PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चिनियाँ उपप्रधान मन्त्री वाङको भ्रमणका संकेतहरु



टंक कार्की

चिनियाँ उपप्रधान मन्त्री वाङको भ्रमणका संकेतहरु

  • टंक कार्की-
जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा भैसकेको छ। नेपाल–चीन बीचको परम्परागत मैत्री सम्बन्ध बिस्तारमा यो भ्रमण निकै सफल भएको छ। यो भ्रमणका दुई पाटा छन्। पहिलो, यो भ्रमण आर्थिक सम्वृद्धिका लागि चिनियाँ सहायता थप भित्र्याउनका लागि महत्वपूर्ण रहयो। दोस्रो, कुटनीतिक सम्बन्धमा पुनर्ताजगी ल्याउन र राजनीतिक स्तरको सम्बन्ध अझ न्यानो बनाउन पनि महत्वपूर्ण नै रहयो।

पछिल्ला वर्षमा चिनियाँ शीर्ष नेतृत्वको नेपाल भ्रमण पातलिँदै गएका बेला उपप्रधान मन्त्रीस्तरीय भ्रमण हुनु आफैमा राम्रो सन्देश हो। नेपालमा आएका वाङ याङ चीनको राज्यपरिषद्का उपप्रधान मन्त्री मात्रै थिएनन् चिनियाँ राष्ट्रपतिका विशेष प्रतिनिधि र भ्रमण चिनियाँ प्रतिनिधिमण्डलका नेतृत्वकर्ता पनि थिए। उनी चिनियाँ कम्युनिष्ट पार्टीका प्रभावशाली नेता पनि हुन्।

यही भ्रमणका दौरानमा चीन सरकारले बाढी पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेर नेपालको दु:ख र संकटमा साथ दिएको पुष्टि गर्यो। भूकम्पका बेलाजस्तै बाढी डुबानको प्रकृतिक बिपतमा चीन असल सहयोगी छिमेकका रुपमा देखियो।

भ्रमणका बेला पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि चीनले सर्वेक्षण गर्ने सम्बन्धी समझदारीपत्रमा भएका हस्ताक्षर नेपालको आर्थिक विकासका लागि ऐतिहासिक महत्वका छन्। नेपालमा चिनियाँ लगानी भित्र्याउने सम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएका कारण अब नेपालमा चिनियाँ लगानी वृद्धि हुने सुनिश्चितता थप्न यो भ्रमण फलदायी भएको देखिन्छ। नेपालका लागि अति महत्वपूर्ण मानिएको तातोपानी नाका खुलाउन पनि औपचारिक रुपमा नै चीन सहमत भएको छ। लगानीको पनि ग्यारेन्टी गरेको छ। अब उक्त नाका ढिलो चाडो सुचारु हुने अवस्था तयार भएको छ।

नेपाल सरकारको मैत्रीपूर्ण निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका याङले नेपालमा लगानीको वातावरण बनाउन र लगानी सुरक्षाका ग्यारेन्टी भएमा चिनियाँ लगानी बढ्ने विश्वास पनि दिलाएका छन्। आर्थिक सम्वृद्धिका लागि नेपालले चिनियाँ सहायताको अपेक्षा गरिरहेका बेला वाङ याङको यो भनाई निकै अर्थपूर्ण छ। 

किन भने नेपालमा राजनीतिक अस्थिरता र लगानी गर्ने वातावरण छैन भन्ने सन्देश जो छिमेकी र विदेशी समुदायमा पुगेको छ, अब त्यसलाई चिरेर नेपालले दाताहरुलाई लगानी गर्न नेपाल सुरक्षित छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने भएको छ। उनले राजनीतिक स्थिरता र लगानी गर्ने वातावरण नेपालले बनाओस् लगानीको चिन्ता नै गर्नुपदैन भनेका छन्। नेपालका लागि यो ठूलो उपलव्धी हो। उनले नेपाललाई विश्वास गरेको उदाहरण पनि हो।

उपप्रधान मन्त्री वाङ याङले चिनियाँ राष्ट्रपति सिजिनपिङ् चाँडै नेपाल भ्रमणमा आउन चाहेको बताएर चीनका लागि नेपाल अहिले धेरै महत्वपूर्ण छिमेक रहेको सन्देश पनि दिएर गएका छन्। चीनले नेपालसँगको सम्बन्धलाई उच्च स्तरको प्राथमिकता दिएको यसैबाट पुष्टि हुन्छ। उनीहरु नेपालसँगको सम्बन्धमा गम्भीर र संवेदनशील रहेको जनाउ पनि हो यो।

उपप्रधान मन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राष्ट्रपति सिजिनपिङ् चाँडै नेपाल भ्रमणमा आउन इच्छुक रहेको बताउनुको मतलव हो चीनका लागि धेरै नेपाल महत्वपूर्ण छिमेकी हो। सम्भवतः २०१८ मा चिनियाँ जनकंग्रेसको सम्मेलन सकेपछि चिनियाँ राष्ट्रपति सि जिन पिङ् नेपाल भ्रमणमा आउने छन्। उपप्रधान मन्त्री वाङले नै चिनियाँ राष्ट्रपति चाँडै नेपाल भ्रमणमा आउन चाहेको कुरा प्रधान मन्त्रीसँगको भेटका क्रममा बताएबाटै चिनियाँ उच्चस्तरीय भ्रमण सुनिश्चित भएको मान्न सकिन्छ। नेपाल आउने चिनियाँ राष्ट्रपति सि जिन पिङ्को चाहना उनकै उपप्रधान मन्त्रीले नेपालका प्रधान मन्त्रीलाई बताएको प्रसंगले नै यो भ्रमण हुनेछ भन्ने कुरालाई पुष्टि गर्दछ। 

चीन नेपालको असल र एकदमै नजिकको पुरानो छिमेकी हो। उसले नेपालसँग समस्यारहित सम्बन्धमा जोड दिएको छ। यसपटकको उपप्रधान मन्त्री वाङको भ्रमण पनि भारत र चीन भुटान र चीनको सीमा भूमि दोक्लममा आमने सामने भइरहेका बेला भएका कारण यसबारे धेरैको ध्यान खिचिएको थियो। दोक्लमबारे राजनीतिक दल, मन्त्री र प्रधान मन्त्री लगायतका कुनै पनि भेटवार्ता चीनले कुरा नै उठाएन। 

यसको अर्थ हो दोक्लमबारेको नेपालको तटस्थताको नीतिबाट उनीहरु सन्तुष्ट छन्। नेपाल भारत र चीनको पक्षमा कतैपट्टि पनि नढल्किनु नै चीनका लागि सन्तोषको विषय हो भन्ने पनि यो भ्रमणले देखाएको छ। चाहे १९६२ को भारत चीन बीचको युद्धका समयमा होस् वा अहिलेको जारी दोक्लम तनावमा चीनले नेपालको तटस्थताको नीतिलाई स्वागत र सम्मान गरेको छ। 

अहिले दोक्लमबारे चिनियाँ असन्तुष्टि रहेको भए कुनै न कुनै रुपमा प्रकट हुन्थ्यो। तर त्यसबारे कुरै उठेन। नेपालको सन्तुलित छिमेक नीतिबाट चीन खुशी रहेको यसले झल्काउँछ। यो नेपालको लागि अत्यन्तै सुखद् पक्ष हो।

नेपालको एक चीन नीतिबाट चिनियाँहरु प्रभावित छन्। उनीहरु नेपालले फ्रि तिव्वतका पक्षमा नेपालबाट गतिविधिहरु नहोउन् भन्नेमा विशेष चासो राख्छन्। नेपालले पछिल्ला समयमा यस्ता गतिविधिको नियन्त्रणमा विशेष ध्यान पनि दिँदै आएको छ। फ्रि तिव्वत अभियन्ताहरुका प्रदर्शन तथा अन्य गतिविधिहरु शिथिल हुँदै गएबाट पनि चिनियाँहरु नेपासँग खुशी रहेका देखिन्छ।

ठीकै हो उपप्रधान मन्त्री वाङले नेपालका तीन प्रमुख पार्टीका शीर्ष नेताहरुसँग मात्रै भेटवार्ता गरे। त्यो शायद पहिल्यै निर्धारत थियो। कुनै पनि भारतीय प्रतिनिधि आउँदा लाइन लागेर होटलमा भेट्न जाने संसारमै नभएको गलत अभ्यास हामीकहाँ छ, त्यो यसपटक यो भ्रमणमा देखिएन। कांग्रेस, एमाले र माओवादी केन्द्र बाहेक फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारसँग उपप्रधान मन्त्री वाङको भेटवार्ता भयो। दलैपिच्छेका नेता भेट्नै पर्ने पनि होइन। मुल कुरा विकासका लागि, लगानी बिस्तारका लागि राजनीतिक स्थिरतामा नै उनले जोड दिए।

मलाई लाग्दैन कि भदौ ७ बाट भारतको भ्रमणमा जाँदै गरेका नेपालका प्रधान मन्त्री शेरबहादुर देउवाले चिनियाँ अपेक्षा र विश्वास विपरित दोक्लमबारे नयाँ दिल्लीमा कुनै भिन्न धारणा राख्नेछन्। कुनै पनि देशको आधिकारिक धारणा भनेकै विदेश मन्त्रालयले राखेको धारणा हो। हाल दोक्लमबारे नेपाल कसैको पक्ष विपक्षमा होइन तटस्थ छ भनेर विदेश मन्त्रालयले स्पष्ट पारिसकेको परिप्रक्ष्यमा प्रधानमन्त्री देउवाले पनि त्यसैको सेरोफोरोमा नै भारतमा कुरा गर्नेछन भन्ने मेरो विश्वास छ।

हामी कहाँ भारतले जसो भन्छ, प्रधानमन्त्रीले सोही गर्लान भन्ने आशंका अलि बढी नै छ। संयुक्त वक्तव्यका बेला भारतीय रुची अनुसारका बुँदामा नेपालका प्रधानमन्त्रीको समर्थन जनाइएला भन्ने पनि आशंका छ। यस्तो आशंका हुनु नै नराम्रो होइन। भरतसंग शंका गर्न पाइयो। तर देशका प्रधानमन्त्री देउवाले त्यस्तो गर्लान भन्ने विश्वास छैन। उनी दलका सभापति मात्रै होइनन्, र त्यो हैसियतमा नयाँ दिल्ली जान लागिरहेका पनि होइनन्। सरकारको जे धारणा प्रधानमन्त्रीले त्यही बोल्ने नै हो।

प्रधान मन्त्रीको भारत भ्रमणकै कारण चिनियाँ सम्बन्धमा चिसोपना वा शंका बढ्छ भन्ने पनि होइन। किन भने प्रधान मन्त्रीले आफू प्रधान मन्त्री भएपछि गर्न लागेको यो नियमित भ्रमण मात्रै हो। यसले दुई देशबीचको सम्बन्ध थप बढाउने मात्रै हो। 
(चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीसँग सूर्य खड्काले गरेको कुराकानीमा आधारित।)


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell