PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

थाइल्याण्ड गएर पदक ल्याउने बुद्धिबहादुरको धोको अधुरै



थाइल्याण्ड गएर पदक ल्याउने बुद्धिबहादुरको धोको अधुरै

  • नारायण ढुंगाना 
चितवन :  थाइल्याण्डमा १६ देशबीच हुन लागेको तेक्वान्दो प्रतियोगितामा नेपालको नाम राख्ने धोको थियो चितवनको विकट गाउँ कान्दाका एक्लो चेपाङ बुद्धिबहादुरको। 

त्यही लक्ष्य बोकेर उनी काठमाडौँमा कडा मेहनतका साथ प्रशिक्षणमा थिए । दुर्भाग्य असार अन्तिम हप्ता प्रशिक्षण कै क्रममा लड्दा आफ्नै जीउले थिचेर उनको कुहिनो खुस्कियो।

‘प्रशिक्षण चलिरहेको थियो, म्याटमा चिप्लिएर लडें,‘ तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक अशोक खड्काले भने,‘बडो उत्साहका साथ पदक ल्याउँछु भन्दै थियो, सबै सपना चकनाचुर भयो।’

उनले थाइल्याण्डमा खेल्न नसक्ने भएपनि अब अर्को दुई महिनापछि मलेसियामा हुने खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पठाउने योजना रहेको बताए। चार हप्ता आराम गरेपछि भने उनको चोट निको हुने चिकित्सकलाई उद्धृत गर्दै खड्काले बताए। देब्रे हातमा चोट लागेका उनी अहिले आराम गरिरहेका छन्। 

उनीसँगै मलेसियामा हुने खेलमा थप दुईजना चेपाङ खेलाडी पठाउने योजना रहेको गाउँमै पुगेर चेपाङलाई प्रशिक्षण गराउँदै आएका छन्। ‘ठीक भएसी फेरि खेल्छु,’ बुद्धि बहादुरले भनेँ।

पहिले ३२ केजीको थिएँ। विभिन्न अभ्यास गराएर बुद्धिबहादुरको दुई केजी तौल घटाइयो। अनि बल्ल खेलमा सहभागी हुने मौका मिलेको उहाँका लागि चोट दुर्भाग्य बनेर आयो। 

जंगलमा घाँस दाउरा गर्ने, गिठ्ठा, भ्याकुर र जंगली च्याउ खोज्ने अनि खाने चलन चितवनको विकट चेपाङ गाउँमा अझै छ। त्यही संस्कारबाट हुर्किएका हुन् चितवनको विकट कान्दाका १३ वर्षीय बुद्धिबहादुर।

पछिल्लो समयमा गाउँमा लक्ष्मी प्रतिष्ठानले एउटा अभियान नै चलाएपछि उनीहरुको जीवनमा परिवर्तन हुन थाल्यो। फलतः अहिले उनी कक्षा ६ मा पढ्ने भए।

त्यतिमात्रै होइन उनी होनहार तेक्वान्दो खेलाडी बनेर उदाउँदै थिए । साउन महिनाको २० देखि २४ गते थाइल्याण्डको बैंककमा हुने ‘थर्ड हिरोज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप’मा जाने नेपालका नौमध्ये उनी एक्ला चेपाङ थिए। 

यसअघि उनले भनेका थिए,‘थाइल्याण्डमा गेम खेल्ने, नेपालको, चेपाङको र प्रतिष्ठानको नाम राख्ने।’ केही न केही पदक ल्याउने योजनाका साथ काठमाडौँमा रहेको नेप्लीज तेक्वान्दो एकडेमीमा सिक्न गएका थिए। चोटका कारण थाइल्याण्डमा त सहभागी नहुने भए। तर अरु खेलमा भने सहभागी गराउने प्रतिष्ठानका कृष्ण गौतमले बताए। 

केही वर्ष अघिसम्म जंगली गिठ्ठा खोजेर नल्याए बेलुकी भोकै सुत्नु पथ्र्यो उनको गाउँमा। तर अहिले यस्तो अवस्थाका अति सीमान्तकृत जाति चेपाङ विदेशमा खेल्ने मौका पाउनु नेपालकै गौरवको कुरा भएको प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले बताए।

उनलाई प्रशिक्षण दिन अन्तर्राष्ट्रिय प्रशिक्षक अशोक खड्कालगायतको समूह सक्रिय छ। ‘बुद्धिबहादुर निकै टाठो छन्,’ प्रशिक्षक खड्काले भने,‘अलिकति प्राविधिक समस्या देखिएको छ, हामी सिकाउँदै छौँ।’ खड्काका अनुसार बुद्धिले विदेश गएर राम्रै प्रस्तुति देखाउँछ भन्ने विश्वास प्रशिक्षकहरुलाई छ। 

कान्दा डोजाङमा आबद्ध बुद्धिबहादुरसँगै अहिले ६० जना चेपाङ तथा तामाङले तेक्वान्दो सिक्दैछन्। उनीहरुबाट थाइल्याण्डमा हुने प्रतिस्पर्धामा बुद्धिबहादुर छनोट भएका हुन्। अन्तर्राष्ट्रिय प्रशिक्षक अशोक खड्काका चेला हुन् सुमन दाहाल।

दाहालकै सम्पर्कबाट एकेडेमीमार्फत नै बुद्धिबहादुर थाइल्याण्डमा १६ देशका खेलाडीसँग ३० केजी उमेर समूहको भिडन्तमा सहभागी हुन लागेका थिए। आठ महिनादेखि तेक्वान्दो सिक्दै आएका उहाँ छोटो समयमै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट हुनु महत्वपूर्ण हो। 

कान्दामा चेपाङसहित ६० जना तेक्वान्दो सिक्दै 

विकट कान्दाका ६० जना बालबालिका तेक्वान्दो सिक्दै छन्। उनीहरुमध्ये अधिकांश चेपाङ छन्। केही तामाङ र गुरुङ छन्। 

लोथर गाविसको विकट गाउँ कान्दामा स्थापना भएको कुमार बलराम स्मृति छात्राबासमा बसेर उनीहरु खेल खेल्छन् र अध्ययन गर्छन्। 

विषालु च्याउ खाएर एकै परिवारका आठ जनाको मृत्यु भएपछि लक्ष्मी प्रतिष्ठानले कान्दा रुपान्तरण अभियान सुरु गरेको हो। प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले आफ्ना छोरा कुमार र बलराम गौतमको सवारी दुर्घटनामा निधन भएपछि उनीहरुको सम्झनामा यहाँ कान्दा रुपान्तरण अभियान थालेका थिए। 

यसपटक जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा मनिषा, सन्तबहादुर चेपाङ तथा विनोद मोक्रा तेस्रो हुन सफल भए। प्रतिष्ठानले यहाँ अहिले चेपाङको घर निर्माण, खाना व्यवस्थापन, आयआर्जन तथा उनीहरुको सामाजिक सचेतनामा अभियान चलाउँदै आएको छ। यहाँ नमूना छात्राबास निर्माण गरेर गाउँका १२३ बालबालिका नियमित स्कूल जान थालेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell