PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेसको भागवण्डा विवादले मन्त्रिपरिषद विस्तार अनिश्चित



रमेश वाग्ले

कांग्रेसको भागवण्डा विवादले मन्त्रिपरिषद विस्तार अनिश्चित
फाइल फोटो

काठमाडौंः नेपाली कांग्रेसभित्रको भागवण्डा विवादले मन्त्रिपरिषद विस्तार अनिश्चित भएको छ। आज साँझ पाँच बजेका लागि मन्त्रीहरुको सपथ कार्यक्रमका लागि तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीभित्रको भागवण्डा मिलाउन असफल भएपछि रोकिएका हुन्।

विहानैदेखि प्रधानमन्त्री देउवा र उनीपक्षका पक्षका नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए भने पौडेल पक्षहरु गोप्य रुपमा छलफलमा जुटेका थिए। तर मन्त्रीको संख्या र विभागमासमेत सहमति नहुँदासम्म मन्त्री नदिने पौडेल पक्षको अडानपछि मन्त्रिपरिषद विस्तार नै स्थगित भएको हो। 

पौडेल पक्षले केन्द्रीय समिति र महाधिवेशनमा प्राप्त मतमा आफू ४० प्रतिशत भन्दा माथि रहेको भन्दै पौडेल पक्षले कांग्रेसले पाउने १३ मध्ये ६ मन्त्रालय आफूले पाउनुपर्ने दावी गर्दै आएको छ। 

गत जेठ २४ मा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खाएकै दिन पौडेल पक्ष र देउवापक्षबीच विवाद सुरुभएको थियो। त्यही विवादका कारण पौडेल पक्षले सपथग्रहण समारोह नै बहिस्कार गर्ने  चेतावदी दिएपछि देउवाले मनाएका थिए। 

देउवाले त्यसवेला आफ्नो पक्षबाट तीन मन्त्री बनाउँदै गर्दा पौडेल पक्षसँग एक मन्त्रीको नाम माग्दा पौडेल पक्ष भड्किएको थियो। पछि पौडेल पौडेलको अडान अनुसार दुईजनाको नाम लिन सहमत भएपछि सपथ ग्रहण समारोहमा पौडेलसहित उनीपक्षीय नेताहरु सहभागी भए। 

त्यसवेला पौडेल पक्षले दुई दिनपछि सपथ खुवाउने गरी केन्द्रीय सदस्य तथा सांसद्हरु बलबहादुर केसी र रामकृष्ण यादवको नाम सिफारिस गरेको थियो। ‘दुई दिन पछिसपथ हुने भनेर हामी दुईजनाको नाम दिइएको थियो तर, त्यो दुई दिन दुईमहिना हुन लाग्दासमेत आएको छैन’ नाम सिफारिस भएकै एक नेताले भने, ‘अहिले उहाँहरु चार र पाँच मन्त्रधीको झगडामा फस्नुभएको छ।’

देउवा पक्षले चार र पौडेल पक्षले कम्तिमा पनि पाँच मन्त्रालय लिने दावीका कारण विवादमा फसेका प्रधानमन्त्रीले पौडेल पक्षलाई पाँच दिने सहमति जनाउन नसक्दा मन्त्रिपरिषद विस्तार नै रोकेका छन्। त्यही कारण डेढ महिनापछि हुन लागेको मन्त्रीपरिषद विस्तार फेरि अनिश्चित भएको छ।   

‘आज मन्त्रिपरिषद विस्तार स्थगित भएको छ। भोलि १८ जना मन्त्रीहरुको एकसाथ सपथ हुने छ’ कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘त्यसपछि मन्त्रीपरिषद विस्तारको विषय तत्कालका लागि टुंगिने छ।’ उनले आज मन्त्रिपरिषद बिस्तार किन भएन भन्ने खुलाएनन्। 
गत जेठ २४मा गठन भएको मन्त्रिपरिषद विभिन्न कारणले विस्तार हुन सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell