PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

त्रिभुवन विश्वविद्यालय र चन्डिगढ युनिभर्सिटीबीच उच्च शिक्षामा समझदारी, विद्यार्थी आदानप्रदान हुने



पहिलोपोस्ट

त्रिभुवन विश्वविद्यालय र चन्डिगढ युनिभर्सिटीबीच उच्च शिक्षामा समझदारी, विद्यार्थी आदानप्रदान हुने

काठमाडौं: त्रिभुवन विश्वविद्यालय र भारतको प्रसिद्ध शैक्षिक संस्था चन्डिगढ युनिभर्सिटीबीच उच्च शिक्षा, अनुसन्धान, विद्यार्थी तथा फ्याकल्टी आदानप्रदानका लागि समझदारी भएको छ ।

यो समझदारीले दुवै देशका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि बाटो खुलेको चन्डिगढ युनिभर्सिटीका उपकूलपति आर.एस. बाबाले बताए। छिमेकका विश्वविद्यालयहरुसँग घनिष्ट सम्बन्ध राख्ने उद्देश्य बोकेर चण्डिगढ विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयसँग हातेमालो गरेको हौं, मंगलवार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति बाबाले जानकारी दिए।

समझदारी पत्रमा त्रिभुवन विश्वविद्यालयका तर्फबाट उपकूलपति डा. तीर्थराज खनिया र चण्डिगढ विश्वविद्यालयका उपकूलपति बाबाले हस्ताक्षर गरेका छन्। समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्राज्ञिक समूह, अनुसन्धानकर्तालगायतको उपस्थिति रहेको संस्थाले जारी प्रेस विज्ञप्तिमा छ।

कार्यक्रममा प्राज्ञिक तथा अनुसन्धानकर्ताहरुले दुवै देशका विद्यार्थीलाई कुन स्वरुपमा अघि बढ्दा फाइदा पुग्छ भन्नेमा केन्द्रित रहेर छलफल गरेका थिए। पत्रकार सम्मेलनमा उपकुलपति बाबाले विद्यार्थी भर्नाको दृष्टिले विश्वकै नवौं ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयसँग प्राज्ञिक, अनुसन्धान र उच्च शिक्षामा सहयोग आदानप्रदान गर्न पाउँदा आफू गौरवान्दित भएको बताए।

यसबाट दुई विश्वविद्यालयका लागि नयाँ युग सुरु भएको छ, उनले भने । ‘उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको रोजाइमा भारत पनि पर्छ। पाँच वर्षको अवधिमा चण्डिगढ विश्व विद्यालयमा नेपाली विद्यार्थीको संख्या १३३ प्रतिशतले वृद्धि भएको उपकुलपति बाबाले जानकारी दिए।

चण्डिगढ विश्वविद्यालय लिम्का बुकको सूचीमा समेत अभिलेख छ। यो विश्वविद्यालयले डिप्लोमादेखि विद्यावारिधिसम्म ११८ वटा व्यवसायिक कोर्षहरु सञ्चालन गर्दै आएको छ। विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरका ४० मुलुकका १६० वटा विश्वविद्यालयसँग सहसम्बन्ध समेत विस्तार गरेको छ।

चण्डिगढ विश्वविद्यालयमा नेपाललगायत ३५ मुलुकका १२ सयभन्दा बढी विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गरिरहेका छन्। मेरिटको आधारमा नेपाललगायतका विद्यार्थीले यसको छात्रवृत्तिमा समेत अध्ययन गर्ने मौका पाएको बाबाले जानकारी दिए। विश्वविद्यालयका लागि नेपालको आधिकारिक कन्सल्ट्यान्सी एआईपीबाट अहिलेसम्म २४३ विद्यार्थीले चन्डिगढ विश्वविद्यालयको विभिन्न संकायमा उच्च शिक्षा लिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell