PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

..जब प्रधानमन्त्रीको कुर्सीमा बसी प्रचण्डले आँसु झारे



..जब प्रधानमन्त्रीको कुर्सीमा बसी प्रचण्डले आँसु झारे

  • गोविन्द आचार्य -
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्ड प्रधानमन्त्री बनेको दुई दिनपछि मलाई प्रेस सल्लाहकारका रुपमा सहयोग गर्न भनियो। सोही अनुसार म साउन २४ मा बालुवाटार छिरे। म आफै कुनै कार्यकारी पद वा भूमिकामा होइन, देशका कार्यकारी प्रमुखलाई कसरी सहयोग गर्ने भन्ने उद्देश्यका साथ बालुवाटार प्रवेश गरेको थिएँ।

सुरु-सुरुमा मनमा एक खालको डर थियो। मनमा आशंकाहरु पनि थुप्रै थिए। एकातिर यो खालको काम मेरा लागि पहिलो थियो, दोसो, देशको कार्यकारीलाई सघाउने तर कसरी भन्ने निकै च्यालेन्जिङ काम त थियो नै। नढाँटी भन्नुपर्दा मलाई साँच्चै केही गर्नै नसकिने पो हो कि भन्ने मनमा त्रास थियो। खुशी र ठूलो उत्साहभन्दा मलिन मुहार र गम्भीर जिम्मेवारीबोधका साथ म त्यता गएको थिएँ।

सक्रिय क्याप्टेनः चुस्त टीम

बालुवाटारमा हामीले बिताएका १० महिना देशको कार्यकारी प्रमुखलाई सफल बनाउन सहयोगीका रुपमा नै बित्यो। व्यक्तिगत जीवन पूरै बिर्सेर हाम्रो टीम काममा रह्यो। निजी सचिवालय टीम पार्टीको निर्णय अनुसार प्रधानमन्त्री आफैले रोजेर बनाउनु भएको थियो। उहाँले पहिलेका प्रधानमन्त्रीले जस्तो भारी भरकम ५०/६० जनाको टिम बनाउनु भएन। उहाँले १५/१६ जनाको चुस्त टिम बनाउनु भयो। 

प्रमुख राजनीतिक सल्लाकार चक्रपाणि खनाल ‘बलदेव’ आफैमा अत्यन्तै इमान्दार छवि बनाएका एक पूर्व लडाकु कमाण्डर, प्रमुख स्वकीय सचिव जोखबहादुर महरा रोल्पामा जनयुद्धकै एक सुरुवातकर्ता,  घाइते योद्धा एवम् परिपक्व नेता, स्वकीय सचिवहरु प्रकाश दाहाल र रमेश मल्ल आफैमा उर्जावान युवा नेता। यसबाहेक प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी स्वकीय सहसचिव, उपसचिवसहित सचिवालय टिम बनेको थियो।  

प्रधानमन्त्री आफै बिहान ४ बजे उठिसक्ने, ५ बजे शारीरिक अभ्याससँगै व्याडमिन्टन खेल्ने मैदान पुगिसक्ने। ६ बजे त उहाँलाई पत्रपत्रिका चाहिने नै। पत्रपत्रिका आउन कुनै दिन ढिलो भए आफै सोधखोज गर्ने। त्यसपछि बिहानी खाजामा केही रोटी खाने र काममा जुटिहाल्ने।
क्याप्टेन नै बिहान सबेरैदेखि राति अबेरसम्म काममा खटिने। बिहान बालुवाटारका गतिविधि सकेर सामान्यतः प्रधानमन्त्री सिंहदरवारमा बिहान १० बजे नै पुग्नु हुन्थ्यो। १२ बजेतिर दिउँसोको खाना। दैनिकी हेरर भेटघाट, छलफल, बैठकहरु। यस्तैमा उहाँ रातिको ११ बजाइदिने। सुरुमा नै हामीलाई धेरै खट्ने र धेरै काम गर्ने निर्देशन थियो। उहाँ आफै सबेरै बिहानदेखि राति अबेरसम्म आफै खटेको खट्यै गरेपछि हाम्रो टीमले त ठगठाग गर्ने, अल्छी गर्ने , छलढाँट गर्ने सवालै भएन। हरदिन खटियो नै।

जसरी प्रधानमन्त्री यो कार्यकालमा खटिनुभयो, त्यसैगरी राज्यका सबै प्रमुख र अन्य अंग पनि खटिने हो भने वास्तवमा सिंहदरवारबाटै परिवर्तनको सुरुवात गर्न संभव हुने रहेछ भन्ने लाग्छ। प्रधानमन्त्रीको स्पीडमा अरु अंगले काम गरेनन। अन्य राज्ययन्त्रहरुले पनि कामै गरेनन् भन्ने त होइन तर प्रधानमन्त्रीको स्पीडलाई पक्रन सकेनन्। त्यसैले चाहे जति र गर्न खोजे जति काम प्रधानमन्त्रीले गराउन सक्नुभएन।

भेटघाटबाटै दिन सुरु, भेटघाटमै अन्त्य

मेरो अनुभवमा त देशको कार्यकारी प्रमुखको दैनिकी धेरैजसो बिहान भेटघाटबाट सुरु हुने र त्यसैमा अन्त्य हुने गरेको पाएँ। जो पनि प्रधानमन्त्रीलाई भेट्न चाहने। अझ सिंहदरवारमा त एक खालको समूह नै रहेछ प्रधानमन्त्रीलाई भेटाईदिन्छु भन्दै दलाली गर्नेहरुको।

कस्तोसम्म भने जुन प्रधानमन्त्री आए पनि उनीहरु सदाबहार प्रधानमन्त्रीको वरिपरी घुम्ने। सामान्य मान्छेलाई त हरेक प्रधानमन्त्रीको वरिपरी देखेपछि त ठूलै मान्छे रहेछ भन्ने भ्रम बाँड्न सजिलो भो नि त्यस्तो गिरोहलाई। 

बाटै ढुकेर प्रधानमन्त्रीलाई भेट्ने। अफिसमा नै भीड। प्रधानमन्त्रीको सचिवालयले सुरुमा नै यस्ता गिरोहलाई पहिचान गर्यो्। स्थायी गेट पास नै बनाएका हुँदा रहेछन्, त्यस्ताले त। तीन दर्जनभन्दा बढी त्यस्ता मान्छेको सिंहदरबार प्रवेश पास नै जफत भयो। यसले अलि निश्चित समूहले प्रधानमन्त्रीलाई घेरेर राख्ने परम्परामा क्रमभंगता नै भयो। 

प्रधानमन्त्रीलाई भेट्ने अधिकांशले भन्ने सरुवा, बढुवा, सिफारिश, ठेक्का पट्टा लगायतका निजी स्वार्थ। जो आउँछ, त्यही भन्छ। यो पाराले हुँदैन भनेर सचिवालय टीमले त्यस्तालाई ढिम्किनै दिएन। रिसाए रिसाउन भनेर काम र प्रयोजन नबुझी प्रवेशमा नै बन्देज लगाएपछि प्रधानमन्त्रीलाई अलि समय पुग्न थाल्यो रचनात्मक कामका लागि।

देशको प्रधानमन्त्रीको ढोकामा आउने जो कोही मानिसलाई सिधै ढोका बन्द गर्न पनि नसकिने। तर अफिस होस् वा निवास सबैतिर कडा जाँच पडताल, सोधी खोजी र निगरानीका साथ मात्रै भेटघाट गराउन सचिवालयले निकै मेहनेत गर्यो। 

भेटघाटका लागि अरु वा अन्य स्वार्थी समूहले त घेर्न खोजे खोजे, माआवादी पार्टीकै केही वरिष्ठ नेता, पूर्वमन्त्रीहरु समेतले दिक्कै लगाउने। पार्टी कमिटीको निर्णय बिना नै केही नेताहरुले आफ्नालाई यो काम गरिदिन पर्यो, फलाना ठाउँ नियुक्ति दिनु पर्यो भन्दै मान्छे नै सँगै ल्याएर प्रधानमन्त्रीलाई दबाब दिन्थे। 

तर प्रधानमन्त्रीले हचुवाका भरमा कसैले भनेकै भरमा काम गर्नुभएन। उहाँले धेरै निर्णय आफ्नो विवेकमा मात्रै गर्नु भयो। वास्तवमा माओवादीकै कतिपय नेताहरु बाहिर जुन रुपमा क्रान्तिकारी आदर्शवादी देखिन्छन्, भित्रभित्रै फरक रुपमा प्रस्तुत भएको मैले पाएँ। यस्तो दोहोरो चरित्रबाट जानकार भएपछि प्रधानमन्त्री पनि आफै सचेत हुन थाल्नुभयो। नेताहरु बाहिर निकै आदर्शवादी भित्रभित्रै धेरै व्यक्तिवादी बनेर बालुवाटारदेखि सिंहदरवारसम्मै हावी हुन खोज्ने धेरै डरलाग्दो प्रवृत्तिले प्रधानमन्त्रीलाई अचेटेर राख्न खोजिदो रहेछ। ठूला नेतालाई भेट्नै नदिन पनि गाह्रो। ठूला नेताले नै व्यक्तिगत काममा प्रधानमन्त्रीलाई उल्झाउने गलत अभ्यास देखियो। 

प्रायः सँधैका भेटघाटले प्रधानमन्त्रीको निजी जीवन त नरहने नै, अध्ययन, चिन्तन तथा रचनात्मक काममा पनि समय नपुग्ने। एकजना कार्यकारी प्रमुखको दैनिकी रचनात्मक हुने गरी उसको टीम र सिस्टम आवश्यक रहेछ भन्ने मेरो निजी अनुभूति रह्यो।

मूलतः प्रधानमन्त्रीले हामीलाई सुरुमै आफूले यो पट्क देश र जनताका पक्षमा केही राम्रो गर्न चाहेको र पहिलो पटक प्रधानमन्त्री कालको अनुभवबाट धेरै कुरा सिकेको बताउनुभएको थियो। त्यसैले उहाँ स्वयं पनि धेरै खाले प्रवृत्तिलाई पहिल्यै चिनिहाल्ने भैसक्नुभएको अनि सचिवालय टीम पनि खरो रुपमा जाँच पडतालमा सक्रिय भएका कारण कुनै पनि विवादास्पद काममा उहाँ पर्नु भएन। पहिलो कार्यकालको अनुभवले प्रधानमन्त्रीलाई धेरै परिपक्व बनाएको उहाँको काम गराई, निर्णय शैली र क्षमताले पनि प्रमाणित गर्यो। उहाँको सुरुको ब्रिफिंगलाई हाम्रो सचिवालयले शीरोधार्य गरेर दिनरात नभनी इमान्दारीपूर्वक काम गरिरह्यो, गरिरहयौं।

प्रकाश दाहाल प्रचण्डको छोरा हुनु नै अभिसाप

प्रकाश दाहालका बारेमा बाहिर जे जस्ता टिकाटिप्पणीहरु हुन्थे, त्यो भन्दा ठीक विपरीत मेरो अनुभव रह्यो। भेटघाटलाई व्यवस्थित गर्ने र व्यक्तिगत काममा प्रधानमन्त्रीलाई उल्झाउन रोक्न वास्तवमा प्रकाशको भूमिका मुख्य रहयो। जोखबहादुरजीले पनि धेरै मेहनेत गर्नुभयो। कतिसम्म भने प्रकाशका एकजना आफन्त नै आउन खोजे व्यक्तिगत काम लिएर। तर प्रकाशले रोकिदिए। भेटघाटको उद्देश्यबारे सोधीखोजी गरेर मात्रै प्रधानमन्त्रीलाई रिर्पोटिंग गर्ने र आवश्यक छ/छैन भनेर व्रिफिंग गर्न थालेपछि आधा जसो चाप कम हुन थाल्यो।

सूचना प्रविधि मैत्री, छिटो तथा चुस्त समय व्यवस्थापन गर्न सक्ने र असाध्यै खट्न सक्ने क्षमता हो प्रकाशजीको। उनी प्रधानमन्त्रीको छोरा भएकै कारण उनका बारेमा अनेकौं अफवाहहरु फैलाइने गरेको मेरो अनुभूति रह्यो। प्रचण्ड पुत्र मात्र नभएको भए उनी निकै काविल युवा हुन कामका लागि। समय व्यवस्थापनमा उनी साह्रै छरिता र पक्का। राजनीतिक रुपमा धेरै सचेत र सुझबुझ भएका युवा हुन्। कुरा छिटो बुझ्न सक्ने क्षमता उनमा मैले पाएँ। उनी अरु कसैका पुत्र भएका भए उनको यो स्तरको आलोचना शायदै हुन्थ्यो होला र प्रचण्डका छोरा नभएको भए अझै माथिल्लो तहको नेता बनिसक्थे।

परिवारवादलाई प्रधानमन्त्रीले निकै बढावा दिएको आरोप लाग्यो प्रधानमन्त्रीमाथि। तर भित्र त्यस्तो कुनै घटना हुँदैनथ्यो। रेणु दाहाल जम्माजम्मी ३ पटक , त्यो पनि प्रधानमन्त्रीले बोलाएपछि मात्रै बालुवाटार आएकी थिइन्। 

आजको प्रचण्डलाई प्रचण्ड बनाउन पारिवारिक रुपमा म्याडम सीता दाहालको जति अरु भूमिका कसको होला र? प्रधानमन्त्रीको काममा पत्नीका हैसियतले कुनै दबाब वा प्रभाव पारेको मेरो अनुभव रहेन। प्रधानमन्त्रीको डे टु डे काममा कुनै दिन पनि सीता दाहालले यसो गर, उसो गर भनेर भन्नुभएन।

नारायण दाहाल, प्रशासनिक सल्लाहकार हुनुभयो। उहाँ पनि सातामा एक दुई पट्क आउनुहुन्थ्यो बालुवाटार। तर बाहिर नारायण दाहालले किचेन क्याविनेट चलाएको प्रचार गरिन्थ्यो। विषयगत जिम्मेवारीका काममा मात्रै उहाँको ध्यान हुन्थ्यो। अरु सल्लाहकार पार्टीकै परामर्शमा थियौँ हामी।

प्रधानमन्त्री कार्यालय त कर्मचारी आरामगृह

वास्तवमा प्रधानमन्त्रीको टीम भन्ने त स्वकीय र निजी सचिवालय नै हुने रहेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय चाहिँ सरकारी जागिर खाने अनि माथिल्लो तहमा जान लोक सेवाको तयारी गर्ने कर्मचारीले नै भरिएको हुँदो रहेछ। खास काम बिनाका धेरै कर्मचारी सोर्सफोर्स लगाएरै त्यहाँ काजमा आउँदा रहेछन्। 

पूर्व प्रधानमन्त्रीहरु, मुख्य सचिवहरु, मन्त्रीहरु, सचिवहरुको सोर्स लगाएर त्यहाँ सरुवा हुने, काम सिन्को नभाँच्ने, बिहान बेलुका आउने हाजिर गर्ने र तलब खाने त त्यहाँको परम्परा जस्तै रहेछ। 

प्रधानमन्त्रीको कार्यालय भन्ने बित्तिकै कस्तो कामको भ्याई नभ्याई हुने, कुनै कर्मचारी पनि खाली नहुने, व्यस्त भैरहने हुनुपर्ने नि। ठीक उल्टो पाएँ मैले त। अघिल्लो पल्टकै अनुभवका कारण यस्ता कर्मचारीको प्रवृत्तिबाट प्रधानमन्त्री चाहि जोगिनुभयो। यस्ता गलत प्रवृति सच्याउने प्रयास प्रधानमन्त्रीको रह्यो नै। तर त्यस्ता प्रवृत्तिलाई निमिट्यान्न पार्ने त सरकारको छोटो अवधि र अन्य कतिपय प्रतिकूलताहरुले पनि संभव नै भएन।

वास्तवमा कर्मचारी कर्मचारी एकै प्रवृत्तिका छैनन्। एकथरी कर्मचारी साँच्चै सलाम गर्न लायक रहेछन्। उनीहरु कहिल्यै आफ्नो बारेमा सिकायत गर्न नआउने। कतिसम्म भने काम बाहेक अरु मतलबै नगर्ने। साँच्चैका स्वभिमानी र निकै इमान्दार। तर अर्काथरी साह्रै धूर्त। जेमा पनि मै हुँ भन्ने, चाकडी चाप्लुसीमा नै लठ्याउन खोज्ने। तर प्रधानमन्त्री पनि के कम, आधा मान्छे त उहाँ भेट्ना साथ चिन्ने भैसक्नुभएकाले कर्मचारीले यसपटक उहाँलाई घुमाउन पाएनन। मुख्य सचिव र अन्य सचिवहरुसँग भने उहाँको हार्दिकतापूर्ण सम्वन्ध रह्यो र उहाँलाई पूरै सहयोग मिल्यो।

ओलीसँग विश्वासिलो हार्दिक सम्वन्ध 

धेरै मान्छेहरु एमाले अध्यक्ष ओली र प्रचण्डको सम्बन्धबारे नकारात्मक धारणा राख्छन्। तर बाहिर ओलीको जुन धारणा छ प्रचण्डबारे, खासगरी सार्वजनिक समारोहहरुमा, त्योभन्दा निकै भिन्न र हार्दिक सम्बन्ध रहेको पाएँ मैले। खासगरी आजसम्म प्रचण्ड सरकारले राष्ट्रिय महत्वका प्रमुख विषयमा जे जति निर्णय लियो, ती सबै जसो निर्णय प्रचण्ड, शेरबहादुर देउवा र ओलीको सहमतिमा भएका छन्। धेरै भेटवार्ताहरु निर्देशन अनुसार नै प्रेसको नोटिसमा दिइँदैनथ्यो। 

मधेशी दलका नेताहरुसँग पनि त्यस्तै स्थिति। भित्रभित्र मधेशी नेताहरुलाई धेरै महेनेत गरेर प्रधानमन्त्रीले विश्वासमा लिनुभएको थियो। वास्तवमा नाकाबन्दीपछि धेरै रिसाएका थिए मधेशी दलका नेताहरु। हरसंभव उपाय अपनाएर मधेशी दललाई इन्गेज गर्न प्रधानमन्त्री सफल हुनुभएको हो। संविधान संसोधन फेल हुने गरी निर्णयमा नलैजानुहोस् भनेर मधेशी दलका नेताहरु नै प्रधानमन्त्रीलाई रोक्थे। हामीलाई जनतामा जाने बाटो सहज बनाइदिनु परयो भनेर भित्रभित्र आग्रह गर्थे। तर बाहिर भने ठयाक्कै उल्टो कुरा प्रेसमा आउने। बाहिर देखाउने र भित्र हुने फरक पर्दो रहेछ।

सीमांकन बाहेकको संविधान संसोधनमा सहयोग गछौं भनेर एमालेले वचन दिएको पनि थियो। सोही अनुसार सरकारले विधयेक अघि बढाएको पनि हो। तर एमालेले पछि वचन अनुसार काम गरेन, समस्या प्रधानमन्त्रीका कारण भएको थिएन।

राष्ट्रपति र सेनापति सबैसँग न्यानो सम्बन्ध

एमालेको पार्टीबाट चुनिनु भएकी राष्ट्रपति, कटुवाल काण्डका कारण पहिलो कार्यकालमा राजीनामा गर्नुपरेको अवस्था र कुनै न कुनै रुपमा माओवादीप्रति सेनाका रिर्जभेसनहरु रहेका छन् भन्ने जस्ता आम आंकलनका बीच पनि यी सबै निकायलाई प्रधानमन्त्रीले ह्दयदेखि नै विश्वासमा लिन सक्नुभयो। सुरुदेखि बिदाईका दिनसम्म कुनै एक विषयमा पनि कोही कसैसँग फरक मत वा विवाद भएन। पृष्ठभूमिहरु फरक भए पनि देश र जनताको हितलाई मात्रै ध्यान दिने समान लक्ष्य भएपछि राज्यका कुनै पनि निकायबीच विवाद नआउँदो रहेछ भन्ने उदाहरण पनि प्रधानमन्त्री प्रचण्डले यो कार्यकालमा देखाउनुभयो।

प्रधानमन्त्रीले कुनै काम गर्न नसकेर, कुनै निकायसँग दूरी बढेर वा कुरा नमिलेर तनावमा आएको, दुःखी भएको हामीले कहिल्यै पाएनौं। सँधै बोल्ड, सँधै उत्साही, सँधै कामको हुटहुटीका बीचमै प्रधानमन्त्रीको कार्यकाल सकियो।

जब प्रधानमन्त्री रोए

प्रधानमन्त्रीलाई भावुक बनाउने जनयुद्धका प्रसंगले। घाइते तथा बेपत्ता परिवारसँगका भेटमा उहाँ एक पटक रोएको देखियो। त्यो पनि उहाँ रोल्पामा हुँदा सँगै लडेका दौतरीहरु आउनुभएको थियो। उहाँ त्यो बाहेक कहिल्यै निराश मनस्थितिमा देखिनुभएन अफिसदेखि निवाससम्मै।
प्रधानमन्त्रीको सुरक्षामा राज्यका सबै सुरक्षा निकाय परिचालित भए पनि बढी ध्यान सेनाले नै दिँदो रहेछ। 

भाषण नहेरी नपढ्ने 

समयकै अभाव रहयो प्रधानमन्त्रीलाई सँधैभरी। तैपनि उहाँले कहिल्यै पहिले जानकारी नलिई कुनै सभा समारोहमा भाग लिनुभएन, भाषण, सम्बोधन गर्नुभएन। मान्छेहरुको फरक बुझाई होलान्, तर अक्सर प्रधानमन्त्रीले दिने औपचारिक शुभकामनाहरु पनि भ्याएसम्म आफै तयार पार्नुहुन्थ्यो। नहेरी, नपढी त उहाँले केही पनि गर्नुहुन्नथ्यो। देशवासीका नाममा आउने महत्वपूर्ण सम्वोधनहरु त उहाँ आफै ड्राफ्ट गर्नुहुन्थ्यो। 
मिडिया निकै आलोचक रहे पनि उहाँले कहिल्यै मिडियामा आएका विषयमा खण्डन गर भनेर हामीलाई निर्देशित गर्नुभएन। कुरा यसो होइन, गलत कुरा प्रेसमा आएछ। तर वास्तविकता बिस्तारै बुझ्दै जान्छन् भनेर हामीलाई भन्ने गर्नुहुन्थ्यो।

आलोचना खेप्न सक्ने क्षमता निकै रहेछ प्रधानमन्त्री प्रचण्डसँग। उहाँले समस्या वा चुनौतिहरु छन् भने तिनको समाधान पनि छ है भनेर हामीलाई सधै उत्साह भर्नुहुन्थ्यो।

प्रधानमन्त्रीका सूचना र कार्यक्रम त हामीले धेरै व्यवस्थित रुपमा दिने प्रयास गरेका हौं। तर मिडियाका साथीहरु सबैलाई प्रधानमन्त्रीसँग भेट्नै पर्ने, अन्तर्वार्ता नै चाहिने। त्यो मिलाउन समय नै नहुने। हाम्रै प्रेस सेन्टरकादेखि अन्य मिडियाका साथीहरु यसैकारण धेरै रिसाउनु पनि भयो। तर हाम्रो टीमको सल्लाह अनुसार नै मिडियासँग सामूहिक भेटवार्ता र छलफललाई बढावा दिइएको थियो।

लड्डु खुब खाइयो, आर्जन गर्ने अफरै आएन

खै यी त माओवादी भनेर हो कि किन हो, हाम्रो टीमलाई आकर्षक आयआर्जनका कुनै अफर गर्ने हिम्मत कसैले गर्न सकेनन। मसहित हामी सचिवालयमा कार्यरतको आय आर्जन भनेकै सरकारी तलब, सवारी साधन, खाजा आदि निर्धारित राज्यका सुविधा मात्रै रहयो। त्यहाँ गए वापत हामीले कमाएको सबैभन्दा ठूलो चिज भनेकै सन्तुष्टि हो। यसबाहेक पिआर थप बलियो बन्यो भनौँ। 

औपचारिक कार्यक्रममा मिल्ने सम्मान, उपहारबाहेक कसैले कुनै काम भए बापत अथवा यस्तो सहयोग गछौं तपाईलाई भन्ने हिम्मतसम्म पनि गर्न सकेनन। सचिवालमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी तथा अन्य कर्मचारीका बढुवा, बर्थ डे आदिमा लड्डु खुबै खाइयो। त्यो पनि प्रधानमन्त्री वा सीता दाहाल दुबै सुगरका विरामी उहाँहरुले नखाने, तर आइरहने भएकाले।

काम गर्न सकिने हो वा होइन भन्ने चिन्ताका साथ निन्याउरो मुहारका साथ छिरेर हाँसी हाँसी फर्कन सकियो। त्यही हो मेरो १० महिने बालुवाटार यात्राको मुख्य आर्जन। हाम्रो उद्देश्य नै त्यहाँ गएर कमाउने थिएन। त्यसैले कमाएको मुख्य सम्पत्ति नै सरकारको वाहवाही हो, धन्यवाद हो। त्यो नै मेरो सन्तुष्टि वा सफलता रह्यो।

परम्परागत औपचारिकताको माहौल नै थिएन

प्रधानमन्त्री बालुवाटार जाँदा किताब, लुगाफाटोसहितका सामान्य आवश्यक सरसामानका साथ जानु भएको थियो, फर्कँदा पनि सोही रुपमा आउनुभयो। पुजाआजा, टीकाटालोको त्यहाँ माहौल नै हुन्थेन। कसैले पनि दशैंको टीका लाउने कुरै गरेन। कोही पण्डित वा जोगी, सन्त महन्तको कुनै केही खालको कुरा नै आएन, भेटघाट हुने त प्रश्नै भएन। जनयुद्धदेखि नै टीका लगाउन छाडेकोले प्रधानमन्त्रीले दशैंको टीका नलगाउनु भएको हो।

वास्तवमा सरकार प्रमुखले परिवर्तनको जग बसाउन खोजेमा र राज्यको सबै टीमले सहयोग गरे परिवर्तन संभव छ भन्ने लाग्थ्यो। एफएनसीसीआईको टोलीले प्रधानमन्त्रीको अन्तिम कार्यकालतिर एक पटक बालुवाटारमा भेटेर तपाईले त जुगै परिवर्तन गरीदिनु भयो, यति धेरै काम भए कि तर ती कामको तपाईले मार्केटिंग गर्न सक्नु भएन भनेर प्रधानमन्त्रीलाईभन्दा उहाँ निकै गम्भीर बन्नु भएको थियो। सरकारका उपलब्धिबारे निजी क्षेत्र खुसी र विश्वस्त थियो। 

सरकारले नराम्रो त केही गरेन नै। राम्रा काम धेरै भए। राजीनामा गर्न नै रोकेर पछिल्लो समय त विपक्षीले पनि सरकारको कामलाई प्रशंसा नै गरेको हो।

सन्तुलित छिमेक सम्बन्ध

खासगरी प्रधानमन्त्री हुर्द गर्दा उहाँमाथि भारतमुखी भन्ने आरोप थियो। तर चीन र भारतसँग सन्तुलित विदेश सम्बन्ध कायम गर्न सकेका कारण पनि उहाँ सफल हुनु भएको हो। भारतीय प्रधानमन्त्री मोदी नै प्रधानमन्त्री प्रचण्डको प्रशंसक बन्नु भएको पाइयो। चिनियाँ राष्ट्रपति सि त नेपालको असल र निकट मित्र नै प्रचण्डलाई मान्नु हुन्छ। कतै नढल्किनु र सन्तुलित रुपमा दुबै छिमेकीको विश्वास जित्न सक्नुमा प्रधानमन्त्रीको क्षमता नै मुख्य थियो।

पूर्व प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लहाकार आचार्यसँग पहिलोपोस्टका सूर्य खड्काले गरेको कुराकानीमा आधारित।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell