PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फोटोमा हेर्नुस् सन्दीपको ७ विकेट, रिजनको डेब्यु, नेपालको चौथो जित

फोटोमा हेर्नुस् सन्दीपको ७ विकेट, रिजनको डेब्यु, नेपालको चौथो जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सिंगापुरमा भइरहेको आइसीसी यू-१९ विश्वकप एसियन क्षेत्रको छनोट अन्तर्गत सोमबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो।

पाँचौ खेलमा पनि नेपालको ब्याटिङमा समस्या निर्नतर हुँदा बलिङमा भने प्रदर्शन उत्कृष्ट रहयो। कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए। सन्दीपले ५ विकेट झारेको यो तेस्रो खेल हो। यसअघि सिंगापुर र मलेसिया विरुद्धको पहिलो चरणको खेलमा पनि सन्दीपले ५/५ लिएका थिए।

अहिलेसम्म खेलेका ५ खेलमा कूल २३ विकेट लिदै सर्वाधिक विकेट लिनेको शीर्ष स्थानमा छन्। सन्दीपले मलेसिया विरुद्ध ९.१ ओभर बलिङ गर्दा एक मेडन राख्दै मात्र १३ रन खर्चेर ७ विकेट झारे।

यसै खेलमार्फत रिजन ढकालले डेब्यु गरे। ढकालले पनि डेब्युमै १ विकेट लिन सफल भए। उनले ५ ओभर बलिङ गर्दा एक मेडन राखेर १५ रन खर्चे।

विकेटकिपर ब्याट्सम्यान तथा ओपनर आसिफ शेखलाई ड्रप गर्दै आजको खेलमा रिजललाई खेलाइएको थियो।

शहाब आलमले पनि २ विकेट लिए।

नेपालको घातक बलिङ सामु टिक्न नसकेको मलेसिया ३५.१ ओभरमा ८९  रनमा अलआउट भयो। मलेसियाका लागि साइद खजिजले सर्वाधिक ४६ रन बनाए।

रोहित कुमार पौडेलको नटआउट ३५ तथा दीपेन्द्र सिंह ऐरीको १९ रनको मद्दतमा नेपालले २२.२ ओभरमा ५ विकेट गुमाएर जित हात पार्‍यो। पाँच खेलमा नेपालको यो चौथो जित हो। नेपालले अफगानिस्तानसँगको खेल भने हारेको थियो।

आजको खेलमा पनि ब्याटिङमा पूरानै समस्या कायम रहदा नेपालले ४० रन जोड्दा ५ विकेट गुमाइसकेको थियो। सन्दीप सुनार (१५), अनिल कुमार शाह (१२), प्रनित थापा मगर (८) रनमा आउट भए भने आदिल खान र प्रकाश केसीले खाता समेत खोल्न सकेनन्। तर छैटौँ विकेटका लागि ऐरी र पौडेलले नटआउट ५२ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए।

नेपालले अब अन्तिम खेल मंगलबार अफगानिस्तानसँग खेल्नेछ। अहिलेसम्म खेलेका सबै पाँचै खेल जितेको अफगानिस्तान १० अंकका साथ लिगको शीर्ष स्थानमा छ भने ८ अंकका साथ नेपाल दोस्रो स्थानमा छ।

(फोटोहरु : रमन शिवाकोटी)



ट्रेन्डिङ पोस्ट

Ncell