PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘नेपाल-चीन इन्टरनेट कनेक्टिभिटी’ भदौदेखि, भारतको एकाधिकार अन्त्य हुने



रासस

‘नेपाल-चीन इन्टरनेट कनेक्टिभिटी’ भदौदेखि, भारतको एकाधिकार अन्त्य  हुने

  • सुशील दर्नाल 
काठमाडौँ : मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ। 

नेपाल टेलिकमले आगामी भदौदेखि चिनियाँ इन्टरनेट ब्याण्डविथ पूर्णरूपमा सञ्चालनमा ल्याउने र भारतसँग मात्रै अन्तरनिर्भर रहेको इन्टरनेट सेवालाई बहुपक्षीय मार्गमा लैजान लागेको हो।

नेपालमा इन्टरनेट ब्याण्डविथको पहुँच बढाउने उद्देश्यले चीनसँग भएको सम्झौताअनुसार ‘नेपाल चीन इन्टरनेट कनेक्टिभिटी’ भदौको पहिलो सातादेखि सञ्चालनमा आउन लागेको हो। 

नेपाल र चीनबीच इन्टरनेट कनेक्टिभिटीका लागि २०७३ पुसमा चाइना टेलिकम र नेपाल टेलिकमबीच व्यावसायिक सम्झौता भएको थियो।

इन्टरनेट जोड्नका लागि नेपाल र चीनको सिमाना रसुवाको रसुवागढीसम्म नेपालले अप्टिकल फाइबर विस्तार गरिसकेको छ। 

नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले यताबाट रसुवागढीसम्म अप्टिकल फाइबर विस्तार भइसकेको छ, उता (चीन) बाट पनि सिमानासम्म आइसकेको र परीक्षण पनि भइसकेको जानकारी दिए। उनले भने,‘बीचमा समस्या आयो अब साउनको अन्तिम वा भदौको सुरुदेखि पुनः जोडिँदैछ।’

अधिकारीका अनुसार चीनले करिब २० किलोमिटर वैकल्पिक बाटोबाट सिमानासम्म ल्याएर फाइबर जोड्दै छ। 

नेपालमा इन्टरनेट ब्याण्डविथको पहुँचका लागि चीनमार्फत ब्याण्डविथ कनेक्टिभिटीसम्बन्धी सम्झौता गरिएको निवर्तमान सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको कार्यकालमा सम्पादित मुख्य कार्यअन्तर्गत राखिएको छ। 

अहिले नेपालमा चलेको इन्टरनेट भारतसँग भैरहवा, विराटनगर र वीरगञ्जबाट जोडिएको छ। चीनसँग जोडिने इन्टरनेट पहिलोपटक हो।

हङ्कङ र भारत हुँदै नेपाल आउने इन्टरनेटको तार समुद्रमुनिबाट आएको हुँदा काटिन पनि सक्छ, सहप्रवक्ता अधिकारीले भने,‘कहिलेकाहीँ विविध कारणले सेवा अवरुद्ध हुनसक्छ, त्यसैले जति धेरै ठाउँबाट इन्टरनेट जोडियो त्यति नै सेवा प्रवाह गर्न सजिलो हुने भएकाले चीनसँग सम्झौता गरिएको हो।’

सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले एउटै स्थानबाट इन्टरनेट जोड्दा विभिन्न समस्या हुने भएकाले अर्को ठाउँ (चीन) बाट पनि जोड्ने तयारी गरिएको बताए। 

दुई वर्षभित्रमा गाउँगाउँमा तीव्रगतिको इन्टरनेट सेवा पुर्याउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकारणले अप्टिकल फाइवर विस्तारलाई तीव्रता दिएको छ। 

देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने उद्देश्यले १ नं, २ नं र ३ नं प्रदेशका मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर ओछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई जिम्मेवारी दिएअनुसार काम अघि बढेको टेलिकमको भनाइ छ।

त्यसका लागि टेलिकमले रेडियो उपकरणको विज्ञापन निकालेर काम सुरु गरेको छ। 

त्यसबाहेक चाहिने अप्टिकल फाइवर, डप्टिङ, राउटरलगायत अन्य सामग्री जुटाउनुका साथै सर्भेको काम सकेर विज्ञापन गरिएको छ।

टेलिकमले प्रदेश नं १, २ र ३ का लागि पाँचथरको चिरुभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइवर बिछ्याउनु पर्नेछ। त्यसका लागि दूरसञ्चार र टेलिकमबीच चार अर्ब ८८ करोडको सम्झौता भएको छ। 

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्य चौकी, कृषि केन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायत सबै सार्वजनिकस्थलमा सूचना तथा सञ्चारको पहुँच पुर्याउने उद्देश्यले प्राधिकरणको २०७३ जेठ ३१ को बैठकबाट ग्रामीण दूरसञ्चार विकास कोषको उपयोग गर्ने निर्णय गरेको हो। 

नेपालमा पछिल्लोपटक इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड ५३ लाख ८८ हजार पुगेको छ। गाउँगाउँमा इन्टरनेट पुगेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क गर्ने प्राधिकरणको योजना छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell