PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

साझा र विवेकशीलको एकता : विकल्पै बन्न समय लाग्छ



साझा र विवेकशीलको एकता : विकल्पै बन्न समय लाग्छ

  • पुरुषोत्तम दाहाल -
अहिले साना दलहरु एकीकृत हुने जुन अभ्यास देखिँदैछ, त्यो सकारात्मक नै हो। हालै विवकेशील र साझा पार्टीबीच भएको पार्टी एकतालाई पनि मैले सकारात्मक रुपमा नै लिएको छु। यी दुबै उदीयमान दलहरु हुन्। हालै भएका दुई चरणका स्थानीय निर्वाचनको परिणामले पनि यी दलहरुले उल्लेख्य जनमत हासिल गरेका हुन्। खासगरी उपत्यकाका काठमाडौँ र ललितपुरमा यी दुई दलले पाएको मतका आधारमा यिनीहरुप्रति जनताको रुचि रहेको निर्वाचन परिणामले देखाएको छ। थ्रेसहोल्डको पनि बाध्यता छ। अहिले साना दलहरु मिल्नैपर्ने दबाब पनि छ। यो क्रममा साझा र विवेकशील छिट्टै मिले। यो त सकारात्मक नै हो।

स्थानीय चुनावकै कुरा गर्ने हो भने काठमाडौँमा नेपाली कांग्रेस मेयरमा पराजित हुनुको मुख्य कारण साझा र विवेकशीलका उम्मेदवारी नै रहेको परिणामले देखायो। यो प्रजातान्त्रिक अभ्यास नै हो कि दलहरु बेला बेलामा शक्तिशाली बन्छन्, बेला बेलामा कमजोर पनि बन्छन्। त्यो सबै ती दलहरुले उठाउने मुद्दा, बोक्ने विचार, देखाउने आचरण र व्यवहारले पनि प्रभावित हुन्छ। चुनावी परिणामले प्रजातान्त्रिक कित्ताको भोटरमा उनीहरुको बढी प्रभाव पर्ने संकेत त देखायो।

विवेकशील र साझा मिल्दैमा ठूला दलहरुको विकल्प बनिहाल्छन्, ठूला दलहरु सिद्धिहाल्छन् भन्ने चाहि होइन। तर उनीहरुलाई चुनौति थपिन्छ। काठमाडौँ महानगरको चुनावी परिणाम त्यसको ताजा उदाहरण। तर अहिले नै साझा र विवकेशील मिले भन्दैमा उनीहरुले कांग्रेस, एमाले जस्ता ठूला र पुराना दलहरुलाई विस्थापित गरिहाल्छन् भन्न सकिँदैन। किनभने ठूला दलहरुको बेस बलियो छ। उनीहरुको देशव्यापी नेटवर्क छ।
साझा र विवेकशील एकतापछि शक्तिशाली बन्लान्। तर समय लाग्छ, उनीहरु पनि ठूला बन्लान्, विकल्प पनि बन्न सक्लान्। तर अहिले ठूला दलहरुको ठूलो प्रभाव छ। उनीहरुको जग नै बलियो छ। देशभरी संगठन छ, कार्यकर्ता  छन्, समर्थक जनताको ठूलो हिस्सा छ। त्यसैले साझा र विवकेशील मिले, अब विकल्पमा नयाँ दल आइहाल्यो भन्ने होइन। तर अब जनताले अरु दललाई पनि छनौट गर्ने मौका पाउन थाले। यो चाहिँ ठूला दललाई एउटा च्यालेन्ज पनि ह । राम्रो गर्न सकेन भने जनताले समर्थन नगर्न पनि सक्छन् है भन्ने चेतावनी जस्तो पनि हो।

सैद्धान्तिक रुपमा त नेपालका सबै दल उस्तै उस्तै हुन्। यहाँ कुनै वादको कुरा छ भने त्यो लोकतान्त्रिक गणतन्त्रको मात्रै छ। किनभने अब यो बटमलाइन भन्दा दायाँ बायाँ वा वरपर गर्न सक्ने त दल नै हुँदैन। विवेकशील र साझाको मात्रै होइन, सबै दलको सैद्धान्तिक धरातल र लाइन लोकतान्त्रिक गणतन्त्र नै हो। किनभने त्यो संविधानले स्पष्ट गरिसकेको व्यवस्था हो।

कुनै पनि पार्टीको सैद्धान्तिक धरातल मात्रै महतवपूर्ण कुरा होइन। त्यो दलले बोक्ने विचार र कार्यक्रम भन्दा पनि आचरण र व्यवहार निकै महत्वपूर्ण हुन्छ। परम्परावादी आचरण, व्यवहार, संस्कर र थिति, पद्धति र अभ्यासमा नयाँ पार्टीहरु कसरी फरक देखिन्छन् भन्ने कुराले पनि उनीहरुको प्रभाव विस्तारलाई प्रभावित पार्ने गर्दछ।

कुन मुद्दामा उनीहरु कसरी प्रस्तुत हुन्छन् भन्ने पनि महत्वपूर्ण पक्ष हो। परिवर्तन के के आधारमा ? नयाँ कुन कुन कारणहरुले ? अरु दल भन्दा उनीहरुको कार्यक्रम र व्यवहार कसरी फरक छ भन्ने देखिने गरी अगाडि आउनुपर्छ।

हाल एकीकृत भएका साझा र विवेकशील दलबीच सैद्धान्तिक रुपमा फरक धारणा छ भन्ने मलाई लाग्दैन। सिद्धान्त मिलेरै एकता हुने हो। उनीहरु अहिले गठबन्धनमा लागेको होइन। एकीकरणमा नै गएका हुन। एकीकरण भनेकै सबै कुरा मिलेको भन्ने नै हो। कोही लेफ्ट, कोही सेन्टर, कोही राइट भन्ने नै हुदैन नि मिलिसकेपछि त। सेन्टर, राइट वा लेफ्ट भैरहेका भए त एकीकरण नै हुन संभव हुने थिएन। एकीकरण भैसकेपछि खास भिन्नता होला उनीहरुभित्र भन्ने लाग्दैन।

हालसालैका मुद्धाहरुमा साझा र विवेकशील दलका नेताहरुका धारणा सार्वजनिक नहुनु उनीहरु बलियो भैनसकेका कारण पनि हुन सक्छ । देश र जनताका मुद्धाहरुमा बोल्लान् नि क्रमशः। पहिले पार्टी बन्ने चरणमा नै छन् अहिले त उनीहरु। पार्टी बन्न धेरै समय लाग्न सक्छ उनीहरुलाई। पार्टी निर्माण जटिल र निरन्तर प्रक्रिया हो । यो रातारात ठूलो र शक्तिशाली हुन सक्दैन।

खासगरी पहिलो चरणको चुनावमा उपत्यकामा राम्रो मत पाएका साझा र विवेकशीलका उम्मेद्धवारहरुले उपत्यका बाहिर दोस्रो चरणमा राम्रो मत पाउन सकेनन्। यसैले देखाउँछ उनीहरुको शक्ति बढ्न समय लाग्छ है भन्ने कुरा। यो जनमत भन्ने सधै स्थिर पनि भैरहँदैन। कहिले माथि कहिले तल भैरहेको हुन्छ। उनीहरुले उपत्यका बाहिर काठमाडौँमा जत्तिकै मत हासिल गर्न नसक्नुमा उनीहरु पार्टी बनि नसकेकोले पनि हो। उनीहरुले जनतालाई आफूतिर आकर्षित गर्ने नारा, नीति तय गर्न नसकेका कारण पनि हुन सक्छ। सबै ठाउँमा सधै एउटै दलले उस्तै प्रकारको मत पाइरहन्छ भन्ने ग्यारेन्टी हुँदैन। 

साना वा नयाँ दलहरु मिल्नु राम्रो त हो नै । तर उनीहरु मिल्दैमा पुराना र ठूला दलहरु विस्थापित भैहाल्छन भन्ने होइन। देशव्यापी प्रभाव बनाउन नयाँ दललाई समय लाग्छ। त्यसैले अहिले साझा र विवेकशील मिलेकै भरमा अरु दल हराउदै जान्छन भन्ने होइन।

साझा र विवेकशीलको एकताले नयाँ शक्तिलाई पनि समेट्न सक्छ वा सक्दैन भन्ने अहिल्यै अनुमान नगरौं। हालसालै संघीय समाजवादी फोरमसँगको एकतामा नयाँ शक्ति सफल भएको देखिएन। नयाँ भन्दैमा मिलिहाल्लान् भन्न पनि सकिँदैन। नमिल्लान भन्ने पनि होइन। तर उनीहरुको पृष्ठभूमिले पनि प्रभाव पारिरहेकै हुन्छ।

कुनै पनि दल कति टिक्छ, प्रभावकारी हुन्छ भन्ने कुरा उसले उठाउने मुद्दा , आर्जन गर्ने जनविश्वास र देखाउने आचरणमा नै निर्भर हुन्छ। किनभने जनताले सबै दललाई राम्ररी हेरिरहेका हुन्छन्। अहिले जो दल जनतामुखी भएर जनतासँग नजिक हुन्छ, जनताको भावनाको असली प्रतिनिधित्व गर्दै अघि बढ्छ, उसको राजनीतिक भविष्य दीगो हुन्छ।

(विश्लेष्क तथा पत्रकार दाहालसँग सूर्य खड्काले गरेको कुराकानीमा आधारित)




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell