PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डच कोचको प्रशिक्षणमा नेपाली भलिबल  : बंगलादेशलाई हराउने लक्ष्य

डच कोचको प्रशिक्षणमा नेपाली भलिबल : बंगलादेशलाई हराउने लक्ष्य

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : भलिबलले नेपालको राष्ट्रिय खेलको मान्यता पाएपछि अहिले नेपालमा भलिबलको माहोल बढ्न थालेको छ। नेपाल भलिबल संघले नेदरल्याण्ड्स भलिबलको सहकार्यमा विदेशी कोच नेपाल ल्याएको छ।

यसैगरी नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछिको पहिलो आधिकारिक खेलस्वरुप नेपालले बंगलादेशसँग अर्को महिना दुई मैत्रीपूर्ण खेल खेल्दैछ।

भदौ १३ र १५ गते हुने तय भएको उक्त खेलहरु नेपालमै हुने नेपाल भलिबल संघ एनभिएले बताइसकेको छ।

विदेशी कोच आउनुअघि एनभिएले वर्षैभरी विभिन्न कार्यक्रम गर्दै भलिबलको उत्सव मनाउने जनाएको छ। यसैगरी एनभिएअन्तर्गत बनेको नेपाल विद्यालय कमिसनले पनि वार्षिक क्यालेन्टर सार्वजिनक गर्दै युथ लेभलको पुरुष र महिला राष्ट्रिय प्रतियोगिता गर्ने जनाएको छ।

नेपाल भलिबलको विकास गर्नकै लागि एनभिएले नेदरल्याण्ड्स भलिबल संघसँग पाँच बुँदे सम्झौता पनि गरिसकेको छ। जुलाई अन्तिम साता नेदरल्याण्ड्सबाट प्रशिक्षक म्याट भान विजल र डेभलपमेन्ट म्यानेजर पिटर भान टरेल नेपाल आएका थिए।

भान टरेल भने फर्किसकेका छन्। तर म्याट भान विजलले भने नेपालको पुरुष टोलीलाई प्रशिक्षण दिइरहेको छन्। यही साउन १५ गतेबाट सुरु भएको प्रशिक्षणमा नेपालका ४० भन्दा बढी खेलाडी सहभागी छन्। सहभागीलाई दुई समूहमा बाँडेर प्रशिक्षण गराइरहेको छ। ए टिममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु छन् भने बी टिममा नयाँ खेलाडीहरु छन्।

'अब नयाँ खेलाडीहरु खोज्ने लक्ष्यका साथ बी टिम पनि बनाएर प्रशिक्षण सुरु गराएको हो।' विजललाई प्रशिक्षणमा सघाइरहेका नेपालका प्रशिक्षक जगदीश भट्टले पहिलोपोस्टलाई बताए।

उनकै प्रशिक्षणमा नेपालले माल्दिभ्समा भएको एभिसी सेन्ट्रल जोनमा तेस्रो स्थान हात पार्दै नेपाली पुरुष टिमलाई पहिलो पदक दिलाएका थिए।

सुधारोन्मुख प्रशिक्षण

विदेशी प्रशिक्षकले प्रशिक्षण सुरु गरेपछि नेपाली खेलाडीको कमजोरीहरुलाई केलाउँदै सुधार गरिरहेको भट्टले बताए। 'हाम्रो मुख्य समस्या रिसिभ र ब्ल्कमा हो, अहिले त्यसैको टेक्निकमा ध्यान दिएका छौँ र सुधार पनि भइरहेको छ।'

यस्तै विजलको आगमनपछि प्रशिक्षण अर्गनाइज्ड भएको र खेलाडीहरुले पनि कोचको निर्देशन फलो गरिरहेको भट्टको तर्क छ।

'हामी एक्लै हुँदा प्रशिक्षणमा केही गाह्रो हुन्थ्यो, सबै काम एउटैले गर्नुपर्थ्यो। अहिले विजललाई हामी ६/७ जनाले सहयोग गरिरहेका छौँ। जसले गर्दा प्रशिक्षणको प्रभाव पनि राम्रो हुँदै गएको छ।'

'प्रशिक्षण कसरी संयोजन गर्ने भन्ने कुराले पनि ठूलो भूमिका खेल्छ जुन विजलले गरिरहेका छन्।'

आधुनिक शैलीको प्रशिक्षण

अहिलेको भलिलब प्रशिक्षण शैली धेरै मोर्डन भइसकेको प्रशिक्षक भट्टको बुझाई छ। 'विदेशीमा कसरी भलिबल खेलिन्छ युरोपियन, अमेरिकनहरुले कसरी खेल्छन् भन्ने बोदै छौँ।' उनले भने। 'कसरी खेलाडीले चाँडो भन्दा चाँडो बुझ्न सक्छन् भनेर प्रशिक्षण गराईरहेका छौँ।'

'अहिले हामीले विजलले फास्ट गेम शैलीमा प्रशिक्षण गराईरहेका छन् त्यसैले केही गाह्रो भने अवश्य नै भइरहेको छ।'

तर म्याट भान विजलको प्रशिक्षण शैलीले भने नेपाली प्रशिक्षक भट्टलाई प्रभावित बनाएको छ। भन्छन्, 'विजल निरन्तर खट्छन्। खेलाडीहरुलाई सिकाईरहेका हुन्छन्। कुनै खेलाडीले गल्ती गरे तुरुन्त त्यसलाई सच्याउने गर्छन्।'

'खेलाडीलगायत हामी सबैजना धेरै कुरा सिकिरहेका छौँ।'

बंगलादेशलाई जित्ने लक्ष्य

नेपालले भदौमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालको लागि बंगलादेश परिचित प्रतिद्वन्दी पनि हो। तर पछिल्लो समय बंगलादेशको पुरुष भलिबलले धेरै सुधार गरिरहेको छ। प्रशिक्षक भट्ट पनि यो कुरा स्विकार गर्छन्।

'बंगलादेशको टोली अहिले धेरै राम्रो छ। उनीहरुले विदेशी कोच ल्याएर ३ वर्षदेखि प्रशिक्षण गराईरहेका छन्। हामी सेन्ट्रल जोनमा तेस्रो भयौँ उनीहरु च्याम्पियन बने। उनीहरुको प्रशिक्षण पनि निरन्तर हुन्छ।'

तैपनि बंगलादेश र नेपालको स्तरमा भने खासै फरक नरहेको उनको तर्क छ। 'बंगलादेशले निरन्तर ट्रेनिङ गरिराखेको छ। उनीहरु एक्सपोजरमा हामी भन्दामाथि छन्। तर हाम्रो टिम पनि राम्रो छ। इन्डिभिजुएल हाम्रो खेलाडीहरु राम्रा छन्। हामीले ६ महिना निरन्तर ट्रनिङ गर्न पायौँ भने धेरै माथि पुग्छा। घरेलु कोर्टमा हामी बंगलादेशविरुद्ध जितकै लागि खेल्छौँ।'

नेपालले दुई टिम बनाउने की एउटै टिम बनाएर खेल्ने भन्ने बारे निर्णय भइनसकेको र एनभिएको बैठककले उक्त विषय छलफल गरेर टुङ्गो लगाउने उनले जानकारी दिए।

'हामीसँग प्रशिक्षण गर्ने र खेल्ने समय कम छ, दुई टिम बनाउँदा त्यती प्रभावकारी पनि नहोला। अब आज संघको मिटिङ छ त्यसैबाट थाहा हुन्छ के गर्ने भनेर।'

उनले बी टिममा पनि केही राम्रो खेलाडीहरु रहेको र हाइट पनि भएकोले यदी निरन्तर प्रशिक्षण गराउने हो भने ए टिमलाई कडा टक्कर दिने बताए।



ट्रेन्डिङ पोस्ट

Ncell