PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ग्याङ्स्टर ब्लूज : कच्चा प्रस्तुतिमा अल्झिएको फिल्म 



गोविन्दराज नेपाल

ग्याङ्स्टर ब्लूज : कच्चा प्रस्तुतिमा अल्झिएको फिल्म 

फिल्मको नाम ग्याङस्टर ब्लूज तर फिल्ममा ग्याङ्ग नै फिल्मको कथा आधा सकेपछि बल्ल बन्छ। ग्याङ्स्टर ब्लूजको सुरुवात त अन्य फिल्मको भन्दा फरक लाग्छ। न पृष्ठभूमिको बखान, न पात्रको परिचय - सिधै मुख्य पात्र आकाश (आशिरमान देशराज जोशी) जहाँ जस्तो अवस्थामा छ, त्यस्तै देखाइन्छ। तर केही समय बित्न नपाउँदै कल्लु पात्र (संयम पुरी)ले अन्य पात्रहरुको परिचय दिन्छ जसले पटकथाको कमजोर पक्ष प्रस्ट पार्छ। 

प्रश्न उठ्छ। दर्शकलाई नै पात्र र उसको चरित्र बुझ्ने जिम्मा दिंदा हुँदैन? 

आकाश काठमाडौंको कलेजबाट रेस्टिकेट भएर घर (नेपालगञ्ज) फर्कन्छ। घरमा खाली समय बिताइरहेको ऊ बाल्यकालको साथी कल्लुको संगतमा पर्छ र उसँगै समय बिताउँछ। कल्लु ठेकेदारको लागि गुण्डागिरीमा सक्रिय रहेको कल्लुकै संवादले प्रस्ट पार्छ। र आकाशलाई पनि त्यसैमा सामेल गराउँछ। यो सब भैरहँदा कारणवश अस्पताल पुगेको आकाशको सोही मेडिकल कलेजमा अध्यनरत आर्जुमा आँखा जान्छ जो उसको स्कूलको साथी हुन्छे। बोल्छन्, भेट्छन्, नजिकिन्छन् र फिल्मको अन्त्यसम्ममा एकअर्काको लागि ज्यान दिन तयार अवस्थामा पुग्छन्। 

प्रेमकथा र ग्याङ्गस्टरको कथा एकसाथ अघि बढाउने ध्याउन्नमा न ग्याङ्गको कथा बुझिन्छ न कसरी प्रेमकथा त्यति गहिरो भयो भन्ने नै बुझिन्छ। नेपालगञ्ज र भारत/नेपाल सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिलाई निकै हल्का विषयको रुपमा प्रस्तुत गरिएको छ। कल्लु लाखौं कमाउँछ तर खोइ ग्याङ्ग? कुन ग्याङ्ग? आकाश त्यही कामको लागि ठेकेदार समक्ष पुग्छ तर काम सुरु गर्नु अघि नै यसरी आक्रोशित प्रस्तुत हुन्छ कि लाग्छ ऊ वर्षौदेखि गुण्डागिरीमै सक्रिय छ। 

अल्फाज (प्रमोद अग्रहरी)को छुट्टै गिरोह छ। तर उसको मुख्य धन्दा के हो? दर्शकले त्यो नै थाहा पाउँदैनन्। राजासाहबको आडमा काम गर्ने अल्फाज मान्छे पनि मार्छ, अवैध केही किनबेच पनि गर्छ, फिरौतीको लागि मान्छे बन्दी पनि गर्छ। उसको उद्देश्य के हो? 

एक्शनकै सिनहरु, मान्छे कुट्नु र मार्नुले मात्र फिल्मको टाइटललाई न्याय गर्दैन। न ग्याङ्गहरुको परिचयलाई पटकथाले समेट्छ न उनीहरु बीचको द्वन्व्नलाई व्याख्या गर्छ। क्लाइमेक्समा आकाशको भाइ रौनक शर्मा मारिएपछि बदलाको भावले जेलभित्रै गएर अल्फाजलाई मार्नुले कथामा नयाँ मोड आउला भन्ने हुन्छ तर कल्लुले पात्रको परिचय दिंदै गर्दा कडा प्रस्तुत गरिएको डिएसपी (रामबाबु गुरुङ) पात्र र उनको टोलीलाई कतै पनि घुसाउन आवश्यक ठानिंदैन। कल्लु, तारा (रोजिशा ठकुरी) र आकाशले मान्छे मारेर पनि मुद्दा सजिलै जित्नु, जेलबाट छुटकारा पाउनु कुनै पनि हिसाबले कमजोर कानुनलाई व्यङ्ग्य गर्दैन बरु लेखकले आफैलाई र निर्देशकलाई सजिलो बनाइ दिएको भान हुन्छ। 
फिल्ममा प्रेमको पाटो पनि त्यस्तै कमजोर छ। कुनै गम्भीर घटना र अवस्था सिर्जना भए बेगर मुख्य पात्र आकाशको आकर्षण प्रेममा बद्लिन्छ। झन् पढाइमा लागिपरेकी आर्जु कसरी, कहिले प्रेममा परिन् अत्तोपत्तो हुँदैन। 

सस्पेन्सले केही रोमाञ्चता थप्न खोजेको छ। जहाँ अल्फाजको भाइ नुरको प्रयोग राजासाहेबले गरेका छन्। तर अन्तिममा राजासाहेबको कथा पनि दृश्यमार्फत् नभएर संवादमार्फत सुनाइन्छ। कथा पटकथा दुबै कमजोर भएको दर्शकले सजिलै भेउ पाउँछन्। जहाँ प्रेम, एक्शन, क्राइम सबैको सतह देखाइएको छ। 

संवादमा मिसाइएको कमेडीले भने दर्शकलाई बोर हुन दिँदैन। 

अभिनयको हकमा मुख्य दुई पात्र आना शर्मा र आशिरमान देशराज जोशी बाहेक सबैले आफ्नो भूमिकालाई न्याय गरेका छन्। संयम पूरीले लवजमा गरेको नयाँ प्रयोगमा मिहेनत गरेको प्रस्ट हुन्छ। तर अन्य पात्रको बोलीमा त स्थानीय लवजको रङ्ग अलिकति पनि देखिंदैन। त्यसैले नेपालगञ्ज, बागेश्वरी पार्क आदि भनेर दर्शकलाई लोकेशनसँग बाध्न प्रयास भएपनि निर्देशकका लागि त्यो लवज, जीवनशैली आदि देखाइनुले महत्व नराखेको थाहा हुन्छ। प्रमोद अग्रहरी, संयम पुरी, अरुणा कार्की, रोजिशा शाही ठकुरी, रामबाबु गुरुङ र अनुपम शर्माको अभिनयले भने दर्शक निराश तुल्याउँदैन। आशिरमान र आनाको अभिनय त निकै कच्चा लाग्छ। युवा दर्शक आकर्षित गर्नै यी पात्रहरुलाई भूमिका दिइएको हो भने निर्देशक सफल रहे।

कथाभित्र कथा, ट्विस्ट र टर्न। अनावश्यक तन्काएर फिल्मलाई दुई घण्टा लामो नै बनाउनु पर्छ भन्ने सोच त्याग्न सकेनन् लेखकले। त्यसैले दर्शकलाई इन्टरभल पछाडिको तन्काइ बेकार लाग्छ।

केही समय यता छायांकन र सम्पादन लाखौं खर्च गरेर फिल्म बनेका छन्। तर पटकथामा मिहेनत सस्तो। पैसा हुन्छ, प्रविधि हुन्छ, कलाकार हुन्छन्, फिल्म बनाउने उत्साह हुन्छ, साथ दिन मिडिया कति कति तर भैरहेको कथालाई फरक अनि कलात्मक ढङ्गमा प्रस्तुत गर्न समय दिइंदैन। किनकी फिल्म बनाइ हाल्न हतार हुन्छ। त्यसैले प्राय हरेक फिल्मको समिक्षामा छायांकन र लोकेशन राम्रो पटकथा र कथा नै झुर लेख्नु पर्ने बाध्यता छँदै छ। ग्याङस्टर ब्लूजमा त छायांकनको पक्ष पनि त्यति क्याची मान्न सकिंदैन। औसत काम गरेका छन् शैलेन्द्रध्वज कार्कीले। 

फिल्मको ब्याकग्राउन्ड म्यूजिक चित्तबुझ्दो छ। ट्रेलर र गीतले नै राम्रो प्रचार गरिदिएको फिल्मको सांगीतीक पक्ष भने राम्रो मान्न सकिन्छ। तर फिल्म न संगीत मात्र हो न हिरो हिरोइनको लुक्स  मात्र। फिल्मको धरातल त्यसको कथा बस्तु हो। कथामै चुकेपछि अन्य टुक्रे पाटोलाई मात्र हेर्न दर्शक सिनेमा हलसम्म पठाउनु न्याधयपूर्ण हुन्न। अध्ययन र लेखनमा मेहनत गरेको भए सायद फिल्ममा उठाइएको विषय प्रस्तुति सतही लाग्दैन थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell