PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हवल्दारको सरुवामा समेत गृहमन्त्रीको हस्तक्षेप, विवादले बढुवा भएकाको पदस्थापन हुन सकेन



सविन ढकाल

हवल्दारको सरुवामा समेत गृहमन्त्रीको हस्तक्षेप, विवादले बढुवा भएकाको पदस्थापन हुन सकेन

काठमाडौँ : गएको माघमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच देशभरका एसएसपी सरुवा विषयको विवाद सार्वजनिक रुपमा चर्चाको विषय बन्यो। आफ्ना निकट प्रहरीलाई महत्वपूर्ण जिल्लामा पठाउने स्वार्थ बाझिँदा विवाद भएको थियो जसका कारण दुई महिनाभन्दा बढी समयसम्म एसएसपी सरुवा थाती रह्यो। 

तत्कालीन गृहमन्त्री निधि र आइजी अर्यालबीच काठमाडौँमा को एसएसपी ल्याउने विषयमा विवाद भएको थियो। अहिलेका गृहमन्त्री जनार्दन शर्मा र महानिरीक्षक अर्यालबीच यस्तै जुँगाको लडाईँ देखिएको छ।  

महिनौँदेखि रोकिएको प्रहरी बढुवा जनार्दन शर्माले गृह मन्त्रालय समाल्हेपछि भकाभक भयो। एक साताभित्र नै सबै तहका प्रहरीको बढुवा त भयो, तर अहिले प्रहरीको सरुवा र पदस्थापना गर्ने विषयमा प्रहरी संगठन र गृह मन्त्रालय बीच कुरा नमिल्दा प्रहरीको सरुवा र पदस्थापना हुन सकेको छैन। 

बढुवा भएको फुली लगाएसँगै प्रहरीलाई कहाँ पठाउने र के जिम्मेवारी दिने निर्णय हुने गरे पनि यो पटक भने यसो भएन। काँधमा बढुवाको फुली लगाएर काम गर्ने जोश जाँगर लिएका प्रहरी अधिकृत कहाँ जाने स्पष्ट नहुँदा अन्यौलमा छन्। बढुवा भएका ११ एआइजीसम्मको पदस्थापना हुन सकेको छैन। ९३ जना डिएसपीको जसोतसो बुधबार मध्यरात पदस्थापना सूची सार्वजनिक गरियो।

गृहमन्त्री जनार्दन शर्माले प्रहरी जवानदेखि एआइजीसम्मको सरुवा हस्तक्षेप गरेकाले सरुवा प्रभावित भएको हेडक्वार्टर स्रोतले बताएको छ। एक प्रहरी अधिकृत भन्छन्, 'हवल्दारदेखि उच्च तहसम्मको सरुवा कहाँ गर्ने गृहबाट नै तयार हुन्छ। अनि कसरी हुन्छ?'

गृह मन्त्रालय अन्तर्गत गृहसचिवको नेतृत्वमा एसएसपीमाथिको सरुवामा गृह सचिवले अध्ययन गरी प्रहरी प्रधान कार्यालयलाई पठाउने गर्छ। त्योभन्दा तलको सरुवा गर्न हेडक्वार्टरलाई नै अधिकार रहेको छ। अधिकार हेडक्वार्टरलाई भए पनि अहिले गृह मन्त्रालयले नै प्रहरी प्रधान कार्यालय चलाएको ती अधिकारी बताउँछन्। 

गृहमन्त्रीको कुरालाई नकार्न नसक्दा अहिले गृहमन्त्रालय चाहे अनुसार नै सरुवा भइरहेको छ। यता गृहमन्त्री जनार्दन शर्मा भने आफूले प्रहरीको कार्यमा कुनै पनि हस्तक्षेप नगरेको बताउँदै आएका छन्। 


गृहमन्त्रीका स्वकीय सचिवले नै प्रहरी हेडक्वार्टर चलाउँदै

गृहमन्त्रीका स्वकिय सचिव गोपाल शर्माले अहिले सम्पूर्ण प्रहरीको काममा हस्तक्षेप गर्ने गरेका छन्। शर्माले हवल्दारसम्मको सूची बनाएर हेडक्वार्टर पठाउने गरेको गृह मन्त्रालयल स्रोतले बताएको छ। 

आफ्नो स्वार्थमा शर्माले ५ देखि ६ महिना नभएका प्रहरी समेतको सरुवा गर्ने गरेको स्रोत बताउँछ। गृहमन्त्री शर्माको निर्देशनमै पोखराको लेकसाइडको एरिया इन्चार्जमा आफ्नो नातेदार, काठमाडौं परिसरको एकाउन्टमा आफ्ना मान्छे काज सरुवा गराएको भन्दै सामाजिक सञ्जालमै चर्चा भएको थियो। त्यसैगरी धनुषा प्रहरी प्रमुखमा एसपी मिरा चौधरीको सरुवा बदर गर्न गृहमन्त्रीले दबाव दिएको भन्दै विरोधसमेत भएको छ। 

गृह मन्त्रालयबाट यसरी हस्तक्षेप भइरहेपछि जयबहादुर चन्द र नवराज सिलवालबीचको चर्को प्रतिस्पर्धामा  प्रहरी महानिरीक्षक बन्न सफल भएका प्रकाश अर्याल अहिले निरास बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell