PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सुनका गहनाको लोभमा यसरी गरिएको थियो पार्वतीको विभत्स हत्या

सुनका गहनाको लोभमा यसरी गरिएको थियो पार्वतीको विभत्स हत्या


काठमाडौँ : गएको साउन १२ गते बुढानिलकण्ठ नगरपालिकाको तौलुङमा रहेको गीता ढकालको घरमा उनकी आमा पार्वती ढकालको शव भेटियो। 

छोरीको घरको किचेनमा टाउको फोरिएको विभत्स अवस्थामा उनको लाश भेटिएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाउँदा नै सुनका गरगहनासमेत लुटिएको थाहा पायो। 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका सुदामा लामिछानेसहितका अभियुक्तहरुलाई आज सार्वजनिक गर्‍यो। 

अनुसन्धानबाट खुले अनुसार सुदामा गीता ढकालको घरमा केही समय काम गर्न बसेका थिए। तर करिब १ हप्ता मात्र काम गरी हजार रुपैयाँ लिएर काम छाडी हिँडेका थिए।

काम छाडेको करिब दुई महिनापछि सुदामा पुनः घरमा आई विदेश जानु परेकोले पासपोर्ट बनाउन पैसा मागेका थिए। तर पार्वतीले आफूसँग पैसा नभएको र छोरी गीता ढकाललाई सोध्नुपर्छ भनिन्। त्यो दिन उनी करिब २ घण्ट जति गफ गरेर फर्केका थिए। 

सुदामालाई पैसा अति नै आवश्यक परेको थियो। घरमा पहिले काम गरिसकेको हुनाले सुनका गर गहना लगायतका सरसामानहरु राख्ने स्थान समेत देखेका थिए। त्यसपछि उनको अपराध दिमाग चल्यो। बालाजु गंगाहल नजिकै रहेको होटलमा साथीसँगै बसी गीता ढकालको घरमा लुटपाट गर्ने योजना बनाए।

योजना बमोजिम साउन १२ गते बिहीबार दिउँसो अन्दाजी साढे १२ बजेको समयमा सुदामा साथीसित माइक्रो बस चढी बुढानिलकण्ठ  पुगे। गीताको घरमा पुगेपछि सुदामाले ढोका ढक्ढक्याए। गीताकी आमा मृतक पार्वती ढकालले पहिले काम गरेको मान्छे भएकोले ढोका खोलिन्। उनीहरुलाई कोठामा छोडी छतमा कपडा सुकाउन छतमा गएको बेलामा मुनि सुदामा र साथीले कसरी लुट्ने भन्ने योजना बनाई बसेका थिए।

पार्वतीलाई खतराको कुनै शंका थिएन। उनले चिया खान भनिन्, उनीहरुले मानेनन्। उनी कुर्सीमा बसेकी मात्र के थिइन्, उचित मौकाको पर्खाईमा रहेका सुदामाले पार्वतीलाई भुईंमा लडाई हालिन्। अनि किचनमा रहेको ह्याम्मरले टाउकोमा हाने। साथीले पनि सोही ह्याम्मरले टाउकोमा हाने।

भुईंमा लडेपछि सुदामा कोठामा गई दराज खोली दराजमा रहेको सुनको चुरा थान-२,बाला थान-२ औंठी थान-२,लकेटसहितको सिक्री थान-१, झुम्का १ जोर,आई प्याड थान-१ र घडी थान-१ समेत लुटी माईक्रो बस चढी बालाजु बसपार्क गए।

लुटपाटपछि उनी उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसे। वनस्थली नर्सरीचोकमा रहेको दीपज्योति सुनचाँदी पसलमा लगी सुनका गर गहनाहरु रु.१ लाख १५ हजारमा बिक्री गरे। त्यसपछि कपिलवस्तुमा गई लुकीछिपी बसे। भारततर्फ जानको लागी भारतीय रुपैया समेत सटही गरी बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

सुदामाले ल्याएका बिल नभएका सुनका गर गहना कमिसनको प्रलोभनमा परी बिक्री विवरणमा संलग्न झापा बुधबारे-१ घर भई वनस्थली नर्सरीचोकमा दीपज्योति सुनचाँदी पसल संचालन गरी बस्ने वर्ष-३० को चन्द्रकान्त ल्वागुन, नुवाकोट विदुर नपा-८ घर भई हाल वनस्थली बस्ने वर्ष-४८ की कृष्णमाया श्रेष्ठ र नुवाकोट विदुर नपा-८ घर भई हाल वनस्थली बस्ने वर्ष-२० को किशोर श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गर्‍यो। 

लुटिएका सुनका गर गहना दिप ज्योती सुनचाँदी पसलका संचालकले पगाली सकेको अवस्थामा बरामद  भएको छ। उनीहरुलाई अपराध महाशाखामा ल्याई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको छ।

 


ट्रेन्डिङ पोस्ट

Ncell