PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राष्ट्रिय फुटसल लिगको लागि एन्फा र टर्नपाइकबीच ५ वर्षको सम्झौता



पहिलोपोस्ट

राष्ट्रिय फुटसल लिगको लागि एन्फा र टर्नपाइकबीच ५ वर्षको सम्झौता

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र टर्नपाइक इभेन्ट प्राली बीच राष्ट्रिय फुटसल लिग गर्न ५ वर्षको लागि सम्झौता भएको छ।

आइतबार राजधानीमा भएको कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र टर्नपाइकका तर्फबाट उकेश लोहनीले सम्झौता पत्र ह्याण्डओभर गरे।

पहिलो पटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्न लागेको नेपालले त्यसैका लागि राष्ट्रिय फुटसल लिग गर्दैछ।

सोहि प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि एन्फा र टर्नपाइकबीच ५ वर्षको सम्झौता भएको एन्फा फुटसल कमिटीका संयोजक रमेश रायमाझीले बताए।

सम्झौता अनुसार टर्पाइकले २०१७ देखि २०२१ सम्म एन्फाले आयोजना गर्ने फुटसल प्रतियोगितालाई प्रायोजन गर्नेछ। जसमा टर्नपाइकले दुई तिहाई खर्चको रकम बेहोर्ने छ भने एन्फाले बाँकी एक भाग आफै बेहवर्नेछ।

५ वर्षमा हुने प्रतियोगिताका टर्नपाइकले १ करोड ५० लाख खर्च गर्नेछ भने एन्फाले ७५ लाख खर्च आफ्नै स्रोतबाट जुटाउनेछ।

२०१७ मा हुने फुटसल प्रतियोगिताका लागि लाग्ने कूल ३० लाख मध्ये टर्नपाइकले २० लाख तथा एन्फाले १० लाख बेहोर्ने सम्झौतामा उल्लेख छ। यस्तै २०१८ देखि २० सम्म प्रत्येक वर्ष हुने ४५ लाख खर्चमध्ये टर्नपाइकले ३० लाख र एन्फाले १५ लाख बेहोर्नेछ।

यसैगरी २०२१ मा हुने फुटसल प्रतियोगिताको लागि टर्नपाइकले ४० लाख तथा एन्फाले २० लाख बेहोर्नेछ।

सम्झौता पछि एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठले आधिकारिक रुपमा पहिलो पटक राष्ट्रिय फुटसल लिग समावेश भएको र ढिलै भएपनि सकरात्मक सुरुवात भएको बताए।

'हामी राष्ट्रिय प्रतियोगिता गरेर खेलाडी छनोट गर्दै एएफसी फुटसल छनोटमा खेल्न जादैछौँ। यो ५ वर्षको सम्झौताले नेपाली फुटसल विकास गर्न सहयोग गर्नेछ।'

यस्तै अध्यक्ष श्रेष्ठले प्रायोजकले बेहोर्ने बाहेक बाँकी खर्च एन्फाको आफ्नै फण्डबाट बेहोर्ने बताए। 'एन्फाको आफ्नै फण्ड छ। फिफा र एफसीबाट पनि फुटसल गर्नको लागि फण्ड आउछ। हामी ७५ लाख त्यसैबाट खर्च गर्नेछौँ।'

टर्नपाइकका निर्देशक उकेश लोहनीले खेलकुद र विशेषगरी फुटबलमा केही गर्यौँ भनेर लागिरहेको बेला यो सम्झौता भएको बताए। 'हामी फुटबल विकासमा सहयोग गर्ने लक्ष्यका साथ लागिरहेका थियौँ। अहिले एन्फासँग फुटसलका प्रतियोगिता गर्नको लागि ५ वर्षे सम्झौता भएको छ। यस अवधीमा फुटसललाई कसरी विकास गर्न सकिन्छ भनेर हामी लाग्नेछौँ।'

'फुटबलको लागि फुटसल ग्रासरुट लेभल हो। हाम्रो टार्गेट भनेको फुटसलमार्फत फुटबललाई विकास गर्ने हो।'

यस्तै एन्फा फुटसल कमिटीका संयोजक तथा एन्फा सदस्य रमेश रायमाझीले नेपाली फुटसल विकास गर्नको लागि यो सम्झौताले सहयोग गर्ने बताए।

नेपाली फुटसल विकास गर्नको लागि यो सम्झौताले सहयोग गर्नेछ। एएफसी छनोट प्रतियोगिताको लागि हामी अगस्ट २५ देखि पहिलो राष्ट्रिय फुटसल लिग गर्न गइरहेका छौँ। त्यसका लागि अगस्ट २० सम्म टोली दर्ता भएपछि त्यसको टाइसिट र स्ट्रक्चर सार्जनिक गर्नेछौँ।'

रायमाझीले लिग गर्नका लागि दुई फुटसल कोर्छसँग पनि सम्झौता भइसकको जानकारी दिए। 'लिगका लागि बुढानिलकण्डको चउर फुटसल रिक्रिएसन सेन्टर र बौद्धको स्तुभा स्पोर्ट्स हबसँग सम्झौता गरिसकेका छौँ।'

'एएफसी छनोटमा फुटसल कोर्टमा खेल्नुपर्ने भएपनि यस पटक कृतिम मैदानमा गर्दैछौँ। आगामी वर्ष एन्फाले उकयुक्त स्थान खोझेर आफ्नै फुटसल कोर्ट निर्माण गर्ने लक्ष्य छ।'

एन्फाको आयोजना तथा फुटसल कमिटीको व्यवस्थापनमा यही अगस्ट २५ देखि सेप्टेम्वर १० सम्म 'एन्फा नेशनल फुटसल लिग' हुँदैछ। त्यसबाट राष्ट्रिय टिमको लागि २५ खेलाडी छनोट गरे एक महिना प्रशिक्षक गराउने संयोजक रायमाझीले जानकारी दिए।

नेपालले आगामी अक्टोबर १३ देखि २२ सम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप-२०१८ को छनोट खेल्नेछ।

साउथ एण्ड सेन्ट्रन जोन अन्तर्गत ग्रुप ए मा रहेको नेपालले छनोटमा उज्वेकिस्तान, किर्गिस्तान र तुर्कमिनेस्तानसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell