PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

 काठमाडौँको एयरपोर्टलाई दुःख दिने टर्किस एयरको ज्याद्रो जहाज नयाँ अवतारमा

काठमाडौँको एयरपोर्टलाई दुःख दिने टर्किस एयरको ज्याद्रो जहाज नयाँ अवतारमा

आकाश क्षेत्री/पहिलोपोस्ट


काठमाडौँ : इस्तानबुलबाट २०७१ फागुन १९ गते उडेको टर्किस एअरलाइन्सको एअरबस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवेमा एकाबिहानै दुर्घटनाग्रस्त भयो। रनवेमा दुर्घटना भएका कारण चार दिनसम्म काठमाडौँ विमानस्थल बन्द भयो।  

दुर्घटना कुनै मानवीय क्षति भएन तर जहाज काम नलाग्ने अवस्थामा पुग्यो। बल्लतल्ल यो जहाजलाई तानेर छेउमा राखियो र विमानस्थल सुचारु गरियो। बीमाबापतको रकम पाएसँगै कम्पनीले जहाजको काम नलाग्ने बडी लिलाम गर्ने सूचना निकाल्यो। 

त्यसलाई किने पाइलट वेद उप्रेतिले। 

त्यतिबेला उनलार्इ धेरैले सोधेका थिए - के गर्छस् यो कवाड? उनी भन्छन्, सबैलार्इ अहिले जवाफ दिँदैछु।

त्यही कवाड जहाजबाट वेदले अहिले तीनकुनेको सरकारी जग्गामा 'एभिएसन म्युजियम' बनाइरहेका छन्। ‘संग्रहालयका जहाजहरुको इतिहास जान्न सकिने छ,’ उनले भने। 

विमानस्थलकै छेउमा निर्माण गरिन लागेको उक्त संग्रहालयमा जहाजका फोटोदेखि नमूनासम्म राखिने छ। अबको ३ महिनाभित्र संग्रहालय तयार हुने उप्रेति अनुमान लगाउँछन्। उनी संग्रहालय विश्वकै नमुना जहाजको संग्रहालय बन्नेमा आशावादी छन्। 

यो उनको पहिलो जहाज संग्रहालय हैन। वेद उप्रेतिले २०७१ सालमा कस्मिक एयरको एउटा पुरानो जहाज खरिद गरेका थिए। असोज २ गते कैलाली जिल्लाको धनगढीमा त्यसलाई उभ्याए। एक करोड मात्र लगानी लगाएर उनले नउड्ने जहाजलाई संग्रहालय बनाए। 

त्यसभित्र जहाजहरुकै इतिहास हेर्न पाइन्छ। जहाज संग्रहालयभित्र नयाँ र पुराना गरेर दुई सय प्रकारका विमानका नमूना राखिएका छन्।
कस्मिक एयरको जहाज सानो थियो। तर यो भने एयरबसको वाइड बडी जेट एयरलाइनर हो। झण्डै दुई सय फिट लामो छ यो जहाज। 



***
सन् १९९६ मा फोटोग्राफर यात्रुलार्इ बोकेर पाइलट वेद उप्रेति सगरमाथातर्फ उडे। यात्रुले सगरमाथाको फोटो खिचिरहेका थिए, त्यतिकैमा जहाज अनियन्त्रित भयो र खस्यो जमिनतिर। 

पाइलट वेद उप्रेतिले केही सेकेन्डमा जमिनतिर खसेको जहाजलार्इ फेरि आकाशमा मात्र फर्काएनन्, जहाजमा रहेका सबैलाई नयाँ जीवन दिए। 
‘जहाज जमिनतिर झरिरहँदा मेरो मुटु जरुर धड्किरहेको थियो। तर, डरले काँपेको भने फिटिक्कै थिएन,’ क्याप्टेन वेद त्यो २१ वर्ष पहिलेको घटना सम्झिँदै मुस्कुराउँछन्।  जहाज जमिनतिर खसिरहँदा आफूमा डरभन्दा पनि आत्मविश्वास पलाउने उनको धारणा छ।    

१९ वर्ष पहिले विराटनगरबाट काठमाडौंका लागि उडाएको जहाजको इन्जिन बन्द भएको घटना होस् या आकाशमै जहाजसँग उड्दाउड्दै भएका घटना अनगिन्ती छन्। 

‘सायद  हामी पाइलटको काम नै डरलार्इ जित्नु हो, तालिम पनि त्यस्तै दिइन्छ हामीलार्इ’  यति भनिसक्दा लाग्छ, उनी पाइलट होइनन्, युद्धमा होमिएका एक लडाकु हुन्।

डडेलधुरामा जन्मिएका पाइलट वेद उप्रेतिले २०४० सालदेखि नेपालमा जहाज उडाउन थालेका हुन्। नेपाली सेनामा १२ वर्ष जहाज चलाएका उनी अहिले इन्डोनेसियाको लाइन एयरका जहाज उडाउँछन्। 

पाइलट उप्रेति लेखक तथा फोटोग्राफर समेत हुन्। उनका एभरेस्ट फ्रम द एअर, नेपाल फ्रम द स्काई, फारवेस्ट नेपालः इमेजिङ्ग अ रिमोट वन्डरल्यान्ड, अन्नपूर्ण सर्किट फ्रम द वाइल्ड आईभ्यू, ३६० एभरेस्ट फ्रम वाइल्ड आईभ्यू लगायतका पुस्तक सार्वजनिक भएका छन्।
  
 
 


ट्रेन्डिङ पोस्ट

Ncell