PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

निर्वाचनपछि केन्यामा किन अस्थिरता ?



रासस

निर्वाचनपछि केन्यामा किन अस्थिरता ?
फोटो श्रोतः the-star.co.ke

  •  जीवन भण्डारी 
काठमाडौँ :  निर्वाचन स्थिरताका लागि गरिन्छ। कुनै राजनीतिक अस्थिरता छ भने पनि निर्वाचनको जनमतले त्यसको व्यवस्थापन गरिन्छ र यस समय अल्पमतले स्वीकार्नुपर्ने प्रजातान्त्रिक नियम नै छ। त्यसको पालनाले कुनै देशको राजनीतिक र द्वन्द्व समाधान पनि हुन्छ। 

पूर्वी अफ्रिकाको धनी देशका रुपमा रहेको केन्यामा भने त्यसो भएन। निर्वाचन कस्तो भयो, अर्थात् प्रजातन्त्रको स्थापित मूल्य र मान्यता बमोजिम नै भयो वा विपरीत भन्ने बारे दलका आआफ्नै दाबी छन्।

मुख्य कुरा के हो भने निर्वाचनले स्थायित्व दिएन, बरु देशलाई अनिश्चय र अस्थिरतातर्फ बढी उन्मुख गरायो। आवश्यक मुद्दामा र सही ढंगले निर्वाचन नहुँदा स्थिरता होइन, अस्थिरता ल्याउछ भन्ने यथार्थ केन्यामा पुष्टी हुनआएको छ। जुन देशलाई अस्थिरतातर्फ धकेल्न बढी सहयोगी हुने देखिएको छ। 

करिब दुई हप्ता अघि भएको राष्ट्रपतीय आमनिर्वाचनपछि तनावपूर्ण अवस्था सृजना भएको छ। सत्तामा राष्ट्रपति उहुरु केन्याटाको नै विजय भएपछि सो तनाव उत्पन्न भएको छ।

निर्वाचनमा धाँधली गरेको र फेरी पनि आफूलाई विजयी घोषणा गराएको भन्दै प्रतिपक्षीहरु प्रदर्शनमा उत्रिएपछि तनावको अवस्था उत्पन्न भएको हो। 

राष्ट्रपति केन्याटाले केन्याको आमनिर्वाचनको आह्वान गरेलगत्तै अर्कै थियो त्यहाँको त्रास। निर्वाचन र त्यस लगत्तैका हिंसाहरुमा कैयौँ नागरिकको ज्यान जाने डर थियो स्वदेशी र विदेशीहरुमा पनि। यसअघिको निर्वाचनमा जस्तो निर्वाचनकै कारण नागरिकको मृत्युको तथ्यांकले सय त नाघेको छैन।

तर पनि यो निर्वाचनले अर्को हिंसा भने निम्त्यायो, राजनीतिक हिंसा। जसलाई अस्थिरताले साथ दिएको छ र यहाँको राजनीतिमा स्थिरताको संकेत नदिने देखाएको छ। 

परिणाम घोषणा भएसँगै विपक्षीको पकड मानिएको बहुल किसुमु सहर र राजधानी नैरोबीका किबेरालगायतका क्षेत्रमा विरोध प्रदर्शन भइरहेका छन्। कैयौं ठाउँमा प्रहरीले प्रदर्शनकारी माथि अश्रुग्याँस तथा गोली चलाएको बताइएको छ। मतपरिणामलाई लिएर विपक्षीले गरेको प्रदर्शनमा आठजनाको मृत्यु भएको छ।

तर विपक्षीले सरकारी दमनमा २४ जनाको मृत्यु भएको दाबी गरेका छन्। प्रदर्शनका क्रममा १५० जनाभन्दा बढी घाइते भएका विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। 

केन्यामा अहिलेको राष्ट्रपतीय निर्वाचनका दुई प्रतिश्पर्धी वर्तमान राष्ट्रपति उहुरु केन्याटा र विपक्षी उम्मेदबार राइला ओडिङ्गाको राजनीतिक प्रतिश्पर्धा आफ्नो पुस्तामा मात्रै नभई बाबुको पाला देखिको हो। सन् १९६० को दशकमा उनीहरुका बुवाहरु पनि राजनीतिक प्रतिस्पर्धी थिए।

विपक्षी नेता ओडिङ्गा ७२ वर्षको भएका छन्। उनले तीन पटक राष्ट्रपतिको निर्वाचन लडेपनि सवै निर्वाचनमा पराजित भएका छन्। वर्तमान राष्ट्रपति केन्याटा ५५ वर्षका छन्।

उनी केन्याका संस्थापक राष्ट्रपतिका छोरा हुन्। सन् २०१३ मा उनले ओडिंगालाई झिनो मत अन्तरले पराजित गरेका थिए। 

निर्वाचनमा पनि प्रारम्भिक नजितामा तत्कालिन राष्ट्रपति उहुरु केन्याटाले अग्रता कायम गरेपछि विपक्षीहरुले नतिजा अस्विकार गर्ने वताउदै प्रर्दशन सुरु गरेका थिए। उनीहरुको प्रदर्शनका कारण केही दिन मतगणना र मतपरिणाम सार्वजनिक गर्न समेत रोकिएको थियो।

तर प्रतिपक्षीहरुले मतपरिणामलाई कुनैपनि हालतमा स्विकार गर्न नसकिने अडान राखेपछि निर्वाचन आयोगले मत परिणाम घोषणा गरेको थियो।

करिव ९६ प्रतिशत मत गण भएर तत्कालिन राष्ट्रपति उहुरु केन्याटाले ५४ प्रतिशत र उनका निकटतम प्रतिद्वन्द्वी राइला ओडिङ्गाले भने ४४.७ प्रतिशत मत प्राप्त गरेपछि विपक्षीहरुले प्रदर्शन सुरु गरेका हुन्। अन्तिम मत गणनामा दुई उम्मेदवारबीच १३ लाख मतको फरक रहेको बताइएको छ। 

आयोगले राष्ट्रपति उहुरु केन्याटालाई नै विषयी भएको घोषणा गरेपछि प्रदर्शनकारी थप उत्तेजित भएर प्रदर्शन चर्को बनाउदै लगेका थिए।

विपक्षी उम्मेदवार राइला ओडिङ्गा पक्षले निर्वाचनको मत परिणाम नक्कली भएको दावी गर्दै जनतालाई मतपरिणाम अस्विकार गर्न आह्वान गरेको छ।

देशका विभिन्न मतदान केन्द्रहरुमा ९० प्रतिशत गणना सकिएको बताईरहेका बेला विपक्षी उम्मेदबार ओडिङ्गाले पत्रकार सम्मेलन गरेर निर्वाचन परिणाम नक्कली र धाँधलीपूर्ण भएको आरोप लगाएका थिए।

मतगणना मतदान भएकै दिनको रातिबाट सुरु भएको थियो। तर त्यसको भोलिपल्ट अपराह्नबाट केन्याली वर्तमान राष्ट्रपति उहुरु केन्याटाले अग्रता कायम गरेपछि विवाद सुरु भएको थियो।

मतगणना जारी नै रहेका बेला विपक्षीहरुले मतगणना प्रक्रियाको विरोध गरेका थिए। उनीहरुले निर्वाचन प्रक्रिया नै बहिष्कार गरेका छन्। 

केन्यामा चुनावको प्रमुख मुद्दा जातीयता रहने गरेको पाइन्छ। धेरै मतदताले साम्प्रदायिक आधारमा मतदान गर्ने गरेका छन्। आदिवासी किकुयु जातिका नेता एवम् राष्ट्रपति उहुरु केन्याटाले मतदान सुरु हुनुभन्दा केही घण्टा अगाडि नै राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै मतदातालाई धम्की र हिंसाको दबाबमा नपर्न सुझाव दिएका थिए।

निर्वाचनमा जसले जित हात पारे पनि एकवद्ध हुनुपर्ने भन्दै उनले निर्वाचनमा संयमता अपनाउन बारम्बार आग्रह गरेका थिए। निर्वाचनमा भाग लिनका लागि एक करोड ९० लाखभन्दा बढी मतदाताले मतदान नामावलीमा नाम दर्ता गराएका थिए। 

साम्प्रदायिक विभाजन हुने भएकाले केन्यामा निर्वाचनका बेला हिंसात्मक घटनापनि बढी हुने गरेको पाइएको छ। निर्वाचनका क्रममा यसअघिको तुलनामा भने धेरै हिंसा भएको छैन। यस निर्वाचनमा चार जनाको निधन भएको छ।

त्यो पनि मतदानका क्रममा नभएर निर्वाचनपछि मतगणनाको क्रममा भएको हिंसाका क्रममा चार जनाको मृत्यु भएको हो। अफ्रिकी राज्य केन्यामा सन् २०१३ मा भएको विवादित निर्वाचनको क्रममा भएको हिंसा हत्यामा परी कम्तीमा पनि एक हजार ३०० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ लाख विस्थापित हुनुपरेको थियो। 

निर्वाचनमा धाँधली भएको प्रमाण आफूहरुले भेटेको भन्दै विपक्षी उम्मेदवार राइलाका समर्थकहरुले आन्दोलन गरिरहेका छन्। कम्प्युटर प्रणालीमा ह्याकरहरु घुसेर मतपरिणाम प्रभावित पारेको उनीहरुको आरोप छ।

राष्ट्रपतीय निर्वाचनमा विपक्षी उम्मेदवार ओडिंगाले मतपरिणाम प्रभावित हुने गरी चुनाव आयोग प्रणाली ह्याक भएको आरोप लगाएका हुन्।

गत साता मारिएका एक वरिष्ठ निर्वाचन अधिकारीको पहिचान प्रयोग गरेर त्यस्तो ह्याक गरिएको पनि उनले आरोप लगाएका छन्।

तर विपक्षीहरुको आरोपको केन्याको निर्वाचन आयोगले छानबिन गर्दा त्यस्तो प्रभाव नपरेको जनाएको छ। निर्वाचन आयोगका प्रमुखले प्रणालीप्रति आफ्नो पूर्ण विश्वास रहेको भन्दै छानविन गर्दा पनि मतपरिणाम प्रभावित पार्न भने नसकेको जनाएका थिए। 

अन्तरर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकले पनि चुनाव पारदर्शी र विश्वसनीय रुपमा गरिएको जनाएका छन्। पूर्वअमेरिकी विदेशमन्त्री जन केरीले निर्वाचन प्रक्रियाको विश्वसनीयता कायम रहेको बताएका छन्।

प्रजातान्त्रिक प्रतिस्पर्धामा पराजित हुनु प्राकृतिक भएको भन्दै युरोपेली संघले पनि उम्मेदवारहरुले हार स्वीकार्नु पर्ने बताएको छ। तर ओडिंगाले निर्वाचन आयोगको कम्प्युटर प्रणाली ह्याक गरिएको र केन्याको इतिहासमै सबैभन्दा खराब मतदाता चोरीको घटनाको साक्षी बनेको बताउने गरेका छन्। 

मतपरिणामबारे ओडिंगाले टिप्पणी गरे लगत्तै पश्चिमी नगर किसुमुमा उनका समर्थकहरुको प्रहरीसँग झडप भएका छन्। प्रहरीले अश्रु ग्यास प्रयोग गरेको छ । तर ओडिंगाले भने पत्रकार सम्मेलनमा बोल्दै आफ्ना समर्थकहरुलाई संयमित हुन आग्रह गरेका छन्।

विपक्षीको गढ रहेको किसुमुमा उनका सयौं समर्थकहरुले राइला ओडिंगा विना शान्ति हुँदैन भन्ने नाराबाजी गरेका थिए। पछिल्लो घटनापछि कतिपयले एक दशक अगाडि भएको निर्वाचन हिंसाका घटना पुनः दोहोरिने चिन्ता व्यक्त गरेका छन्। 

केन्याको राष्ट्रपतीय निर्वाचनमा पराजित राइला ओडिंगाले आफ्ना समर्थकलाई सोमबार राष्ट्रभर आमहडताल गर्न गरेको अनुरोधका बाबजुद केन्याका अधिकांश नागरिक काममा फर्किएका छन्।

निर्वाचनको विरोधस्वरूप ओडिंगाले सबै नागरिकलाई सोमबार एक दिन आमहडताल गर्दै कोही पनि काम नगर्न अनुरोध गरेका थिए। ओडिंगाले उहुरु केन्याटाको समूहले निर्वाचनमा धाँधली गरेको विरोधमा चरण चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएका छन्। रासस(विभिन्न समाचार समितिको सहयोगमा)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell