रामहरी तिम्सिना
बेलुकीको ६ बजेको छ। अफिसबाट घर फर्कनलाई सोह्रखुट्टे चोकमा बस कुरिरहेको छु। सिमसिम पानी परिरहेको छ। मौसम चिसो चिसो छ। सबैजना आफ्नै रफ्तारमा गन्तब्यतिर लागिरहेका छन्।
सबै जना हतारमा देखिन्छन् सायद पानी परेर होला।
हुनत हतार हुने नै भयो, कहिले गएर पकाउने, कहिले खाने, कहिले सुत्ने। सबैलाई कमाउनै पर्ने, पैसा नै सब थोक सम्झन्छन् मान्छेहरु।
जानुपर्ने तरेकेश्वर नगरपालिका-नेपालटार। बस सितिमिति खाली आउँदैन। यसैमाथि आज त पानी परेको। फेरि ड्राइभर खलासीलाई यात्रुहरु भेडाबाख्रा कोचेजसरी नकोची सन्तोष लाग्दैन, जति बेलै पाइला राख्ने ठाउँ हुँदैन। मुस्किलले पाइला राख्ने ठाउँ पाए भाग्य।
एउटा बस आउन पाएको हुन्न सबै यात्रुहरु त्यसैपछि दौडन्छन, तँछाड र मछाड गर्दै। म पनि त्यहीँ भिडको एक यात्रु हुँ। दिनको ३/४ पटक यही रुटको बस चढ्छु।
मेरो नजिकै एक जना च्यातिएको कपडा लगाएको र च्यातिएको झोला बोकेको बुढो मान्छे यता उता गरिरहेका छन्। सायद बस कुरिरहेका हेलान। पानीले आधा शरीर भिजिसकेको छ। मलाई दया लाग्यो।
नजिकै गएर सोधेँ- बाजे तपाई कहाँ जाने?
म चिसापानी जाने हो बाबु। बाजेले भने।
बस कुर्नुभएको कति समय भयो?
१ घण्टा जति भयो होला, एउटा पनि बस खाली आउँदैन। जति आएको भरिएर आएको छ। फेरि म बुढोलाई एउटाले नि चढाउदैनन्- बुढाले भने।
हामी जस्तो युवालाई त कति संघर्ष गर्नुपर्छ बस चढ्न बिचरा यी बृद्धलाई कति गाह्रो हुन्छ होला?
एकछिन बुढालाई मेरै छाताले ओत दिएर बसेँ। अब जे भएनि बुढालाई चिसापानीको बस चढाएर नेपालटारसम्म सँगै जानुपर्ला भन्ने सोचेर चिसापानीको बस कुरिरहेँ।
तपाई कहाँ पुग्ने नि बाबु, बुढाले भने।
'म नेपालटार पुग्ने हो बाजे'
नेपालटार जाने त धेरै बस आयो त बाबु तपाई किन जानु नभएको?
म पनि चिसापानीको बसमा जानुपर्छ कि भनेर बसेको- मैले भनेँ।
खै बाबु चढ्न सकिन्छ कि सकिँदैन।
नेपालटार जाने ३/४ वटा बसहरु आए। म एउटामा पनि चढिन। चिसापानीको बस नै कुरिरहेँ।
यतिकै बस्नुभन्दा गफ गरेर बस्नु पर्यो भनेर बुढोलाई सोधेँ- कति बर्ष पुग्नुभयो तपाई?
खै बाबु कति बर्ष पुगेँ थाहा छैन्, ९७ सालको हो।
ए ! ७७ बर्ष हुनुभएछ।
अब बुढो भइयो बाबु। जमनाको जस्तो तागत छैन। दारी कपाल सबै फुले। दाँतहरु सबै झरिसके। आँखा पनि धमिलो हुँदै गएको छ। अब धेरै छैन यो धर्तीमा रहने दिन –बुढाले भने।
अझै धेरै बाँच्नुहुन्छ- मैले भनेँ।
खै बाबु भावीले कहिलेसम्म लेखेको छ। ईश्वरको भरोसा, कति राख्छन अब यो धर्तीमा।
बालाजु, नयाँबसपार्क, बाइपास, नेपालटार, जरङ्गु, चिसापानी- कन्डक्टर चिच्याउँदै आयो।
सबै यात्रुहरु गुटुटु बसको पछाडि दौडिए।
बसमा यात्रुहरु खचाखच थिए। म पनि भिडलाई पछ्याउँदै बसको ढोकातिर लागेँ। पाइला राख्न मुस्किल थियो। जसोतसो ठेलठाल गरेर चढेँ। बुढोलाई पनि सँगसँगै चढाएँ। भित्र सास फेर्न मुस्किल थियो। तातो बाफ चलिरहेको थियो। पानीले भिजेका मान्छेहरु, कसैका सास गनाएको, कसैका पसिना गनाएको, कसैका ब्राण्डेट पर्फ्युमहरु गनाएको, सबैको बास्ना एक्कै पटक आउँदा बिरामीनै होला जस्तो।
बस त चढियो उभिन पनि मुस्किल भयो। म युवा त जसोतसो उभिउँला विचरा यी बुढालाई कसैले सिट छोडिदिन्छन कि भनेर अनुरोध गरेँ। नजिकै १-२ महिला सिट भनेर लेखिएको थियो। सिटमा २ जना केटीहरु बसेका थिए।
मैले ति केटिहरुलाई भनेँ- excuse me !
एकछिन बाजेलाई सिट छोडिदिनुस् न। तपाई योङ हुनुहुन्छ। बसपार्क पुगेपछि अरु सिट खाली हुन्छ अनि बस्नुहोला।
दाई यो त महिला सिट हो। बुढोलाई त जेष्ठ नागरीक सिट छ नि, त्यहीँ राखिदिनुस् न- एउटीले जवाफ फर्काइन्।
कति सजिलै पन्छिन खोजे जेष्ठ नागरिक सिट देखाएर।
जेष्ठ नागरिक सिटतिर आँखा डुलाएँ, त्यहाँ जेष्ठ नागरिक नै बसिरहेका थिए। वरपरको सिटमा वयस्कहरु बसेका थिए तर कसैले पनि सिट छोडेनन्। सबै जनाले नसुनेको जस्तै गरे।
असक्त सिटमा पनि २ जना अधबैंसे केटा बसिरहेका थिए। उनीहरुले पनि सिट छोड्न मानेनन्।
मान्छेमा मानवता हराएछ। मान-सम्मान, आदर-सत्कार, दया-मायाँ, धर्म सबै भुलिसकेछन्। लोभ, मोह, स्वार्थ मात्र लुकेको रहेछ।
एकदिन हामी सबै जना बुढो हुनुपर्छ। अहिले पनि हाम्रो घरमा बुढा बाबा-आमा, हजुरबुबा-हजुर आमा छन् होला। कुनै दिन आफुलाई पनि यस्तै अप्ठेरो पर्न सक्छ र आफ्ना कसैको लागि यस्तै अवस्था आयो भने के गर्लान यिनीहरुले।
म कोहीसँग पनि बहस गर्नतिर लागिन। मलाई थाहा थियो यहाँ बोलेर केही हुन्न।
बस माछापोखरी बसपार्क पुग्यो। केही यात्रु त्यहाँ झरे। त्योभन्दा धेरै मात्रामा चढे।
यहाँ पनि कुनै सिट खाली भएन न त कसैले सिट नै छोडे। विचरा बुढोलाई गाह्रो भएको थियो। खलासी पछाडि सर भनेर कराइरहेको थियो।
दाई पछाडि सर्नु न- खलासीले भन्यो।
भाई म नेपालटार झर्ने हो, टाढा जानेलाई पठाउ पछाडि- मैले भनेँ
बाजे तपाई कहाँ पुग्ने? बुढो बाजेलाई सोध्यो।
चिसापानी जाने हो बाबु।
चिसापानी पुग्ने मान्छे पछाडि सर्नुन किन अगाडि बसेको- खलासीले भन्यो।
तर पछाडि सर्ने ठाउँ थिएन, यात्रुहरु खचाखच थिए।
बुढो अप्ठेरो महसुस गरिरहेको थियो।
एक्कासी बुढोले बाइपास झर्छु भने।
खलासीले भाडा मागे तर बुढाले मसँग छैन भने।
खलासीले भाडा नभए झर्नुस भन्यो बुढालाई माछापोखरीमा नै। भाडा नभएको मान्छे किन चढेको भनेर गाली गर्न थाल्यो।
बिचरा बुढो केही बोल्न पनि सकेन। त्यहीँ झर्न खोजे।
मैले किन झर्न खोज्नु भएको भनेर सोधेँ।
मसँग पैसा छैन बाबु। झर भन्छन्। यहीँ झर्छु। फेरि म बुढो यसरी कोचिएर जान नि सक्दिन।
म दिउँला भाडा नझर्नुस्। तपाई चिसापानी जाने मान्छे यहाँ झरेर के गर्नुहुन्छ। सबै बसहरु भरिएर आउँछ। यसमा त बल्लबल्ल चढ्नु भयो, फेरी अर्कोमा तपाईलाई कसैले पनि चढाउदैनन्। कसरी जानु हुन्छ घर?
बुढो मौन भयो।
मैले खलासीलाई जेष्ठ नागरिकलाई आदर गर्न, सम्मान गर्न सिक्नु, तपाई पनि बुढो हुनुहुन्छ एक दिन भनेर सम्झाएँ।
फिरिमा त कस्ले लान्छ र, भाडा त दिनु परिहाल्यो नि दाई- खलासीले भन्यो।
सधैँ पैसा मात्र खोज्न हुन्न भाई, यति धेरै मान्छे कोचेर हालेको छौ। कहिले काहीँ सबैलाई अप्ठेरो पर्छ। आज पैसा छैन होला, भोली त हुन्छ नि। बरु बाजेलाई एउटा सिट मिलाई देऊ। मैले भने।
खलासी हुँदैन भनेर बुढोलाई झर्न भन्यो फेरि।
मैले भनेँ- भाडा म दिन्छु, बाजेलाई सिट मिलाई देऊ। होइन भने म पनि भाडा दिन्न भनेर निहुँ खोजेँ।
तपाई पनि झर्नु भन्यो।
बसमा भएका १/२ जना अरुले पनि बाजेलाई सिट छोड्न भनेपछि अशक्त सिटमा बसेको भुसतिघ्रेले सिट छोडिदियो। बुढो बाजे सिटमा बसे। मैले धन्यवाद दिएँ मन लागि नलागि।
नेपालटार झर्ने छ। खलासी ढोकामा झुन्डिएर चिच्यायो।
५-७ जना यात्रुहरुले छ भने। त्यसमा म पनि एक थिएँ।
बस नेपालटार पुगेर रोकियो। ठेलठाल गरेर झरेँ। खलासीलाई भाडा दिएँ। अनि बुढा बाजे र मेरो भाडा कटाउन लगाएँ। खलासीले २ जनाको भाडा कटायो।
बुढा बाजेलाई मैले भाडा दिएको छु, ढुक्कले जानु होला भनेँ।
बस अगाडि बढ्यो, त्यो बसलाई हेरिरहेँ ओझेल नपरुन् जेल अनि घरतिर लागेँ। सम्झिएँ बसका सबै यात्रुहरुलाई, बिशेषत ती बुढाबालाई जोसँग १५ रुपियाँ नहुँदा दुर्ब्यबहार सहनुपर्यो। हुन पनि ती बुढा बासँग केही पनि थिएन होला। मर्ने बेला भएको बुढालाई दुर्ब्यवहार गरेर न त्यो बसको खलासीले केही पाए न त अशक्त सिटमा बस्ने तरुनी, तरुनले केही पाए, न महिला सिट हो भनेर अधिकार खोज्ने २०-२५ बर्षको तरुनीहरुले केही पाए। पाए त केवल अहमता, लाचारता, घमण्ड अनि स्वार्थीपन।
नेपाल सरकारको कोटा सिस्टमप्रति मलाई साह्रै दुःख लाग्यो। अनि दुःख लाग्यो त्यो संस्कारप्रति जसमा मानवता नै छैन्। जता जे कुरामा पनि अधिकार खोज्न थाले,कोटा खोज्न थाले। अधिकारको नाममा मान्छेहरुले नराम्रो संस्कार बसाइरहेका छन्।