PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गृहमन्‍त्रीले भने, 'परिचयपत्रमा आमामात्र हैन, हजुरआमाको पनि नाम छ, भ्रममा नपर्नुस्'



गृहमन्‍त्रीले भने, 'परिचयपत्रमा आमामात्र हैन, हजुरआमाको पनि नाम छ, भ्रममा नपर्नुस्'

काठमाडौँ : गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भनी प्रकाशित समाचार सही नभएको बताएका छन्। 

संसदमा सम्बोधन गर्दै गृहमन्त्री शर्माले भने, 'समाचार भ्रामक हो। आमाको मात्र हैन, परिचयपत्रमा हजुरआमाको पनि नाम छ। यसरी गलत समाचार सम्प्रेषण नगर्न म विनम्र अनुरोध गर्छु र सत्यतथ्य समाचारका आधारमा विषय प्रवेश गराउन सांसद्को ध्यानाकर्षण गराउन चाहन्छु।

कान्तिपुर राष्ट्रिय दैनिकले साउन ७ गते आमाको नाम नराखिएको र देशको नाम पनि गलत राखिएको बारे समाचार प्रकाशन गरेको थियो। यसबारे हिजोको बैठकमा सांसदहरु कुन्ती शाही र शान्ता मानवीले बोलेका थिए। 

'२०७४ असार ८ मा परिचयपत्रको ढाँचा पारित भइसकेको छ। बाबुको भन्दा आमाको नाम पहिलो नम्बरमा छ। यसमा भ्रम नपाल्नुस्', उनले भने।

यस विषयमा हिजो गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय परिचयपत्रको नमूना पनि समावेश भएको उनले जानकारी दिए।

 

महिला हिंसा कलंक
उनले महिलाविरुद्धको हिंसाका घटनालाई  मानव सभ्यताको कलंक बताए। 'परिवार र समाजमा भइरहे्का यस्ता मानवताविरोधी घटना पूर्ण रोकथाम भएका छैनन् । यो चासो र चिन्ताको विषय हो', उनले भने, 'पर्याप्त कारबाहीका कानुनी व्यवस्था भएपनि घटना रोकिएका छैनन्। दैलेख रुकुम, गुल्मी लगायतका घटनामा कारबाही हुने र सरकारको ध्यानाकर्षण भएको छ।'

'घाइतेलाई उपचार र सामाजिक पुनर्स्थापनाको काम राज्यले गरिरहेको छ। दोषीमाथि कारबाही हुन्छ' गृहमन्त्रीले भने, 'अब महिलाविरुद्धको हिंसामा विशेष सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ।'

सिन्धुपाल्चोकको पहिरोबारे
गृहमन्त्री शर्माले सिन्धुपाल्चोकको लार्चा पुलको रिपोर्ट प्राप्त गर्ने वित्तिकै बेलिव्रिज लगायतको व्यवस्था हुने बताए। आवागमनलाई तत्काल सुचारु गर्नका लागि सरकार सचेत रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell