेछ र आउँदा केही दशकभित्र हामी नेपाललाई विश्वको एक समृद्ध राष्ट्रको सूचीमा पुर्‍याइ छोड्नेछौं।’

कहाँ चुक्यो नयाँ शक्ति ? 

नयाँ शक्तिले तयार पारेको आफ्नो वर्ष समीक्षामा आफ्ना कमजोर पक्षहरु आठ बुँदामा यसरी प्रस्तुत गरेको छः

१. पार्टी स्थापना भेलापछि जन आकर्षणलाई कायम राख्न सकिएन। भेला लगत्तै आन्तरिक अन्तर्विरोधहरु प्रवल हुँदै गए। पार्टी कमिटीहरु भद्धा हुँदै गए। समावेशी समानुपातिक प्रतिनिधित्व र जातीय क्लस्टर सम्बन्धी विषयमा एकरुपता कायम हुन सकेन। ‘५ स’ मध्ये कुन प्रमुख भन्नेमा बुझाइको अनेकता रह्यो। पार्टीका एक सहसंयोजकसहित केही व्यक्तिहरु पार्टी छोडेर बाहिरिए।

२. पार्टी संरचनाको चरित्र भुमरीजस्तो माथि मात्र उठ्ने तल जान नचाहने खालको भयो। पार्टीमा अति महत्वाकांक्षी र कतिपय भ्रष्ट तत्वले पनि प्रवेश पायो। बेलामा राम्रो छानविन गर्न, तदनुरुप जिम्मेवारी निर्धारण गर्न सकिएन। काम गर्ने र नगर्ने, असल र खराबबीचको भेद गर्न सकिएन। तसर्थ संगठन कामकाजी नभएर ‘क्यारियरिष्ट’हरुको भिडजस्तो हुँदै गयो। 

३. राष्ट्रिय जीवनका विभिन्न पक्ष र क्षेत्रबाट संकेन्द्रण भएका प्रतिभा र व्यक्तित्वहरुको अन्तर्घुलनको पक्ष कमजोर रह्यो। भरपर्दो नेतृत्वको टीम निर्माण हुन सकेन। बलियो आन्तरिक एकता, सहकार्य र विश्वासको वातावरण बनाउन सकिएन। पार्टी विभिन्न व्यक्ति र समूहहरुको थुप्रोजस्तो भयो, सुसंगठित संस्था बन्न सकेन। जगैदेखि नयाँ बनेको पार्टीलाई एउटा अमूक पार्टीको टुक्राको रुपमा दुष्प्रचार गर्नेहरुलाई अवसर मिल्यो।

४. पार्टी र नेतृत्वले मधेशी, थारु, आदिवासी जनजातिल गायतका देशका सीमान्तकृत समुदायको पक्षमा लिएका कतिपय जायज अडानहरुलाई विरोधी पार्टीहरुले अतिरञ्जित र गैर राष्ट्रवादी चिन्तनका रुपमा जबरजस्त प्रचार गरे। त्यसको संगठित र प्रभावकारी प्रतिवाद गर्न हामीले सकेनौं। हाम्रो प्रचार नीति आक्रामक नभएर प्रतिरक्षात्मक भयो। 

५. संगठन सृदृढीकरण, घरघरमा नयाँ शक्ति, उत्पादनमुखि स्वरोजार प्रवर्द्धनजस्ता अभियान र कार्यक्रमहरु घोषित भए। तर यी अभियान र कार्यक्रमहरु व्यवहारिक कार्यान्वयनमा सघन रुपले जान सकेनन्। हाम्रो जस्तो पिछडिएको समाजमा संगठनको व्यापक सञ्जालविना वैकल्पिक राजनीति पनि स्थापित गर्न सकिन्न भन्ने कुरालाई राम्ररी आत्मसात गर्न जरुरी छ। 

६. विद्यार्थीलगायत कतिपय आंगिक संगठन र कुनै कुनै प्रदेशमा देखापरेको आन्तरिक विवाद बेलैमा समाधान गर्न सकिएन। ती समस्याहरु बेलामै सल्टाउन नसक्दा संगठनात्मक क्षति पनि भयो। 

७. नयाँ दलहरुलाई चुनाव चिन्ह नदिने कानुनविरुद्ध आन्दोलन त गरियो तर त्यसलाई निर्णायक तहमा विकसित गर्न सकिएन। चुनाव चिन्हको अभावले व्यवहारिक राजनीतिमा निक्कै ठूलो समस्या सिर्जना गर्यो। स्थानीय तह निर्वाचन ऐन २०७३ हामी विरुद्धको निक्कै ठूलो षड्यन्त्र थियो। त्यसलाई बेलैमा चिर्न नसक्दा पार्टीपंक्तिको आत्मविश्वासलाई कमजोर बनायो।

८. स्रोत साधनको परिचालन तथा आर्थिक व्यवस्थापन प्रभावकारी बनाउन सकिएन। यो समस्यालाई समाधान गर्नेबारे पार्टीको आन्तरिक व्यवस्थापन क्षमता निकै कमजोर रह्यो। निर्वाचन परिचालनका लागि न्यूनतम् खर्च व्यवस्थापन गर्न नसक्दा पनि परिणाम सकारात्मक हुन सकेन। पार्टीका पूर्णकालीन अभियन्ताहरुको आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनै पर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell