PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'भारत र चीन युद्धमा गइहाल्ने स्थिति छैन, मिडिया वार मात्रै हो'



'भारत र चीन युद्धमा गइहाल्ने स्थिति छैन, मिडिया वार मात्रै हो'
idrw.org

  • डा. जयराज आचार्य, परराष्ट्रविद् -
हाम्रा दुई महान छिमेकी भारत र चीनबीच अहिले देखिएको दोक्लम विवादले खासै असर परिहाल्छ जस्तो मलाई चाहिं लाग्दैन। मिडियामा जुन स्तरको बहस भैरहेको छ र युद्ध हुनै आँट्यो भन्ने जस्तो संचार भैरहेको छ, त्यो वास्तविकता होइन भन्ने मलाई लाग्छ। मिडियाको काम त विषयवस्तुलाई अलिकति सेन्सेन्लाइज गर्ने नै हुन्छ। भारत वा चीनका मिडियाहरुले जे जस्तो प्रचारबाजी गरिरहेका छन्, त्यो मिडिया हाइप मात्रै हो भन्ने मलाई लाग्छ।
 
भनाई नै छ नि कुकुरले मान्छे टोक्यो भने न्यूज बन्दैन, मान्छेले कुकुर टोक्यो भने ठूलो न्यूज बन्छ। भारत वा चीनका मिडियाहरुमा देखिएको भारत चीनको संभावित युद्ध पनि त्यही मिडिया वार मात्रै हो भन्ने मलाई लाग्छ। अलिकति बढाई चढाई गरेर विषयवस्तुको प्रस्तुत गर्नु त मिडियाको कामै भयो। चिनियाँ मिडियाका सम्पादकीयहरु अलि कडा रुपमा आएको पनि उसले तर्साउन खोजेको मात्रै हो। चिनियाँ मिडियाको भनाई नै चीन सरकारको भनाई भनिहाल्न सकिदैन। भनिहाल्नु पनि हुँदैन। भारतीय मिडियाले चीनले अति गर्‍यो भनेर गरिरहेका प्रचारबाजी पनि यथार्थपरक होइन। भारतीय मिडियाहरुको आफ्नै शैली छ। उनीहरु सानो कुरालाई पनि ठूलो बनाएर प्रस्तुत गर्छन्। मिडियाहरुले कठोर कुरा लेख्छन्, भन्छन्, त्यो मिडियाहरुको आफ्नो कुरा हो। तर राज्य वा सरकार स्तरमा नै त्यस प्रकारको कटुता भारत र चीनका बीचमा अहिल्यै आइसकेको छैन।


युद्ध भइहाल्दैन 

हाम्रा दुई छिमेकी भारत वा चीन आपसमा तनावपूर्ण अवस्थामा रहनु नेपालको लागि स्वभाविक रुपमा चिन्ताको विषय हुन जान्छ। तर अहिलेको परिस्थितिमा नै भारत र चीन आपसमा युद्धमा ओर्लिहाल्छन् भन्ने मलाई विश्वास छैन। तनावहरु बेला बेला हुन्छन् नै। तनावरहित छिमेक सम्बन्ध भएको राम्रो हो। तर सँधै त्यस्तै तनावरहित अवस्था मात्रै पनि भैरहँदैन। भूगोल, जनसंख्या, आर्थिक तथा प्रविधिको विकास सबै दृष्टिकोणले भारत र चीन विशाल छन्। उनीहरुलाई आआफ्नो विशाल प्रभाव बाँकी विश्वमा झन् बढी फैलाउनु छ।

मानौं कथंकदाचित भारत र चीन बीच युद्ध नै सुरु भैहालेछ भने पनि उनीहरुले त्यसलाई छिटै नै टुंग्याउनेछन्। तर अहिले त युद्धमा गैहाल्छन् भन्ने नै छैन। भारत र चीनले आजसम्म जे जे गर्दै आएका छन्, त्यो उनीहरुले आआफ्नो देशको राष्ट्रिय हितलाई सर्वोपरी ठानेर मात्रै गर्ने गरेका छन्। उनीहरुलाई एक अर्काको महत्व, सम्बन्धका विविध आयामहरु र वर्तमान समयका चुनौतिहरुको राम्रो जानकारी छ। त्यसैले यो तनाव विस्तारै मत्थर हुदै जान्छ भन्ने मलाई लाग्छ।

दोक्लममा चीनले सडक विस्तारको काम थालेसँगै विवाको थालनी भएको भनिएको छ। आर्थिक विकासमा दुबै देश बीच आपसी प्रतिष्पर्धा भैकन पनि सहकार्य पनि भैरहेको छ। उनीहरुलाई आआफ्नै गतिमा शक्तिशाली र विकसित बन्नुपर्ने होड पनि छ। उनीहरु बीच एउटा कारणका आधारमा नै युद्धमा गएर बाँकी सम्बन्धहरुमा समस्या पैदा गर्ने चाहना भएजस्तो मलाई लाग्दैन। युद्ध हुनुपर्ने खास-खास कारणहरु हुन्छन्। अहिले भारत चीन युद्धको आधार, कारण वा समय होइन।
 
भारत र चीनका भौगोलिक सीमाका समस्या उनीहरुका सम्बन्धका तुलनामा साना हुन्।  दोक्लममा चीनले बाटो बनाउन सुरु गरेको हो भने उसले बनाएरै छाड्छ। त्यो कसैले चाहेर रोकिएला जस्तो लाग्दैन। त्यो सीमाको विवाद त सामान्य नै हो। त्यस्ता विवादहरु उठिरहन्छन्, समाधान पनि हुँदै जान्छन्।

दुई देशबीच युद्ध भैदियोस् भनेर चाहनेहरु होलान नि। भारतभित्रै पनि होलान्, चीनमा पनि होलान्। तर सरकार चाहे भारतको भन्नोस् वा चीनको, अहिले आपसमा लडाईं झगडा गरेर अरु चुनौति र सम्भावनाहरुलाई ओझेलमा पारेर उल्झिने खालका छैनन्। उनीहरुका लागि त्यो भन्दा बढी महत्वका अन्य कैयन प्राथमिकताका विषयहरु छन्। स्थिति तनावग्रस्त भयो भन्दैमा युद्ध भैहाल्ने होइन। वार्ता हुन्छन्, वार्ताबाटै उनीहरुले आएका समस्याको समाधान खोज्छन भन्ने नै मेरो विश्वास हो।

नेपालले वार्तामा नै जोड दिनुपर्छ

हाल दुई महान छिमेकी भारत र चीन बीच देखिएको विवादको सिधा असर नेपालमा तुरुन्तै परिहाल्छ भन्ने छैन। खास असर केही पर्दैन। मलाई लाग्छ अहिले नेपाल सरकारले केही भनिरहेको पनि छैन। सरकारको धारणा कतै सार्वजनिक भएको जस्तो मलाई लाग्दैन।

कुटनीतिमा मौनता पनि एक खालको पोलिसी नै हो। अहिले भारत र चीनको तनावबारे सरकार नबोलेर बेठीक गर्‍यो भन्ने पनि होइन। किन भने बोलिसकेपछि त्यो गोली बराबर हुन्छ। बोल्दा निकै होस पुर्‍याएर मात्रै बोल्नुपर्छ। अहिल्यै नेपाल भारत चीनको मामलामा बोलिहाल्नुपर्ने स्थिति पनि देखिएको छैन।

कसैले सोध्यो र नेपाल बोल्नै पर्ने नै भयो भने पनि नेपालले दिने जवाफ सन्तुलित हुनुपर्छ। हाम्रा दुई महान छिमेकी भारत र चीनले आपसी वार्ताद्वारा यो तनावको स्थिति समाधान गर्नेमा नेपाल विश्वस्त छ भन्ने नै नेपालको प्रतिक्रिया हुनुपर्छ। नेपाल आफैमा सानो देश हो। नेपालले उनीहरु बीच कसैको पक्ष र विपक्षमा उभिने कुरा आउँदैन। साना देशले ठूला देशको तनावका बेला वार्ताका लागि आग्रह गर्ने, जोड दिने र तटस्थ भुमिका देखाउने काम गर्नुपर्दछ।

भारत वा चीनमुखी होइन, नेपालमुखी नीति

नेपाल भारत र चीनको तुलनामा सानो देश हो। तर यो आफैमा सार्वभौमसम्पन्न देश पनि हो। नेपालमा कोही भारतमुखी हुनुपर्छ भन्छन् वा अरु कसैले नेपाल चीनमुखी हुनुपर्छ भन्छन् भने त्यो त बेवकुफी मात्रै हो। नेपाल कहिल्यै पनि भारत वा चीनमुखी होइन, सँधै नेपालमुखी हुनुपर्छ। 
हामी जस्ता साना र विकसित देशले सधै हेर्ने राष्ट्रिय हित मात्रै हो। भारत र चीनले जुन विकास गरेका छन्, आर्थिक सम्वृद्धि हासिल गरेका छन्, त्यो सबै उनीहरुले राष्ट्रिय हित हेरेर मात्रै अघि बढेको परिणाम हो नि। हामीले पनि छिमेकीबाट सिक्ने भनेको राष्ट्रिय हित कसरी हुन्छ भन्ने नै हो। नेपाललाई भारत वा चीनको कित्तामा उभ्याउन खोज्ने कोही कसैको प्रयास छ भने त्यो गलत हो। त्यस्तो बेवकुफी गरिनु हुँदैन।

यो वर्तमान सत्तासमीकरण पनि दक्षिणी डिजाइनमा बनेको भन्ने तर्कसँग म सहमत छैन। कुनै देशले चाहेर यहाँ सत्ता गठबन्धन बन्यो भन्ने मलाई लाग्दैन। यो त नेपालको हाम्रो बाध्यात्मक अवस्थाको उपज हो भन्ने मलाई लाग्छ। हामीले कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने खालको जुन संवैधानिक मेकानिज्म बनाएका छौं, त्यसैको कारण यो सरकारको ढाँचा बनेको हो भन्ने मलाई लाग्छ। यो सरकार आन्तरिक कारणले बनेको हो भन्ने मलाई लाग्छ।

हामीले यो समानुपातिक चुनाव प्रणालीको जुन संवैधानिक व्यवस्था गरेका छौं, यो हाम्रो लागि बेठीक अभ्यास हो । तर त्यसलाई हामीले संविधानमा नै राखिसक्यौं। बढी जान्ने भएर यो गलत अभ्यासमा गएका कारण परिस्थितिले संयुक्त सरकारको अवस्था सृजना गरिदिएको हो।

आत्मानिर्भरतामा छिमेक सहयोग नीति

भारत वा चीनको अहिलेको तनावबाट मात्रै होइन, उनीहरुको विकास र आर्थिक समुन्नतीको प्रभावबाट नेपालले सिक्ने भनेको आत्मनिर्भरता र विकास हो । आर्थिक, समाजिक रुपमा हामी आफ्नो खुट्टामा उभिने हुन नसकुन्जेल हामीले छिमेकीको विकास र प्रगतिबाट सिक्ने हो । उनीहरुबाट धेरै भन्दा धेरै लाभ कसरी लिने भनेर सन्तुलित छिमेक सम्बन्ध कायम गर्ने हो । हामीले छिमेकीको सदासयता, सहायत र विश्वास पनि लिने तर आफ्नै मेहनेतमा देश बनाउनेमा ध्यान दिनुपर्छ । जबसम्म हामी आफ्नै मेहनेतमा देशलाई विकसित गर्न सक्दैनौं हामी अघि बढ्न सक्दैनौं ।

अहिलेको भारत चीन तनावबाट नेपालले सिक्ने भनेको सावधानीको पाठ पनि हो । के गर्दा तनाव आउने रहेछ भनेर विचार पुरयाउने हो । तनाव आउन नदिने तर्फ नेपाल सचेत हुने हो । 

हाम्रा लागि भारत वा चीन एक नजिक र अर्को टाढा हुने स्थितिको कल्पना पनि गर्न सकिन्न । नेपाल भूबनोट र अन्य कैयन कारणले दबै देशका लागि अति संवेदनशील छिमेकी हो । उनीहरुलाई कुनै कुरामा पनि चिढ्याउने वा दुखाउने कोशीस हामीबाट हुनु हुँदैन।

हामीले सिक्ने विकास हो दुबै छिमेकीबाट । उनीहरुको विकासबाट हामीले पनि आफू विकसित हुने हो। विकास बिना हामी बलियो र असल छिमेक बनिरहन पनि सकिदैन । दुबै देश नेपाललाई सहायता गरिहेका छिमेकी देश पनि हुन्। अब थप सहायता कसरी लिने, लाभका क्षेत्रहरु के के हुन, नेपालको हित कसरी हुन्छ भनेर नेपाल संतुलित छिमेक नीतिमा नै अघि बढ्नुपर्छ।

आधारभूत कुरामा हामी आफैं अग्रसर हुनुपर्छ, छिमेकीको मुख ताकेर हुदैन । सरसफाई, बाटोघाटो, सडक आदिका बारेमा हामी राजधानीलाई समस्यामुक्त राख्न नसक्नेले छिमेकीलाई दोष दिने वा मुख ताक्ने गरेर हुदैन । अहिलेको भारत र चीनको तनावमा हामी किन पर्ने, वीचमा रहेर दुबै देशलाई वार्ताद्वारा समस्या समाधानका लागि घच्घच्याउने मात्रै हो। त्यही विश्वासका साथ विकासमा केन्द्रित हुनु नै नेपालको हितमा हुनेछ।

(परराष्ट्रविद आचार्यसँग पहिलोपोस्टका सूर्य खड्काले गरेको कुराकानीमा आधारित)


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell