PahiloPost

Sep 23, 2017 | ७ असोज २०७४


भारत र चीनको दोक्लम विवादमा नेपाल मध्यस्थकर्ता बन्नसक्छ : श्रेष्ठ


सूर्य खड्का/पहिलोपोस्ट

भारत र चीनको दोक्लम विवादमा नेपाल मध्यस्थकर्ता बन्नसक्छ : श्रेष्ठ

रुसका लागि नेपालका पूर्व राजदूतसमेत रहिसकेका कुटनीतिक मामिलाका एकजना जानकार हुन् हिरण्यलाल श्रेष्ठ। पत्रकार तथा बामपन्थी राजनीतिबाट माथि आएका श्रेष्ठ कुटनीतिक सम्बन्धका आयामहरुमा सन्तुलित दृष्टिकोण अघि सार्छन्। दुई छिमेक चीन र भारतबीच दोक्लम तनाव बढिरेहका बेला त्यसको बाछिटा नेपालसम्मै आइपुगेको छ। यसले पार्ने असर र तनावका आयामबारे पहिलोपोस्टका सूर्य खड्कासँग श्रेष्ठले गरेको कुराकानीको अंश :

 

छिमेकी  मुलुक भारत र चीन दोक्लममा आमने-सामने भइरहेका छन्। के होला कारण?

दोक्लम समस्या मुलतः भुटान र चीनबीचको सीमा समस्या हो। चीन र भुटानले निरन्तर २४ पटकसम्म वार्ता गरेर यो सीमा समस्या टुंग्याउनै लागेका बेलामा भारत समस्यामा जोडिएको छ। भारतले भुटान र चीनबीचको मिल्नै लागेको समस्यामा हात हालेका कारण समस्या आएको हो।

त्यसैले यो तिमीहरुको आपसी समस्या हो, चीन र भुटानले मिलाओ भनेर भारतले हात झिक्ने बित्तिकै समाधानतिर अघि बढ्छ।

चीनले लाओस, म्यानमार लगायतका देशसँगको सीमा समस्या समाधान गर्दै आएको छ।

अहिलेको जमानामा कुनै पनि देशले एकले अर्कोलाई सीमा वा भुगोलमा हस्तक्षेप गरेर नियन्त्रणमा लिने वा आफ्नो स्वार्थ सिद्ध गर्न सम्भव छैन। यो भारतले पनि बुझेको छ।

 

तर, भारतले हात झिक्न पनि मानिरहेको छैन। चीन त झन् भारत पछि नहटे आफू पनि पछि नहट्ने अडानमा छ। यसलाई दुई देशको युद्धमा जाने अन्तिम तयारी मान्न सकिन्छ?

मलाई दुवै देश हतियारको युद्धतिर नै उन्मुख छन् भन्ने लाग्दैन। युद्ध त अहिले पनि जारी छ। अहिलेको युद्ध वाकयुद्ध हो, मनोवैज्ञानिक युद्ध हो, मिडिया युद्ध हो। यो युद्ध अहिल्यै हतियार युद्धमा नजाला भन्ने मेरो अनुमान हो।

बिना हतियार सीमामा दुई देशका सेनाका बीच ठेलमठेल भएको भिडियोहरु देखियो। दुवै देशका मिडियाहरु आ-आफ्नो जनमत बढाउन लागेकै छन्।

एकातिर मनोवैज्ञानिक रुपमा तर्साउन खोज्ने, अर्कोतिर प्रोपोगाण्डा गर्ने क्रम जारी नै छ। यसले एक अर्कालाई चेतावनी दिने काम गरिरहेको छ। दुई देशका सेनाबीचको घम्साघम्सी युद्ध नै हो यो।

तर, यी सबै परिस्थितिबीच दुई देश अहिल्यै हतियार लिएर युद्धमा जान्छन् भन्ने लाग्दैन। किनभने दुवै देशले अहिले युद्ध चाहेका छैनन्। शब्दमा तनाव देखिन्छ, मिडियामा आक्रोश। तर, भौतिक रुपमा नै युद्धमा उत्रिहाल्ने अवस्था छैन।

भारत र चीन दुवै देशलाई अहिले यतिमात्र कारणले नै युद्ध गर्नुहुन्न भन्ने राम्रै हेक्का छ। उनीहरुले सन् १९६२ को युद्ध भुलेका छैनन्। युद्धको मूल्यबोध पनि दुवै देशलाई राम्रोसँग छ। मूल नीति र निकास नै युद्धलाई बनाएका छैनन् दुवै देशले। त्यसैले अहिल्यै युद्ध भयो वा भइहाल्छ भन्न सकिन्न।

 

युद्ध भइ नहाले पनि तनाव घटिहाल्ने अवस्था देखिएको छैन। आ–आफ्ना अडानप्रतिका दृढताहरु दुवै देशका कडा वक्तव्यवाजीबाट बुझिन्छ नि?

पछिल्लो स्थिति हेर्दा दुवै देशले उस्तै–उस्तै कुरा दोहोर्‍याइरहेका छन्। 'फेस सेभ' गर्ने उपायको खोजीमा नै उनीहरु लागेका हुन्। दुवै देश आणविक शक्ति सम्पन्न हुन्। यो बेला युद्धमा उल्झेर उनीहरु आफ्ना अरु प्राथमिकतालाई प्रभावित पार्न लागेका होलान भन्न मिल्दैन।

अडान त सबैले आ-आफ्ना राख्ने नै भए। तर, पहिले भारत, भुटान र चीनबीचको मामिलामा मिसिएकाले भारतीय सेना सीमाबाट पछि हटेमा समाधान तुरुन्तै हुने देखिन्छ। भारत पनि यो कुरामा अहिले असहमत देखिँदैन। भारतले हामी पनि पछि हट्छौं, चिनियाँ सेना पनि पछि हटोस् भन्ने चाहेको देखिन्छ।

तनाव भइसक्यो नै अब पछि हटौं भन्नेमा दुवै देशको मनोविज्ञान तयार भएको देखिन्छ। खाली कुन देशका सेना पहिले पछि हट्ने भन्नेमात्रैमा कुरा नमिलेको देखिन्छ। यसले दुवै देश युद्ध चाहँदैनन् र समाधानतिर उन्मुख छन् भन्ने सन्देश दिएको छ।

 

समाधानको विन्दु वा प्रक्रिया के हुन सक्लान?

ब्रिक्स सम्मेलनअघि नै दुई देशबीच 'फेस सेभिंङ'को कुनै उपाय खोजी हुन सक्छ। नेपालमा जारी बिमस्टेक राम्रो अवसर हो कुटनीतिक वार्ता सुरु गर्ने तथा सहमति खोज्ने र अघि बढाउने मञ्चका रुपमा।

किनभने अहिले काठमाडौंमा जारी सम्मेलन राम्रो मौका हो –भारत र चीनका लागि। यहीँ मौका छोपेर वार्ता सुरु गर्न सकिन्छ। कुटनीतिक रुपमा नै समाधानको बाटो पहिल्याउन सकिन्छ। त्यतातिर नेपालले पनि जोड दिनुपर्छ।

 

दोक्लम प्रकरणमा नेपालको दृष्टिकोण, प्रतिक्रिया र भूमिका चाहिँ कस्तो देखिँदैछ? ठीक, बेठीक वा गोलमाल?

नेपालको अहिलेको नीति भारत र चीन कतै पनि नलागी तटस्थ छौं भन्ने नै आएको छ। यो त सही नीति हो। हाम्रा लागि सबैभन्दा नजिकको छिमेकी भारत नै हो। भारत विश्वको ५औं शक्ति राष्ट्र पनि हो। उता चीन विश्वको दोस्रो शक्ति राष्ट्र हो। उत्तरको छिमेकी हो।

हाम्रा लागि त भारत चीन बराबर हुन्। एकसँग नजिक र अर्कोसँग टाढा भन्ने प्रश्नै आउँदैन। नेपाल एकातिर ढल्किने र अर्कोतिर टाढिने गर्‍यो भने त त्यो त आत्मघाती कदम हुन जान्छ। नेपाल त्यसबाट थप असुरक्षित हुन्छ। अहिले सरकारको तटस्थताको जुन नीति छ, त्यो जायज छ।

बिगतदेखि नै भारत पाकिस्तान युद्धका बेला होस् वा दोक्लममा नै भारत चीन लडेका बेला होस्, नेपाल सधै तटस्थ रहँदै आएको छ। नेपालको आन्तरिक अवस्था, भूराजनीतिक स्थितिको निचोड र सम्बन्धका संवेदनशीलताहरुका कारण नेपाल कतैतिर पनि नलागी तटस्थै बस्नु पर्छ।
 

दलहरु त यस प्रकरणमा चुपचाप छन किन होला?

सामन्यतः सरकारको दृष्टिकोण आएपछि सरकारकै दृष्टिकोण दलहरुको पनि हुने भइहाल्यो। दलका परराष्ट्र विभागहरुले यसबारेमा धारणा राख्न सक्थे तर राखेनन्। दलहरुलाई पनि स्पष्ट कुरा राख्न केही साह्रो–गाह्रो भइरहेको हुन सक्छ।

 

नेपालले अरु थप केही भूमिका खेल्न सक्दैन कि खेल्न नचाहेको हो?

नेपालका लागि अहिले त गज्जबको मौका छ। नेपालले भारत र चीन दुवैलाई जारी बिमस्टेक बैठकका क्रममा नै वार्ताका लागि राजी गराउने प्रस्ताव राख्न सक्छ। यो मौका छोप्न सके त नेपाल हिरो नै हुन्छ।

अहिले कथंकदाचित दुई देशबीच कुरा हुन नसकेमा पनि नेपालले भारत र चीनलाई आफ्नै अग्रसरतामा वार्ताका लागि पहल लिन सक्छ। नेपाल तटस्थ छ, त्यसैले उ वार्ताको अग्रसरताका लागि योग्य छ। नेपाल शान्ति भूमि पनि हो। नेपालले सके अहिले काठमाडौंमा नै वार्ता गराओस् नभए लुम्विनीमा वार्ताका लागि प्रस्ताव गरोस्।

नेपाल सार्कको अध्यक्ष राष्ट्र पनि हो। उसले लुम्विनीमा दुवै देशलाई वार्ताका लागि बोलाएमा उनीहरु पनि बाध्य हुन सक्छन्। नाई भन्नै नसक्ने अवस्थामा उनीहरुलाई दबाब बढ्छ।

नेपालले मध्यस्थताको अग्रसरता लेओस, भूमिका खेलोस् भन्ने मेरो सुझाव हो। गर्छ गर्दैन, त्यो सरकारको कुरा भयो। नेपालले वार्ताका लागि अपिल गरे नाइ भन्न मिल्ला र भारत र चीनले?

 

नेपालले यो बिबादबाट के सिक्ने? यसका असरहरु के हुन्?

त्रिदेशीय बिन्दुहरुको संवेदनशीलताप्रति नेपाल सचेत हुनु पर्‍यो। नेपालको पनि यस्ता त्रिदेशीय सीमा समस्या छन्। लिपुलेकदेखि लिम्पियधुरासम्म हाम्रा पनि सीमा समस्या छन्। पूर्वी भेगका सीमा समस्यामा मानवबस्ती नभएका कारण मात्रै तनाव नभएको हो। सुदूरपश्चिमका सीमाहरुमा धेरै समस्या छन्। अब हामी संवेदनशील हुनु पर्‍यो।

छिमेकमा जोसँग समस्या छ, उसैसँग सिधा कुरा गर्न तयार हुनु पर्‍यो। कालापानीमा हामी मिचिएका छौं। लिपुलेकमा हामी उपेक्षित भएका छौं। यसप्रति हामी एक राष्ट्रिय दृष्टिकोणका साथ अघि बढ्न सक्नु पर्‍यो ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal