PahiloPost

Oct 24, 2017 | ७ कात्तिक २०७४


आफ्नै गीत युट्युबमा राख्न खोज्दा धम्की, रोयल्टी नपाउँदामा मारमा गायक तथा निर्माता


स्वेच्छा राउत/पहिलोपोस्ट

आफ्नै गीत युट्युबमा राख्न खोज्दा धम्की, रोयल्टी नपाउँदामा मारमा गायक तथा निर्माता
काठमाडौं: गएको आइतबार गायक अनिल सिंहले फेसबुकमा स्टाटस राखे। शीर्षक थियो 'आत्महत्याको सोच'।

कारण प्रस्ट खुलाएका छन्- आफ्नो गीतको रोयल्टी नपाउनु, चाहे त्यो रेडियो टिभीबाट होस् वा म्युजिक कम्पनीबाट। उनले लेखेका छन्,'कुनै पनि टिभी, रेडियोबाट आजसम्म एक सुका पनि रोयल्टी पाएको छैन।'

उनले आफ्ना चर्चित गीतहरुलाई आफ्नै युट्युब च्यानलमा राख्न खोजे तर गीतमा आफ्नो अधिकार रहेको भन्ने दावी गर्ने कम्पनीहरुले उनको मनिटाइज्ड च्यानल नै सस्पेन्ड गराउने धम्की दिए। तर यो अनिल सिंह एक्लोको समस्या भने होइन।
 

युट्युब राइट्स किन्ने ट्रेन्ड सुरु हुनुअघि गीतको क्यासेट, सिडी बिक्री वितरणको लागि गायक र म्यूजिक कम्पनीबीच कन्ट्र्याक्ट हुन्थ्यो। गायक भरत सिटौलाका अनुसार प्रायः एल्बमको गीतका लागि गायकले म्यूजिक कम्पनीसँग ५ वर्षको सम्झौता गर्थ्यो। सम्झौता गरेको समय अवधि सक्किए पछि गीत पुन: गायक वा सर्जकले आफ्नो सिर्जनाको प्रयोग गर्न पाउने सम्झौता हुन्थ्यो। 

अनिल सिंह, भरत सिटौलाको समयमा गीत जुन कम्पनीलाई सम्झौतामा दिइए, ती कम्पनीहरु प्राय: बन्द भए। केही कम्पनीले आफूले किनेको म्यूजिक राइट्स म्यूजिक नेपाल लगायत अहिले चलेका कम्पनीलाई बेचे।
 
भरत सिटौला भन्छन्,'यो सर्जक र गायकहरुको अपमान हो। हाम्रो गीत हाम्रै अनुमती बिना बेच्नुले हाम्रो गायन इतिहास मेटिएको छ।'
 
भरत सिटौलाले भनेजस्तै इतिहास मेटिनुको अर्थ बन्द भएका म्यूजिक कम्पनीले जुन कम्पनीलाई गीतको अधिकार बेच्यो ती कम्पनीले गायक गायिकालाई युट्युबमा उनीहरुकै पुरानो गीत अपलोड गर्न दिंदैन जसका कारण उनीहरुको पहिले चलेको गीत बारे वर्तमान स्रोतालाई थाहा नहुन सक्छ। 

भाइब्स क्रियशनका पर्शुराम रिजाल भन्छन्,'गायक गायिकाको गीत अनुमति बिना बेच्नु गलत हो।' उनका अनुसार यदि बन्द भएका म्यूजिक कम्पनीले गीत निर्माण गरेको हो भने गीत बेचिनु सामान्य हो। तर त्यस बारे स्वर वा संगीत दिएकालाई थाहा हुनुपर्छ। हिजो सिडी क्यास्सेट बिक्री हुने जमानामा एउटा बिक्री बराबर ३० देखि ५० रुपैयाँसम्म दिइन्थ्यो तर अहिले त्यो पनि छैन।

'गायक, गायिका, रचनाकार वा निर्माताका लागि गीतको अधिकार बिक्री कमाईको बाटो बनेको छ। टिभी वा रेडियोले रोयल्टी दिन्छ भन्ने चाहिँ प्रायले आश नै गर्दैनन्, रिजालले प्रस्ट पारे। 

राज्यले नै रोयल्टी रकम तोकिदिए केही हदसम्म राहत हुन सक्ने तर्क राख्छन् पर्शुराम। 

आस्था राउत एउटै गीत 'नेपालीकी छोरी'बाट आजसम्म चर्चित छिन्। सन् २०१३ मा सार्वजनिक उक्त गीतबाट उनलाई एक रुपैयाँ पनि रोयल्टी पाएको छैन। भन्छिन्,'स्टेज प्रोगामबाट पाइने छुट्टै नत्र टिभी, रेडियोबाट पाउने त आश नै हुन्न।' 

लामो समय सांगीतीक क्षेत्रमा बिताएका गायक नवीन के भट्टराईलाई रेडियोमा कान्तिपुर एफएमले रोयल्टी दिएको याद छ। टिभीबाट अहिलेसम्म सून्य। युट्युबको हकमा उनका पनि थुप्रै गीत जानकरी बिना बेचिइयो र अपलोड भयो। उनलाई लाग्छ गलत भयो।

'आर्टिस्टलाई जानकारी दिएको भए  राम्रो हुन्थ्यो।' ५ वर्षको कन्ट्र्याक्ट सक्किएका गीतहरु पनि उनले आफ्नो च्यानलमा अपलोड गर्न अरु कसैको अनुमति लिनु पर्ने अवस्था सिर्जना भएको छ। 

गायक अविनाश घिसिङको गीत 'चुईंचुईं चुईंकने जुत्ता' रिमेकलाई म्यूजिक नेपालले युट्युबमा क्लेम गरेको थियो। कारण थियो गीतको पुरानो भर्सन म्यूजिक नेपालले जयनन्द लामासँग किनेको थियो। गीतको डिजिटल राइट्स क्लेम गर्दै घिसिङको गीत सार्वजनिक भएको ४ दिनपछि युट्युबले सस्पेन्ड गरिदियो। यस विषयमा जयनन्द लामाले पहिलोपोस्टसँग भने, 'गीतको पुरानो भर्सनको लागि म्युजिक नेपालसँग भएको कागजी सहमतिमा रोयल्टीको कुरा उल्लेख गरिएको थियो।'

तर गीत सार्वजनिक भएको वर्षौंसम्म उनले पाउनु पर्ने रकम कुनै पनि रकम नपाएको उनको दाबी छ।

म्युजिक नेपालका उत्तम थापा गीतलाई युट्युबले नै म्युजिक नेपालको भनी क्लेम गरेको तर्क राखे। जयनन्द लामाको शब्द, संगीत तथा स्वर रहेको सो गीतको म्युजिक नेपालले अडियो किनेको थियो। र, चाहेको खण्डमा लामाले आफ्नो गीत बेच्न सक्ने पनि भनेको थियो।

अविनाश घिसिङ भन्छन्,'यो घटना नेपालमा हुने कलाकारको अपमान र जे गरे पनि हुने कानुनको उपज हो।'

बिन्दबासिनी म्यूजिकका सुवास रेग्मीका अनुसार एल्बमको गीत करार ऐन अन्तर्गत कन्ट्र्याक्ट हुन्छ। जसमा समय अवधि २, ३, ४ वा ५ जति वर्ष पनि हुन सक्छ। कति वर्षका लागि लिने वा दिने भन्ने बारे दुई पक्षको सहमतिले निर्धारण गर्छ। 'पुराना गीतको हकमा प्रायः गीतहरुलाई म्यूजिक कम्पनी आफैंले निर्माण गरे। कम्पनीले नै प्रोड्युस गरेको गीतमा निर्माताले सधैंको लागि अधिकार राख्नु स्वभाविक हो जसलाई उनीहरुले बेच्न मिल्छ,' पुराना कम्पनीले नयाँलाई गीतको अधिकार सुम्पनु बारे भने,'यदि व्यापारिक प्रयोजनका लागि मात्र किनेर पनि अन्तै बेचिदिएका हुन् भने सरासर गलत भयो।'

सुवास गायक र स्रष्टाहरुको पक्षमा बोल्छन्- जसको सम्पत्ति हो उसैलाई फिर्ता दिनुपर्छ।

फिल्मका गीतहरुको पनि राइट्स बारे अन्यौलता भएको बताउँछन् गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा। 'फिल्मको गीतको भिडियो प्रोडक्शन त फिल्मले गर्छ जसको नैतिक अधिकार सरासर फिल्मको हुन्छ। तर रिप्रोडक्शन बारे कुनै पनि कुरा अहिलेसम्म प्रस्ट छैन।'

बास्कोटाका अनुसार हालसम्म फिल्मका लागि बेचिने गीतहरु गीतकार, संगीतकार वा गायकको अनुकूलता अनुसार बिक्री हुँदै आएका छन्। गीतको रिप्रोडक्शन अधिकार बारे भने अन्यौलता कायम छ।
 
फिल्मका लागि गीतमा सक्रिय राजनराज शिवाकोटी भन्छन्,'गीतको प्रयोग कति समयको लागि हो भनेर अवधि उल्लेख गरिएको हुँदैन। कन्ट्रयाक्टमा पनि आफ्नो गीत फिल्ममा राख्न दिन्छु भनेर मात्र उल्लेख गरिएको हुन्छ।'

उनका अनुसार एल्बमको गीतको राइट्स कन्ट्र्याक्ट फिल्मी गीतको कन्ट्र्याक्ट प्रस्ट हुन्छ। 

यो अन्यौलताको ताजा उदाहरण मान्न सकिन्छ छक्कापञ्जा २ को गीत ‘ए दाजु नसमाउ नाडीमा’ काण्डलाई। गीतमा प्रयोग शब्दलाई दीपकराज गिरीले आफ्नो दाबी गरे। गीतको भाका र केही शब्द पुरानै भएको पुस्टी भएपछि, कुनै पनि लोक भाकाको कपिराइट नहुने तर्क गिरीले राख्दै आएका छन्। 

म्यूजिक डटकमका राजेश वंशाल भन्छन्,'गीत प्रोड्युसरको अधिकार हो। उसले जब चाहन्छ बेच्न पाउँछ। किनकी खर्च त प्रोड्युसरको नै भएको हुन्छ। गायक, संगीतकारले प्रोड्युसरसँगको सम्झौता अनुसार पैसा नपाउनु चाहिं गलत हो।' उनी भन्छन् जति पनि पुरानो गायकको गीत नयाँ कम्पनीलाई बेचिए ती गीत गायकको युट्युबमा अपलोड गर्न पाउनु पर्छ।

'गायककै निर्माण हो भने कानुनले नै उनीहरुलाई आफ्नो गीत अपलोड गर्ने अनुमती दिन्छ। यदी निर्माता गायक बाहेक अरु कोही हो र निर्माताले नै गीत बेचिदिएका हुन् भने मोनिटाइज नगरी गीतको प्रयोग गर्नु बेठिक होइन।' 

संगीत रोयल्टी समाजका सुरेश अधिकारी गीतको अधिकार रोयल्टी अन्यौलतालाई संगीत क्षेत्र व्यवसायिक नहुनुको एउटा कारण मान्छन्। भन्छन्,'रोयल्टी वा कन्ट्र्याक्ट रकम कसैले पनि मन लागेर वा दिनुपर्छ भन्ने सोचेर दिंदैनन्।' 

बिजुली बालेको पैसा तिर्नु पर्छ, स्कूलमा पढेको पनि रकम बुझाउँनु पर्छ भने स्रष्टाको बौद्धिक सम्पत्ती, सिर्जनाको रोयल्टी पनि तिर्नु पर्छ भन्ने सोचको विकास नभएको सुरेश अधिकारी बताउँछन्। 'राजा महेन्द्रको पालामा जसरी मधेसको जग्गा, वनको मनलाग्दी प्रयोग गर्न पाइन्थ्यो अहिले गीत, संगीतको अवस्था त्यस्तै छ', उनले आफ्नो तर्क राखे। 

प्रतिलिपि ऐन २०५९ का अनुसार संगीत रोयल्टी समाजले टिभी, रेडीयोको लागि रोयल्टी रकम तोकिदिएको छ। हरेक च्यानलको मासिक कुल विज्ञापनबाट प्राप्त रकमको १ प्रतिशत। तर त्यो पनि नदिइने अवस्था रहेको उनको दाबी छ। 

सरकारले हरेक च्यानलले गीत निर्मातालाई रोयल्टी तिर्नु पर्ने र नतिरेको खण्डमा उनीहरुको नविकरण नहुने निर्देशन दिएको छ। अधिकारी भन्छन्,'तर सञ्चार मन्त्रालयको नियमावली संशोधन नभई निर्देशन लागू गर्न सम्भव छैन।'
 
संगीत रोयल्टी समाजले सञ्चार मन्त्रालयलाई टिभी वा रेडियो नविकरणको नियमावली संशोधनका लागि दवाव दिइरहेको उनले दाबी गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal