PahiloPost

Jul 16, 2018 | ३२ असार २०७५

वाइवाइकी 'टम ब्वाय' डली 'जो क्यान्सर जित्ने लक्ष्यमा छिन्'


स्वेच्छा राउत/पहिलोपोस्ट

वाइवाइकी 'टम ब्वाय' डली 'जो क्यान्सर जित्ने लक्ष्यमा छिन्'

'तिमी विज्ञापनमा खेल्छौ?'

सानेपाको खाली सडकमा साइकल चलाइरहेकी डली गुरुङलाई रोकेर अनजान व्यक्तिले प्रश्न गर्नु अस्वभाविक थियो। अस्वभाविकै भए पनि विज्ञापनका लागि प्रस्ताव गर्ने व्यक्ति थिए प्रेम उपाध्याय। प्रस्तावलाई स्वीकार वा अस्वीकार नगरी डलीले सोधिन्,'विज्ञापन? कस्तो?'

थप जानकारी र विवरणको लागि प्रेमले डलीको घरको ल्यान्डलाइन नम्बर लिए। फोनबाटै नेटवर्क जोडियो। भिडियो विज्ञापनको कुरा भयो -टिभीका लागि। वाइवाइ चाउचाउको पहिलो मोडल बन्न डली खुसी नहुने कुरै थिएन।

नेपालमा १९७२ बाटै वाइवाइ बिक्री सुरु भए पनि चौधरी ग्रुपले थाइ प्रिजर्ब्ड फूड फ्याक्ट्रीसँग १९८५ मा मात्र किन्यो। त्यसपछि मार्केटिङका लागि पहल थाल्यो। चौधरी ग्रुपले बनाउने पहिलो भिडियो विज्ञापनका लागि चाहिएको थियो मोडल। मोडल बन्न सहज वातावरण नभएको समय -सामाजिक अनि पारिवारिक दुवै किसिमका जटिलता थिए।

उदार पारिवारिक वातावरणमा हुर्किएकी डलीको हकमा बुबा र दाजुहरु मनाउन गाह्रो भएन। केही दङ्ग पर्दै सुनाउँछिन्, 'माइलो दाइ अलि स्ट्रिक्ट हुनुन्थ्यो तर त्यतिबेला उहाँ विदेश बस्नुहुन्थ्यो।'

मोडलिङका लागि डली राजी त भइन्। तर समस्या थियो -डलीको 'टम ब्वाय लुक्स।' उनी सामान्य केटीहरु जस्तो थिइनन्। केटाहरुले लगाउने हाफ पाइन्ट र जुत्ता लगाउँथिन्। कहिल्यै मेकअप नगर्ने बानी।

'तर म निर्देशकले खोजे जस्तो भइदिन सकेँ। त्यसैले पनि वाइवाइको विज्ञापन खिच्न गाह्रो भएन।'

विज्ञापन सार्वजनिक भयो। डली चर्चामा आइन्। पैसा त पाइनन् तर विज्ञापनकै कारण उनले ज्वाइन्ट भेन्चर फिल्महरुमा अभिनयको मौका पाइन्। पहिलो फिल्म थियो 'सात सहेली'। जसमा सातजना डलीकै प्रवृत्तिका युवतीहरुको कथा प्रस्तुत गरिएको थियो। युवतीहरु कुस्ती खेल्छन्, श्रृङ्गार र पहिरनको मामालामा आम युवतीभन्दा फरक हुन्छन्। एक पाकिस्तानी फिल्ममा पनि उनी अभिनेत्री बाबराकी बहिनीको रुपमा काम गरिन्।

'मैले आफू असल जिन्दगीमा जस्तो छु त्यस्तै पात्रहरुको भूमिका गर्ने अवसर पाएँ तर फिल्म मेरो रुचि भने होइन', उनले विगत कोट्याउँदै सुनाइन्।



भेन्चर फिल्मकै चक्करमा उनी फिलिपिन्स पुगिन्। त्यहाँ उनको फरक पहिचान स्थापना भयो। वाइवाइको विज्ञापनमा देखिएर नेपालमा बनेको भन्दा फरक। उनी फिल्पिन्सकै पहिलो महिला डिजे बनिन्। 'डिजे डली डोऱ्यान'।

भन्छिन्, 'समाज फरक भए पनि अवस्था नेपालभन्दा फरक थिएन। त्यस्तोमा पनि नाइट क्लबमा डिजेइङ गरेँ।'

अन्य युवतीभन्दा केही फरक गरेरै उनी त्यहाँ पनि चर्चामा रहिन्।

'विदेशमा डिजेइङ मेरो कमाउने बाटो थियो। त्यही बाटोले मलाई फिलिपिन्सको विज्ञापनहरुमा पनि काम गर्ने अवसर दियो।'

उनी केही नोस्टाल्जिक हुन्छिन्। सम्झन्छिन् केही नकारात्मक घटना जसले उनलाई रत्तिभर असर गरेन। लामो हाँसोसहित सुनाउँछिन्, 'ड्रग्सका कारण मेरो निधन भएको खबर फैलिएछ नेपालमा। आफ्नै मृत्युको खबर सुनेर हाँसे म त।'

अझ रमाइलो प्रसङ्ग त के छ भने खबर सुनेपछि डलीको माइलो दाइ उनलाई भेट्न हतारिँदै पुगे।

'मेरो सासुले पनि टिभीमा हेर्दै, विचरा यस्तो राम्री केटी मरी भन्नु हुन्थ्यो रे।'

१० वर्ष लामो विदेश बसाई एक्ली युवतीका लागि सजिलो पक्कै थिएन। तर, उनले चाहे जस्तै जीवन बिताइन्। बिल्कुल स्वतन्त्र। आत्मनिर्भर र चर्चित।

फिलिपिन्सबाट कहिले जापान, कहिले कोरिया, सिंगापूर त कहिले मलेसिया। अन्तिम २ वर्ष चाहीँ अष्ट्रेलियामा बसिन् र फर्किइन् नेपाल।

निराकार याकथुम्बा। सांगीतीक ब्यान्ड १९७४ एडीको बेस गिटारिस्ट। दाइको बिहेमा रचना गुरुङ शर्मासँगै भेटेका थिए डलीलाई। के थाहा उनैसँग प्रेममा पर्छन्? डलीले नेपाल फर्किएर बुटिक सुरु गरेकी थिइन्। उक्त बुटिकको आयोजनामा भएको एक फेशन शो मा निराकार र उनको ब्यान्डले लाइभ प्रस्तुती दियो। चाडै उनीहरुले प्रेमलाई विवाहमा परिणत गरे। सन् १९९४ मा विवाह भयो। २३ वर्ष लामो वैवाहिक यात्रा सुखमय रहेको बताउँछिन् डली। भन्छिन्, 'तर सधैं राम्रो कुरा मात्र चाहीँ जस्तो खुसी मान्छेको जीवनमा पनि हुँदैन।'

डलीलाई सन्तानको निकै रहर। साथीहरुको छोराछोरी हुर्किँदै गरेको देख्दा उनलाई पनि रहर लाग्थ्यो बच्चाको। उनी गर्भवती भइन्। परिवारमा खुसीको सीमा रहेन। डलीले आफ्नो बच्चा जन्मिएर हुर्किएको समेत सपना देख्दै गर्दा समय डलीको सपनाको गतिसँगै चल्न सकेन।

'मेरो फस्ट प्रेग्नेन्सी मिसक्यारेज भयो। म त कहिल्यै जोडिन्न जस्तै गरी टुक्रिए।'

डाक्टरले कारण प्रस्ट बताएका थिए- एनोरेक्सिया, डलीमा देखिएको खाना नखाने समस्या। डलीका अनुसार उनी फिलिपिन्स हुँदादेखि नै आफ्नो शरीरको बोसो कम गर्न थोरै खान्थिन्। बिस्तारै उनी खाँदै नखाने अवस्थामा पुगिन् जसले उनमा मनोवैज्ञानिक समस्या देखायो। उनी आफूलाई फोटोमा र ऐनामा हेर्दा निकै मोटी पाउँथिन्। तर बाहिर भेट्नेले सोध्थे- किन यसरी दुब्लाएको?

'मलाई लागेको थियो अब म कहिल्यै आमा बन्न सक्दिन।'

तर, उनको जिन्दगीको सबैभन्दा खुसीको क्षण रह्यो जब उनले सन् १९९७ मा पहिलो सन्तानलाई जन्म दिइन्। डलीको रहर, डलीको खुसीले निरन्तरता पायो। र उनले छोराको नाम राखिन् निरन्तर।

'मेरा लागि सम्हाल्न नसक्ने खुसी काखमा जम्मा भएको पल हो। किनकी छोरा कोखमा हुँदा पनि ढुक्क थिइनँ, पुरानो घटनाले झस्काएको थियो।'

अहिले उनको तीन सन्तान छन् निरन्तर, निरिता र निसङ्ख। भन्छन्, 'मम्मी हावा हो। जे मन लाग्छ गर्नुहुन्छ। जता मन लाग्छ घुम्नुहुन्छ। तर, उहाँ डेडिकेटेड आमा हो।'

डलीको छोराछोरीको एउटा रमाइलो कम्प्लेन रहन्छ- मम्मी आफै वाइवाइको पहिलो मोडल भएर पनि हामीलाई वाइवाइ खान दिनुहुन्न। सोधेर कन्भिन्स गरेर मात्र खानुपर्छ।

डली आफूलाई खानाको हकमा निकै कडा भएको बताउँछिन्।

'म आफैले पनि चाउचाउ कहिल्यै खाइन,' सतर्क बन्दै बोलिन्- 'नो जङ्क फूड।' मुहारमा व्यङ्ग्यात्मक हाँसो पोखियो।



हाल उनको पहिचान फेरिएको छ। ज्वेलरी डिजाइनर र पोख्त व्यवसायी। जिप्सी नामक स्टोनका गहनाहरुको डिजाइन र बिक्री उनको पेशा। अफ्रिका लगायत अन्य देशहरुबाट ल्याइने सामानहरुबाट उनको जिप्सीमा नाक, कान, घाँटी, नाडी, खुट्टा लगायतमा लगाउने गहना तयार हुन्छ। अर्डर अनुसार डिजाइन गर्ने र रेडिमेड अर्नामेन्टसका लागि आउटलेटमा उनी लागिपरेकी छिन्।

आफ्नो पसलको पूरा जानकारी दिइसक्नु अघि उनले विषय मोडिन्।

'तर ५/६ महिना भयो मैले पसलमा धेरै समय दिन पाएको छैन।'

उनले कारण सुनाइसक्दा 'अब कसरी कुरा अघि बढाउने?' सोच्दै थियौं। उनी उस्तै हक्की पारामा एकरत्ति चिन्ता नलिइ बोल्छिन्, 'हो त क्यान्सर डायगनस भयो। त्यसैले स्वास्थ्यमा बढी फोकस गर्नुपर्यो।'

गत मार्चमा डलीमा कोलोन क्यान्सर देखियो। तर ढुक्क सुनिन्छिन्, 'जहिल्यै विनर बन्न पर्ने म क्यान्सरलाई जित्न दिन्छु होला?'

उनी थोरै मुस्कुराइन्।

भनिन्, 'क्यान्सर ममा देखियो। तर परिवार पो आत्तियो। सबैलाई फेरि आफैले सम्हाल्नु पर्यो।'

नेपाल क्यानसर हस्पिटल हरिसिद्धीमा उनको किमो थेरापी भइरहेको छ। डाक्टर सुदीप श्रेष्ठ र कपेन्द्र श्रेष्ठलाई सम्झिँदै बोलिन्, 'नेपालको हस्पिटल पनि यति सम्पन्न र जिम्मेवार भएछ। मैले यताको स्वास्थ्य सेवामा विश्वास गरेको छु।'

धेरैले उपचारको लागि विदेश जाने सल्लाह दिए पनि उनले त्यसो गर्न चाहिनन्।

'मसँगै जानेलाई पो मेरो अवस्थाबारे थाहा हुन्छ। घरमा बसेकालाई टेन्सन।'

उनको आन्द्राको ट्युमर पलाएको भाग भने शल्यक्रिया गरेर निकालिएको छ।

उनी किमो थेरापी गरेको ५ दिनमात्र बेड रेस्टमा हुन्छिन्। त्यसपछि पुन: ब्याक टू ह्याङ्ग आउट। अपरेसनपछि १२ वटा किमो थेरापी हुनुपर्नेमा बुधबारसम्ममा उनको ९ थेरापी सक्किएको छ। बुधबार किमो थेरापीअघि आफ्नो फेसबुकमा एउटा पोस्ट लेखेकी छिन्- 'प्राथना दैनिकी हो अफ्ठ्यारो परिस्थितिको बाहना होइन।'

डलीलाई विश्वास छ क्यान्सरले मार्दैन।

'म ठीक हुन्छु।'

उनी आत्मविश्वासी सुनिइन्।

"टम ब्वाय", "हक्की" यस्तैयस्तै उपनाम पाएकी उनी आज पनि आफू उस्तै ढिट र अवस्था सम्हाल्न सक्ने बताउँछिन्। उनले जस्तो सुकै कठिन परिस्थितिमा पनि आत्मविश्वासलाई गुमाइनन्। जस्तो सुकै पीडादायी क्षणमा पनि आँसु देखाइनन्।

'तर केही दिन अघि मात्र मलाई निकै लो फिल भयो।'

उनीसँगै कोलोनको अपरेसन गरेको र सँगै किमो थेरापी गराएका रोजिनको आन्द्रा बटारियो। बेलुकी सुनेको खबरले उनी रातभर निदाइनन्। बिहान अस्पतालमा आफूले भाइ मानेको रोजिनको अवस्था देखेर डली कमजोर भइन्। केही गम्भीर सोचिन् सायद। केहीबेर चुप लागेर भनिन्, 'म पनि किमो गरेको केही दिनमै उठेर हिँड्न थालेको छु। अबको थेरापीहरु पछि चाहीँ रेस्ट गर्नुपर्छ।'

स्वस्थ रहन खाना स्वस्थ हुन आवश्यक छ भन्ने उनको दैनिकीको सुत्र जस्तै बनेको छ। फलफूल मात्र रुच्ने, फलफूल मात्र खाए सुगर बढ्ने अवस्थामा रहेकी उनी फेरी सम्झाउँछिन्-

'से नो टू नुडल्स, से नो टू एनी अदर जङ्क फूड्स।'



वाइवाइकी 'टम ब्वाय' डली 'जो क्यान्सर जित्ने लक्ष्यमा छिन्' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट