PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फेक डोनल्ड ट्रम्पले काठमाडौँ आएर भने, 'आइ हेट फेक मिडिया'

फेक डोनल्ड ट्रम्पले काठमाडौँ आएर भने, 'आइ हेट फेक मिडिया'

उमेश श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : बहालवाला अमेरिकी राष्ट्रपतिले अहिलेसम्म नेपाल भ्रमण गरेको इतिहास छैन। तर प्रज्ञा प्रतिष्ठानको भित्तामा राखिएको एलसिडी मनिटरमा देखाइएको डोनल्ड ट्रम्पको फोटोलाई 'दिस इज फेक, आइ एम दि रियल' भन्दै देखा परे एक व्यक्ति। 

दुरुस्तै ट्रम्प। उस्तै अनुहार। उस्तै कपाल। उस्तै हाउभाउ। दुई अंगरक्षक र एक महिला साथमा ऋषि धमला। 

धमलाको अभिनयमा थिए सुबोध गौतम र ट्रम्प बनेका थिए मनोज गजुरेल। 

***
२०६२/६३ को जनआन्दोलनले उचाइ लिन बाँकी थियो। जनता सडकमा आउन हिच्किचाइरहेका थिए। यस्तो अवस्थामा नागरिक समाजको ब्यानरमा हुने कार्यक्रमहरुले नागरिकहरुलाई गोलबन्द गर्दै थियो। यस्तै नागरिक सभामा प्रस्तुति दिइरहेका हुन्थे मनोज गजुरेल। 

एक दिन टुँडिखेल खुल्लामञ्चमा अचम्मै भयो। नागरिक सभाकै बीचमा 'मैले बुझेँ' भन्दै श्रीपेच लगाएका ज्ञानेन्द्र अंगरक्षकसहित देखा परे। ज्ञानेन्द्र अवतारमा उत्रिएका थिए उनै मनोज गजुरेल। 

शासन सत्ता हातमा लिएका सर्वशक्तिमान राजाको क्यारिकेचर गर्दै उडाउन कम्ता जोखिम थिएन। तर उनले त्यो जोखिम मोले र वाहवाही पाए। 

जनआन्दोलनले सफलता प्राप्त गर्‍यो, राजतन्त्र ढल्यो। त्यसपछि उनी अर्को वर्ष झुल्किए प्रचण्ड बनेर। १० वर्षपछिको नेपाल भनेर उनले २०७५ सालको कल्पना गर्दै प्रचण्डसँग अन्तर्वार्ता गरे। त्यसमा रेल कुदेकोदेखि पानी जहाज आएकासम्मका कल्पना थिए। 

२०७५ साल आउन एक वर्षमात्रै बाँकी छँदा नेपाल त उस्तै छ, मनोज स्वयं भने चेन्ज भए। उनी अचेल नेसनल हैन इन्टरनेसनल क्यारिकेचर गर्न खप्पिस छन्।

***   
'यही गर्छु भन्ने लागेको थियो', स्टेजमा क्यारिकेचर सकाएर मेकअप पुछेर गफिन आएका मनोजले भने, 'त्यसैले धेरै अघिदेखि ट्रम्पका भिडियोहरु ध्यान दिएर हेर्ने गरेको थिएँ। गाईजात्राको १५/२० दिन अघिदेखि चाहिँ तयारी थालेको थिएँ।'

राजा ज्ञानेन्द्रपछि उनले प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराईको पनि क्यारिकेचर गरे। पछि त प्रधानमन्त्री पनि दोहोरिन थाले, क्यारिकेचर पनि सबैजसोले गर्न थाले। टेलिसिरियलमा समेत नेताकै क्यारिकेचर। 

मनोज केही नयाँ गर्न चाहन्थे। त्यसैले नाकाबन्दीभन्दा अघि मोदी नेपाल भ्रमणमा आएपछि उनले मोदीको क्यारिकेचर गरे। भारतीय मिडियाले समेत उनको क्यारिकेचरलाई कभर गर्‍यो। 

यस पटक भने उनले सीधै अमेरिकी राष्ट्रपति बन्ने आँट गरे। 

***

अरु कलाकारको प्रहसन चल्दै गर्दा स्टेज पछाडि माइक लिएर कुरिरहेका मनोज गजुरेल।

प्रज्ञा प्रतिष्ठानको हलमा गाईजात्राको दिनदेखि भइरहेको कार्यक्रममा मनोजको अर्को भूमिका पनि छ- कार्यक्रम सञ्चालकको। तीतो सत्य, मेरी बास्सै र ब्रेकफेलका कलाकारहरुको प्रहसनको बीचमा स्टायन्ड अप कमेडी गरेरै उनी दर्शक हसाँउछन्।

कार्यक्रम सञ्चालन गर्दागर्दै आफ्नो डोनल्ड ट्रम्पको क्यारिकेचर देखाउनुअघि मेकअप रुममा पस्छन्। ट्रम्पले लगाउने जस्तो रातो टाइ, जुन कम्मरभन्दा मुन्तिरसम्म गएको हुन्छ। अमेरिकाको झण्डा टाँसिएको कोट लगाइसकेपछि सुरु हुन्छ मेकअप। 

मेकअप म्यानले उनलाई खैरो अनुहारको बनाइदिन्छन् क्रिम पाउडर दलेर। अनि उनले नक्कली दाँत लगाउन के लागेका थिए, उता एउटा प्रहसन सकिएर उनले उद्‍घोषण गर्ने बेला हुन्छ। उनी माइक समातेर कुद्‍छन् र ब्याक स्टेजमा बसेर अर्थात् पर्दा नखोलिएको अवस्थामा उद्‍घोषण गर्छन्। अर्को प्रहसन सुरु भएपछि फेरि कुदेर आउँछन् अनि सुरु हुन्छ बाँकी मेकअप। 

मुखभित्र नक्कली दाँत लगाउँछन्, खुइलिसकेको तालु छोपिने गरी खैरो कपालको विग लगाउँछन्। त्यसलाई मेकअप म्यानको सहायताले। बेलाबेलामा उनी चिच्याउँछन्- नो, यु आर फेक। फोटो खिचिरहेका सहकर्मी दीपेन श्रेष्ठको खित्का छुटिरहेको हुन्छ। 

ट्रम्प पत्नी मेलानियाको भूमिकामा रहेका रातो ड्रेस लगाएका पुरुष कलाकारको हाउभाउ र गेटअप हेरेर दीपेन यति आकर्षित हुन्छ कि सोधिहाल्छन्- खै तपाईँको रियल अनुहार चाहिँ देखाउनुस् न एकचोटी।


उनले मोबाइल निकालेर देखाउँछन्- त्यहाँ देखिन्छ चक्र दवाडीको ह्यान्डसम रुप। (दायाँ हेर्नुस् फोटो)

मनोजले वायरलेस माइक फिट गरे। उनको अन्तर्वार्ता लिने ऋषि धमलाको भूमिकामा रहेका सुबोध गौतमले पनि त्यसै गरे।  

***    
सुरु हुन लाग्यो, सुरु हुन लाग्यो। सब हुरुरु कुदे। 

प्रज्ञा प्रतिष्ठानको भिआइपी बस्ने कुर्सीतिरको दायाँ पट्टीको प्रवेश द्वारबाट 'नो, दिस इज फेक, आइ एम रियल' भन्दै नक्कली ट्रम्प प्रवेश गर्छन्। दर्शकतिरैबाट मञ्चमा उक्लन्छन्। 

त्यसपछि सुरु हुन्छ नक्कली धमला र नक्कली ट्रम्पको हास्य संवाद जुन सुनेर दर्शक पटक पटक हाँस्न बाध्य हुन्छन्।

पब्लिकको अगाडि धेउवा, वाइफको अगाडि म्याउँवा, तलबाट लेउवा, माथिबाट देउवा, भेटेजति खाउवा भन्दै प्रधानमन्त्री शेरबहादुर देउवादेखि एमाले अध्यक्ष केपी ओलीलाई अक्सफोर्ड (अक्स भनेको गोरु, फोर्ड भनेको गाडी- गोरुगाडा चढेर अमेरिका जाने) भनेरसम्म व्यङ्ग्य गर्छन्। 
बाउलाई लाजिम्पाट, छोरीलाई नारानघाट, पार्टीलाई आर्यघाट भनेर प्रचण्डलाई व्यङ्ग्य गरेपछि 'रेशम फिरिरी, रेशम फिरिरी, ट्याक्सको हाकिम जेलमा गयो हावा फिरिरी' भन्दै चुडामणि शर्मालाई समेत छाड्दैनन्।

थ्याङ्क यु भन्दै ताली पिट्ने र फेक भन्दै रिसाएर आक्रामक हुने ट्रम्पको शैली उनले हुबहु उतार्दा दर्शक दङ्ग पर्छन्।  

स्टेज छाड्नुअघि डिभीको चिन्ता गर्ने नेपालीलाई ट्रम्पको मुखबाट उनले उपदेश दिन्छन्- डिभी भर्न एम्बेसी हैन, देश बनाउन आफ्नो गामबेसीमा धाउनू। 
 
उद्‍घोषकबाट डोनल्ड ट्रम्पको अवतार लिने तयारीमा मनोज।
फर्स्ट लेडीको भूमिकामा चक्र।
मेकअप गरिरहँदा पनि उनले आइ हेट फेक मिडिया भन्न छाडेनन्
स्टेजमा चढ्नुअघि


ट्रेन्डिङ पोस्ट

Ncell