- चन्द्रबहादुर आले-
यहाँसम्म पुग्दा यो मौसममा पहेलो, सेतो, नीलो, छिरबिरे फूलले बाटो नै रमाइलो बनाइरहेको हुन्छ। यतिखेर यो तीर्थस्थलको पदमार्गमा शितल हावा चल्छ। अनि चारैतिर हरियाली वातावरणले सबैलाई लोभ्याउँछ। घोरल, डाँफे, कस्तुरी, हिमाली मुसा पनि भेटिन्छ यहाँ। हिमाली मुसा ढुङ्गाका कुना काप्चाबाट लुकामारी खेलिरहे झै लाग्छ।
लम्जुङको डुम्रे हुँदै जाने पदमार्गमा ल्हेपार चोक पोखरी , बाखेरा पोखरी (गुरुङ भाषामा बाखेरा भनेको देउराली), इलम पोखरी पर्छन्। देउराली चोकसम्म बासस्थान छ भने त्यसपछि भने केही ठाउँहरुमा गोठमात्र भेट्न सकिन्छ। देउराली चोकबाट गोरखाको लिगलिगकोट र लम्जुङको राइनासकोट अवलोकन गर्न सकिन्छ। लिगलिगकोट द्रव्य शाहले र राइनासकोट द्रव्य शाहको दाजु नरहरि शाहले राज्य गरेको इतिहास छ।
देउराली चोकबाट करिब ६ घण्टा हिडेपछि लिपे डाँडा पुग्न सकिन्छ। यो समुन्द्र सतहबाट ३ हजार ३ सय मिटर माथि पर्छ। लिपेमा भेडी गोठ पनि छ। लिपे हुँदै उकालो लाग्दा विभिन्न जातजातिका फूलहरु देख्न सकिन्छ। उकालो चढ्दा थकाई लागे पनि डाँडा बाट देखिने दृश्यहरुले थकाइ मेटाउँछ।
काठमाडौंबाट लम्जुङको डुम्रे हुँदै जाँदा दूध पोखरी जान सकिन्छ भने गोरखा बाट बाटो छ। दूध पोखरी पुग्न ३/४ दिन लाग्छ। गोरखा हुँदै गएर लम्जुङ निस्कन सकिन्छ भने लम्जुङ हुँदै गोरखा पनि निस्कन सकिन्छ। दूध पोखरीबाट ६ घण्टाको बाटो हिडेर दरौँदीको शिर मानिने नारद पोखरी पनि पुग्न सकिन्छ। त्यस्तौ गोरखाको भच्चेक हुँदै र बारपाक हुँदै पनि यहाँ जान सकिन्छ।