PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

माउ पार्टीमा फर्किंदै देवेन्द्र पौडेलसहित नयाँ शक्तिका नेता, आज दिउँसो एकता सभा



पहिलोपोस्ट

माउ पार्टीमा फर्किंदै देवेन्द्र पौडेलसहित नयाँ शक्तिका नेता, आज दिउँसो एकता सभा

काठमाडौः नयाँ शक्ति पार्टीबाट निस्कासित नेता देवेन्द्र पौडेलसहित १५ जना आज नेकपा माओवादी केन्द्रमा फर्कँदै छन्। 

आज दिउँसो एकीकरण कार्यक्रम रहेको नेता मुक्ति प्रधानले पहिलोपोस्टलाई जानकारी दिए। उनले भने ‘नयाँ शक्तिबाट अलग्गिएका केही साथीहरु फेरि मूल पार्टीमा नै जान लागेका हौं।’  

केही दिन अघि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पार्टी नीति र विचार विपरित काम गरेको भन्दै  पौडेलसहित १५ जना नेतालाई पार्टीबाट निस्कासित गरेका थिए। 

पार्टीको नीति र विचारप्रति असन्तुष्टि जनाउँदै पौडेलको संयोजकत्वमा बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेपछि उनीहरुलाई नयाँ शक्तिले कारवाही गरी पार्टीबाट निस्कासित गरेको हो।

निस्कासित हुनेमा देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाइली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिला तामाङ, रत्न राना र रविन्द्र सुनुवार छन्।

२०७२ साल असोजमा  डा. बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेसँगै देवेन्द्र पौडेलेसहितका नेताले पनि माओवादी छाडेका थिए।

 माओवादी पार्टी परित्याग गरेको  आठ महिनामा भट्टराईले नयाँ पार्टी घोषणा गरेका थिए। १४ महिना नयाँ शक्तिमा रहेका पौडेले  करिव दुई वर्षपछि माउ पार्टीमा फर्किन लागेका हुन्।

आज अपरान्ह तीन बजे कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा माओवादी केन्द्रसँग एकताका लागि कार्यक्रम राखिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पार्टी प्रवेश गराउनेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell