PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तराईको  ‘रातो जुन बकुल्ला’ कसरी पुग्यो हिमालमा?



तराईको  ‘रातो जुन बकुल्ला’ कसरी पुग्यो हिमालमा?

  • राजु आचार्य -
सुरेश थापाले ‘रातो जुन बकुल्ला’ चरालाई उद्दार गरेको भनेर फेसबुकमा फोटो राख्ने बित्तिकै अनुभवी चराविद् हठन चौधरी चकित भए। आखिर तराई तथा तल्लो भेगमा मात्रै पाइने चरा मुस्ताङमा कसरी पुग्यो? 

उनले  नपत्याएर भेटेको स्थान यकिन गर्न अनुरोध गरेका थिए। वन विज्ञानका विद्यार्थी तथा अनुसन्धानकर्मी प्रशान्त घिमिरेले पनि फेसबुकमै चकित परेको प्रतिक्रिया पोस्ट गरे।  हो, त्यो चरा हिमालतिर पाइने चरा नभई तराई तथा तल्लो उचाइमा पाइने चरा थियो। यिनीहरु प्रायजसो समुन्द्र सतहदेखि २५० मिटर तलैमात्रै अभिलेख छन्। 

‘मुस्ताङ जस्तो ठाउँमा यो चरा भेटिनु मेरो लागि पनि नौलो घटना हो। त्यो पनि वयस्क हुँदै गरेको चरा भेट्नुले झन् प्रजनन यतै त  गरेनन् भन्ने लाग्छ,’  चराविद् चौधरीले आश्चर्य प्रकट गरे ।


***
बिहान ८ बजे मुस्ताङस्थित जिल्ला प्रहरी कार्यालय परिसरभित्रै चरा छिर्यो्।  ४ वटा कागले लेखेटेको रहेछ। प्रहरीले हाहा हुहु गरेर कागलाई भगाए। प्रहरीले चरातिर हेर्दै भने. ‘ ल सुरक्षित ठाउँमा नै आइपुगिस्।‘ 

प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई खबर गर्योत। आयोजनाका वरिष्ठ प्राकृतिक श्रोत संरक्षण सहायक सुरेश थापा दौडदै पुगे। प्रहरीको सहयोगमा चरालाई आयोजनाको परिसरमा लिएर आए।  के गर्ने , कता राख्ने भनेर पिर लिएका थापाले  चराको अलि बढी नै सक्रियता देखेपछि उडाउने सल्लाह भयो।   बेलुकीपख चरा उड्यो।  थापासहित आयोजनाका सबै कर्मचारीको अनुहारमा खुसी थियो। अनि उनले फेसबुकमा अपलोड गरे, ‘ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना समूहबाट चराको उद्दार गरियो।‘ 

तराईमा पाउने भनिए पनि यी चराहरु बच्चा हुर्काउने बेला समुन्द्र सतहबाट १३७० मिटरको उचाई सम्म भेटिएको छ। पोखरा, काठमाडौँमा समेत यिनको अभिलेख छ र पोखरामा सालभर सकृय हुन्छन्,’ पोखरा चरा समाजका अध्यक्ष मनशान्त घिमिरेले  बताए।  

हाल अभिलेख गरिएको जोमसोम भने समुन्द्र सतहदेखि २८०० मीटर माथि रहेको छ। यो चरा १३ वर्षअघि पनि सोही जिल्लाको उपल्लो मुस्ताङको  ३७१५ मीटर उचाइमा अनुसन्धानकर्मी मधु क्षेत्रीले अभिलेख गरेका थिए।

‘तल्लो भेगमा पाइने चरा किन माथि भेटियो त ? वरिष्ठ चराविद् डा. हेमसागर बराललाई यो प्रश्न गर्दा उनले भने, ‘यिनीहरु बर्खामा बसाई सराई गर्छन्। बाह्रै महिना नेपालमै बस्नेहरु पनि प्रशस्त छन्। पोखरा आसपासबाट खाना र बस्ने ठाउँको जोहो गर्न कालिगण्डकी छिरेको हुनु पर्छ। यो उपत्यका अरु भन्दा सहज पनि छ।’ 

उनले थपे, ‘ चरा हेर्ने  आँखा बढेको हुनाले पनि यो देखिएको हुनसक्छ। यतिखेर अन्य उपत्यकामा पनि गएका हुन् सक्छन्। तर कसले हेरेको छ र !‘ 

***
यो चरा कम पानी भएको सिमसार क्षेत्रहरुमा बढी सकृय रहन्छ। नेपालबाहेक भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत दुई दर्जन मुलुकमा अभिलेख गरिएका छन्। विश्व संरक्षण संघको रातो सूची अनुसार यिनको संख्या विश्वभर कम्तिमा १ लाख ३० हजार रहेको अनुमान गरिएको छ। यिनीहरु नेपालमा पूर्वदेखि पश्चिमसम्म अभिलेख गरिएका छन् । 

अंग्रेजीमा Cinnamon Bittern नामले चिनिने यो चरालाई  दुर्लभ मानिँदैन।  यिनीहरु बिरालो प्रजाति जस्तो बेलुकीपख  किरा ,फट्यांग्रा, माछा, भ्यागुता लगायतको शिकारमा बढी सकृय हुन्छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell