PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चार्ल्स शोभराजको कारागारभित्रै अनशन



सविन ढकाल

चार्ल्स शोभराजको कारागारभित्रै अनशन

काठमाडौं : ७३ वर्षीय कुख्यात 'विकिनी किलर' चार्ल्स शोभराज आमरण अनशनमा बसेका छन्। सुन्धरामा रहेको केन्द्रीय कारागारभित्र बुधवारदेखि शोभराज अनशनमा बसेका हुन्। 

'कैद हट'को माग गर्दै शोभराज अनशनमा बसेको केन्द्रीय कारागारका प्रमुख जीवनबहादुर शाहीले जानकारी दिए। शोभराज २०३२ पुस ८ गते अमेरिकी नागरिक कोनिजो ब्रोनिजको हत्या अभियोगमा कर्तव्य ज्यान र जाली राहदानी मुद्दामा १४ वर्षदेखि कैद सजाय भोगिरहेका छन्। शोभराजलाई यसबाहेक २०३२ साल पुस ६ गते भक्तपुरको साँगामा क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियलको हत्या गरेकोमा थप सजाय भोग्नुपर्ने हुन्छ। 

२०७१ साल असोजमा भक्तपुर जिल्ला अदालतले क्यानेडियन क्यारियलको हत्यामा सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो। शोभराज भक्तपुर अदालतको तोकेको सजाय अहिले भुक्तान गरेको सजायमा नै मिनाह हुनुपर्ने भन्दै अनशनमा उत्रिएका हुन्। उनले 'कैद हट'को माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन्। आमरण अनशन बसे पनि राति लुकेर शोभराजले खाने गरेको कारागारमा कार्यरत एक प्रहरीले पहिलोपोस्टलाई जानकारी दिए। 

२०६० साल असोज २ गते रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चार्ल्सलाई प्रहरीले पक्रेको हो। हत्या र फर्जी राहदानीको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। मुटुको भल्भमा समस्या भएपछि जेठ २९ उनको मुटुको अप्रेसन गरिएको थियो। असार १५ गतेमात्र उनी अस्पतालबाट कारागार फर्किएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell