PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा,कसरी जोड्ने,कति लाग्छ शुल्क  ?



दिनेश खड्का

नेपालमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा,कसरी जोड्ने,कति लाग्छ शुल्क  ?

काठमाडौः नेपालमा लामो समयदेखि चर्चामा रहेको इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएको छ। सोमबार यातायात मन्त्री वीरबहादुर बलायारले  औपचारिक रुपमा नम्वर प्लेटको शुभारम्भ गरेसँगै कार्यान्वयनमा आएको हो। 

सवारीसाधनमा भने तीनपछि मात्र जडान हुने यातायात व्यवस्था विभागले जनाएको छ। पहिलो नम्बर प्लेट ०१०१ बाट सुरु हुनेछ। नम्बर प्लेटमा तीनवटा अक्षर तथा चार वटा अङ्क हुनेछन्। 

विभागले पहिलोचरणमा सरकारी सवारीसाधनबाट  सुरु गर्ने विभागका प्रवक्ता टोकराज पाण्डे बताउँछन्। उनले भने,‘अहिले सरकारीबाट सुरु गर्दै छौ ।यसलाइ अनिवार्य गरिएको छैन । विस्तारै अनिवार्य गर्दै आगामी पाँच वर्षभित्र नेपालभरि कार्यान्वयनमा ल्याइनेछ।’

विभागको तथ्याङ्क अनुसार अहिले लगभग ४० हजार सरकारी साधन रहेका छन्। पहिलो चरणमा सरकारी सवारीसाधनमा इम्वोस्ड नम्बर प्लेट राखिने छ। त्यसपछि क्रमशः अन्य सवारीसाधनमा दोस्रो र तेस्रो चरण गरि ५ वर्षभित्र कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ।

त्यसो त सरकारले बजेटमा पनि ५ वर्षभित्रमा देशभरिका सबै सवारीसाधनमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ। 
कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बलायरले इम्वोस्ड नम्बर प्लेटले यातायातमा नयाँ आयाम थपेको बताए।

कस्तो र कति प्रकारको हुन्छ ?
नेपालमा हाल प्रयोग भइरहेका २३ प्रकारका नम्बर प्लेटलाइ ५ प्रकारको नम्बर प्लेटमा सीमित गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ। 

अबदेखि राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, झण्डामुनि माथिबाट हल्का निलो रङ हुँदै गाढा निलो रङ,NEPअक्षर, त्यो अक्षरमुनि लालिगुराँससहित नेपालको निशान छाप हुने , सार्वजनिक सवारीमा पहेंलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था गरिएको छ। 

त्यसैगरि सबै प्रकारका सवारी साधनको नम्बर प्लेट अगाडि लामो र पछाडि चतुर्भुज आकारको हुन्छ।

कति पर्छ मुल्य ? 
सवारी साधनलार्इ चार भागमा विभाजन गरेर मुल्य निर्धारण गरिएको छ। दुइपाङ्ग्रे, तीनपाङग्रे, चार पाङग्रे र ठूला  गरि चार भागमा विभाजन गरेर सवारीमा भिन्नभिन्न मुल्य तोकिएको छ। 

नम्बर प्लेट जडान गर्न दुर्इपाङ्ग्रेका लागि २ हजार ५ सय, तीन पाङ्ग्रे सवारीका लागि २ हजार ९सय रुपैयाँ, चारपाङ्ग्रेका लागि ३ हजार २ सय रुपैयाँ तथा हेभी सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ तोकिएको छ। 

कसरी जडान  गर्ने ?
इम्वोस्ड नम्बर प्लेट जडानका लागि सवारी धनीले सम्वन्धित यातायात कार्यालयमा फारम भरेर शुल्क तिर्नुपर्छ। फारममा भरेको  डाटा यातायात कार्यालयको आइटी कारखानामा आइपुग्छ।

त्यसको केही दिनमा इम्वोस्ड नम्बर प्लेट तयार भएर सम्वन्धित यातायात कार्यालयमा नै पुग्छ। सावरी धनीले दिएको सम्पर्क नम्बरमा एसएमएस आउँछ । उक्त एसएमएस आएपछि नम्बर प्लेट तयार भएको भन्ने बुझ्नुपर्दछ।  त्यसपछि यातायात कार्यालयमा गएर जडान गर्न सकिन्छ। 

यो एकपटक जडान गरिसकेपछि उक्काएर अन्य गाडीमा जडान गर्न मिल्दैन। यदि दुर्घटना वा अन्य कारणबाट नष्ट भएमा पुनः जडान गर्न शुल्क लाग्छ । अहिले यातायतत कार्यालय मीनभवनको इम्वोस्ड नम्बर प्लेट कारखानामा यो उत्पादन भैरहेको छ। 

माग अनुसार इम्वोस्ड नम्बर प्लेट तयार गर्न सकिने डेकोटुर टाइगर आइटी द को अपरेशनले तयार गर्न सकिने जनाएको छ। उक्त कम्पनीले इम्वोस्ड नम्बर प्लेट तयार गरिरहेको छ। 

के हो इम्वोस्ड नम्बर प्लेट ?
समान्य नम्बरप्लेट भन्दा बलियो र किफायती हुने यो नम्बर प्लेटमा लेखिएका अक्षरहरु प्लेटको सतहभन्दा माथि उठेका हुन्छन्। 

यो नम्वर प्लेट एकपटक जडान गरिसकेपछि निकाल्न नमिल्ने खालको हुन्छ। यस्तो नम्बर प्लेटको कम्तीमा पनि १० वर्षभन्दा माथिको आयु हुने विज्ञहरु बताउँछन्। 

इम्वोस्ड नम्बर प्लेट जडान गरिएको सवारीसाधनमा प्रविधियुक्त चीप राखिएको हुन्छ। जसमा सवारीसाधनको सम्पूर्ण विवरण उल्लेख हुन्छ। 

प्रदेशमा सवारी दर्ता प्रणालीलाइ यसै नम्बर प्लेटमार्फत व्यवस्थित गर्ने तयारी भैरहेको यातायात व्यवस्था विभागका अधिकारी बताउँछन्। 
यस्तै सहरका विभिन्न भागमा यो नम्बर प्लेटलाइ रिड गर्ने मेसिनसहितका गेटहरु राखिन्छन्। जसलाइ पार गर्ने सवारी साधनको विवरण उक्त गेट (मेसिन)ले रिड गर्ने अटो इन्ट्रि गर्दछ।

यस माध्यमबाट कसको सवारीसाधन, प्रयोग कसले गरिरहेको छ, कर तिरेको छ/छैन,कुन ठाँउमा पुगेको छ,कता जाँदैछ, सबै जानकारी यातायात व्यवस्था विभागरकार्यालय वा ट्राफिक कक्षमा बसेर सहजै थाहा पाउन सकिन्छ। 

यातायात व्यवस्था विभागले ५ स्थानमा मेसिनसहितको गेट राख्ने तयारी भैरहेको बताएको छ। राजमार्ग तथा मुख्य नाकाहरुमा यस्तो गेट राखिने यातायात व्यवस्था विभागका प्रवक्ता पाण्डेले बताएका छन्। 

यस्ता खालका नम्बर प्लेटहरु विभिन्न देशहरुमा प्रचलित र लोकप्रिय भएपनि नेपालमा भने चर्चामा रहेपनि कार्यान्वयनमा आउन सकेको थिएन। यो नम्बर प्लेट कार्यान्वयनमा आएपछि सवारीसाधनको चोरी र अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। 
 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell