PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

भलिबलका इन्टरनेशनल रेफ्री बनेका पूर्ण भन्छन्, 'रेफ्री इज नट पुलिस'


गोविन्दराज नेपाल/पहिलोपोस्ट

भलिबलका इन्टरनेशनल रेफ्री बनेका पूर्ण भन्छन्, 'रेफ्री इज नट पुलिस'
काठमाडौं : भलिबलका कपिलकिशोर श्रेष्ठ र बक्सिङका प्रचण्ड शर्मा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकको भूमिकामा थिए। उनीहरु दुवैको चेला अर्थात खेलाडी भने एकै थिए, पूर्णप्रसाद चौलागाईँ। 

दुवै प्रशिक्षकले पालैपालो पूर्णलाई प्रशिक्षण दिन्थे। पूर्ण भने दुई भिन्न खेलाडीको रुपमा प्रशिक्षण लिन्थे। 

एकदिन भलिबलका कपिल श्रेष्ठले पूर्णलाई सुझाव दिए, 'तिम्रो हाइट पनि राम्रो छ। भलिबल राम्रो खेलिरहेका छौ। कहाँ बक्सिङमा लागिरहेको?' 

उनले गुरुको निर्देशन माने र पूर्ण रुपमा लागे भलिबलतिर। उनै पूर्ण प्रशिक्षक हुँदै नेपालको राष्ट्रिय रेफ्री अनि अहिले इन्टरनेशनल रेफ्री पनि बनेका छन्।

तर बक्सिङलाई उनले कहिल्यै बिर्सेनन्। बक्सिङले सिकाएको अनुशासन र 'सेल्फ डिफेन्स'लाई सँधै पालना गरिरहे।

………
गत जेठ ८ गते नेपाल सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दियो। त्यसको सातापछि नै टहल सिंह थापा र पूर्ण चौलागाईँले नेपालको प्रतिनिधित्व गर्दै थाइल्याण्डको बैंककमा भएको एभिसी एसियन रेफ्री क्यान्डिडेट कोर्स सम्पन्न गरे। उनीहरु दुवै जना इन्टरनेशनल भलिबलका लेभल वान प्रशिक्षक समेत हुन्। 

नेपाल अहिले ५ जनामात्र इन्टरनेशनल भलिबल रेफ्री छन्। ती मध्ये दुई टहल र पूर्ण हुन्। उनीहरुभन्दा अघि नेपालबाट गौतम लाछिवा अन्तर्राष्ट्रिय रेफ्री बनेका थिए।

पूर्ण सजिलै यो स्थानसम्म पुगेका होइनन्। यसका लागि उनले निरन्तर मेहनत गरे। खेलका साथसाथै पढाईलाई पनि अगाडि बढाए।
'मेरो निरन्तरको मेहनत र गुरुहरुको साथ र सहयोगले म अहिले यो स्थानसम्म आइपुगेको छु, भलिबलमै लागेर नेपालको लागि अझै केही गर्ने सोचमा छु,' पूर्णले पहिलोपोस्टसँग आफ्नो योजना सुनाए।  

जुम्लादेखि काठमाडौंसम्म

सानैदेखि भलिबलमा रुचि राख्ने पूर्ण स्कूल लेभलदेखि नै खेल्थे। जुम्लामा जन्मेका उनले एलएलसीसम्म जुम्लामा पढे। जुम्लामा पढे पनि उनी भने काठमाडौं बस्थे। 'म परीक्षा दिन मात्र जुम्ला जान्थेँ। अरु बेला काठमाडौंमै बसेर पढ्थेँ।' 

जुम्लाको लाम्रास्थित दुर्गा माविबाट एलएलसी दिएपछि उनी ‌औपचारिक रुपमै काठमाडौं आए। 

तर भलिबलसँग उनको नाता त्यसभन्दा अघि गाँसियो। एसएलएसी दिनुअघि उनी ट्युसन पढ्न काठमाडौंमा थिए। र जावालाखेलमा रहेको चिडियाखाना घुम्न जानु पूर्णलाई भलिबलमा तान्ने माध्यम बन्यो।

 'एक दिन म चिडियाखान घुम्न गएको थिएँ। त्यहाँ जावालाखेल भलिबल प्रशिक्षण केन्द्र रहेछ। खेलाडीहरु ट्रेनिङ लिइरहेका थिए। मैले पनि भोलिपल्टदेखि नै ट्रेनिङ ज्वाइन गरेँ।' 

'त्यहाँ सबै खालका खेलाडीहरुले प्रशिक्षण गर्थे। आर्मी पुलिसदेखि स्थानीय खेलाडीहरु समेत जावालाखेलमा जान्थे, भलिबल सिक्न।'

बिहान बक्सिङ, बेलुका भलिबल

सानैदेखि बक्सिङमा पनि पूर्णको रुचि थियो। बेलुका भलिलबको ट्रेनिङमा जाने पूर्ण बिहान भने रंगशालामा बक्सिङ सिक्न जान्थे। एक दिन क्युकवसिनका खेलाडी पुरुषोत्तम घिमिरेले पूर्णलाई रंगशाला बोलाए। पूर्णले बोलाउनुको कारण सोधे। घिमिरे बिहान ८ बजे ट्रेनिङ गरेर निस्केका थिए। त्यो सुनेपछि पूर्णलाई पनि बक्सिङमा रुची जाग्यो। 'मैले भोलिदेखि नै म पनि सिक्न आउँछु भनेँ। ट्रेनिङका लागि लाग्ने फीबारे बुझेँ। तत्कालै मुख्य प्रशिक्षक प्रचण्ड शर्मालाई भेटेँ। उनले ट्रयाक लगाएर भोलिदेखि आउनू भने।' 

त्यसपछि पूर्णको दैनिकी नै भलिबल र बक्सिङ बन्यो। दिउँसोको समयमा भने उनी घुमघाम गर्थे। भलिबल र बक्सिङलाई पूर्णले निरन्तर अगाडि बढाए। जावालाखेल प्रशिक्षण केन्द्रमा निरन्तर ५ वर्ष प्रशिक्षण गरे। खेले। विभिन्न प्रतियोगिताहरु जिते पनि। 

२०६५ सालमा ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले गरेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता पनि खेले जहाँ पाँच विकास क्षेत्रसहित भारतका टीम समेत सहभागी थियो। 

तर बक्सिङमा भने उनले एकपटक दु:ख बेहोर्नुपरयो। २०६० मा राष्ट्रिय स्तरको बक्सिङ खेल्दा उनको खुट्टाको फ्याक्चर भयो। तैपनि उनले हिम्मत हारेनन्। ३ महिना पूर्ण रेस्ट गरे। 

बक्सिङमा ५२ केजी तौल समूहमा उनले विभिन्न प्रतियोगितामा सहभागिता जनाए। 


गुरुको निर्देशनमा मोडिएको पूर्णको बाटो

भलिबल प्रशिक्षक कपिल श्रेष्ठले पूर्णलाई पूर्ण रुपमा भलिबलमै लाग्न उत्प्रेरित गरेपछि उनले भलिबललाई बढी समय दिन थाले भने बक्सिङमा समय घटाउँदै गए। जावालाखेल क्लबका साथै पश्चिमाञ्चलबाट विभिन्न प्रतियोगिता खेलेका पूर्ण नेपालको प्रतिनिधित्व गर्दै बाहिर गएर खेल्न भने पाएनन्। तर भलिबलसँगको नाता भने उनले कहिल्यै तोडेनन्। 

पूर्ण भन्छन् 'जसरी सुरुमा भलिबलमा लाग्यो भनेर नराम्रो भन्नेहरु थिए अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा रेफ्री गर्न थालेपछि सबैले वाहवाही गरेका छन्। यो सुन्दा निकै खुशी लाग्छ।' 

यसबीचमा उनी खेलाडीको रुपमा मात्र नभई कोचिङ र रेफ्रीको कोर्सहरुमा समेत आकर्षित बने। सुरुमा राष्ट्रिय खेलकुद परिषद्बाट पूर्णले एनआइएस भलिबल प्रशिक्षक कोर्स गरे।

त्यसपछि २०६७ सालमा धनगढीमा भएको छैटौँ राष्ट्रिय खेलकुदमा सल्यान जिल्लाको मुख्य प्रशिक्षक समेत बने।

२०६६ सालमै क्षेत्रीय रेफ्री कोर्स सकाएका उनले त्यसको ३ वर्षपछि इन्टरनेशनल लेभल वान भलिबल कोचिङ कोर्स पनि गरे। २०७० सालमा राष्ट्रिय रेफ्री कवर्स सम्पन्न गरे। 

रेफ्री कोर्सलाई पनि उनले नेपालमा मात्र सीमित राखेनन्। नेपाल भलिबल संघ एनभिएको सिफारिसमा २०७२ सालमा पूर्णले थाइल्याण्डमा सिनियर रेफ्री कोर्स फिभ रेफ्रिङ रिफ्रेसर कोर्स गरे। त्यतिबेला उनले २०१८ मेन्स वर्ल्ड भलिबल च्याम्पियनसिप जोनल क्वालिफिकेसनका खेल खेलाउने मौका समेत पाए।

एसियन भलिबल कन्फेडेरेसन एभिसीकै निमन्त्रणामा उनले त्यहाँ रेफ्रीको भूमिका निर्वाह गरेका थिए। 


२०७३ साल पुसमा पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुदमा उनले मध्यपश्चिमाञ्चल क्षेत्रकै राष्ट्रिय रेफ्री संयोजकको भूमिका निर्वाह गरे।
पूर्णको नाममा एउटा अनौठो संयोग जोडिएको छ। पाँचौ राष्ट्रि खेलकूदमा खेलाडी भएर भलिबल खेलेका उनी दुई वर्षपछि छैटौँ खेलकुद हुँदा प्रशिक्षक बनिसकेका थिए। करिब ५ वर्षपछि सातौँ राष्ट्रिय खेलकुद हुँदा उनको भूमिका पुन: फेरियो र उनले रेफ्रीको हैसियतमा खेल खेलाए। 
२०७४ साल जेठमा थाइल्याण्डको रामखेहाङ युनिभर्सिटीमा एसियन भलिबल फेडेरेसनले आयोजना गरेको एसियन रेफ्री क्यान्डिडेट कोर्स पास गरे। कोर्सपछि पूर्ण इन्टरनेशनल भलिबल रेफ्री बन्दै इन्टरनेशनल लेभलको भलिबल खेलाउन सक्षम बनेका छन्। 

त्यसक्रममा उनले थाइल्याण्डमै भएको वर्ल्ड युनिभर्सिटी भलिबल टुर्नामेन्ट समेत खेलाउन मौका पाए। 

अब पूर्णले नेपालमा हुने मात्र होइन विदेशमा हुने फिभ र एभिसी मान्यता प्राप्त विभिन्न खेल समेत खेलाउन पाउनेछन्। 


एनभिएलाई पूर्णको सुझाव

पूर्ण विदेशमा जस्तै नेपालमा पनि विभिन्न खालको रेफ्री रिफ्रेसर कोर्स हुनुपर्ने बताउँछन्। एनभिएलाई उनको सल्लाह र सुझाव छ, 'नेपालमा रेफ्री काउन्सिलको सुचारु हुनुपर्‍यो, रेफ्रीको सुहाउँदो ड्रेस हुनुपर्छ, रेफ्रीको कोर्स नियमित हुनुपर्छ अनी नेपालमा भएका रेफ्रिको लेभल पनि मेन्टेन हुनुपर्छ।' 

नेपाली रेफ्रीको पनि क्याटेगोरी छुट्टाएर कसले कुन गेम खेलाउने कसले कुन गेम खेलाउने भनेर एनभिएले तोक्नुपर्ने पूर्णले बताए। 

'रेफ्रीले खेल खेलाउँदा उसलाई लाखौँ दर्शकले हेरिरने हुँदा एनभिएले नेपाली रेफ्रीको लागि प्रोपर ड्रेस बनाउनुपर्छ। ड्रेसले व्यक्तित्व झल्काउँछ।'

'रेफ्री इज नट पुलिस'

'भलिबल खेलको रेफ्री पुलिस जस्तो होइन। पुलिसले जस्तो तत्कालै डिसिजन लिइहाल्नुहुन्न।  कतिपय अवस्थामा राम्रोसँग हेरेर लाइन जजहरुसँग बुझेर मात्र जज गर्नुपर्छ।' 

खेल खेलाउँदा र डिसिजन लिँदा खेलाडीहरुसँग राम्रो व्यवहार गर्नुपर्ने र नम्र भएर प्रस्तुत हुनपर्ने उनी बताउँछन्। 'तर विदेशमा हुने खेलको तुलनामा नेपालमा अझै त्यस्तो खालको चुनौती भने आइसकेको छैन। बाहिर देशमा खेलाउँदा भने कहिलेकाँही निर्णय गर्नै गाह्रो हुने र यस्तो बेला निकै सोचविचार गरेर मात्र निर्णय लिनुपर्ने हुन्छ।' 

पूर्णले थाइल्याण्ड र म्यानमारबीचको गेम खेलाउँदा यस्तै परिस्थतिको सामना गर्नुपर्यो। 'लाइन जजले बल चेक आउट देखाए र अन्य जजहरुले भने बल आउट भनेर। यस्तोमा मैले समय लिएर सबैसँग छलफल गरेँ र अन्तिममा बल आउट दिएँ।' पछि रेफ्रीहरुको मिटिङमा पनि सबैले मैले राम्रो गरेको बताए। 

एकेडेमिक बन्नुपर्छ

पोलिटिकल साइन्समा मास्टर्स सकाएका पूर्ण अहिले पत्रकारितामा मास्टर्स गर्दैछन्। आफ्नो खेलको बारेमा रिपोर्टिङ गर्ने सञ्चारकर्मी कलेजमा उनको साथी छन्। इन्टरमेडियट र ब्याचलर्समा पत्रकारिता पढेका पूर्णलाई किन फेरि पत्रकारिताले तान्यो त? उनी कारण दिन्छन् 'प्रविधिले गर्दा पहिले र अहिलेको पत्रकारितामा धेरै फरक भइसकेको छ। आफूलाई अपग्रेड गर्नका लागि पनि पुन: पढ्दैछु।' 

 


भलिबलका इन्टरनेशनल रेफ्री बनेका पूर्ण भन्छन्, 'रेफ्री इज नट पुलिस' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट