PahiloPost

Aug 23, 2017 | ७ भदौ २०७४

कथा : दुर्गमको गरिबी


पहिलोपोस्ट /पहिलोपोस्ट

कथा : दुर्गमको गरिबी
  • रामहरी तिम्सिना

पाईलाहरु आफ्नै रफ्तारमा अघि बढिरहेका छन्। लामो समय पछिको हि‌डाई, हिड्ने बानी नै हराईसकेछ​। ५/७ वर्ष पहिले यहि बाटो २ दिनमा सदरमुकाम पुगेर फर्किन्थ्यौँ। अहिले सदरमुकामबाट हिडेको नै ३ दिन भईसक्यो अझै गाउँ आईपुगेको छैन​। शहरीया भई खाको।

कठै ! जिन्दगी

घडि हेरेँ, अहो! ५ बजिसकेछ​।

रात पर्ने बेला त भ​एको होइन तर वर्खाको समय आकाशमा बादल मडारिएको छ​। कुनै प्रलय नै हुन लगेको जस्तो पुरै वातवरण नै अनौठो भईरहेको छ​। गड्याङ गुडुङ्ग आवाजको साथ साथै वरपर भाले बासेको आवाज सुनिएको छ​।

उकालो बाटो हि‌ड्न कठिन भ​एको छ​। पाइलाहरु मुस्किलले अगाडि बढाईरहेको छु। हिउँदको महिना भ​एको भ​ए'नी गाउँसम्मै मोटर जान्थ्यो। वर्षाको बेला बाटो भत्किएका छन्। ठाउँ ठाउँमा पहिरो ग​एको छ​। गाँउ नजिकै खहरे खोलाको पुल पोहोर साल बाढीले बगाएको भन्ने सुनेको थिएँ, बनाए कि बनाएनन् थाहा छैन​।

खरीखोला पुगेँ, बिलुकीको ७ बजिसकेको छ​। मुसलधारे पानी पर्‍यो। ओत लाग्ने ठाउँ खोज्दै छु। गाउँको पुच्छारमा एउटा घर रहेछ​। आजको बास यतै बस्ने सुरमा घरतिर सोझिएँ।

घर नजिकै पुगेर, घर भित्र चियाएको पुरै सुनसान छ​।

ढोका बन्द छ​। पिँडीमा पानी पुरै चुहिएको छ​। मुस्किलले ओत लाग्न पुगेको छ​।

बिस्तारै ढोकासम्म ग​एर ढोका ढकढक गरेँ। अनि मधुरो स्वरमा बोलाएँ।

घरमा को हुनुहुन्छ​? ढोका खोल्नुस् न​?

अत्तोपत्तो छैन मान्छे भ​एको र नभ​एको। अब आपत पर्ने भयो पानी परेको बेला कहाँ जाऊँ।

एकछिन यतिकै टोलाएर बसेँ।

एक छिन पछि पुनः ढोका ढकढक गरेँ। यस पटक कोहि सलबलाएको आवाज सुनियो।

भित्र पिल्ल बत्ती बल्यो। मन फुरुङ्ग भयो। जे भ​ए पनि केहि आश पलायो।

को हो? भित्रबाट खाेकी मिसिएको बुढो मान्छेको आवाज आयो।

म हो हजुर​।

भैँसीखर्क​ जानुपर्ने पानी पर्‍यो अनि रात पनि, यसो आजलाई ओत लाग्ने ठाउँ पाइन्छ की भनेर छिरेको।

पानी परिरहेको छ। गड्याङ गुडुङ आवाज आईरहेको छ। मनमा डर त्रास उत्तिकै छ। कहिले यो शरीरलाई मुर्दा लडाए जस्तो लडाउँ भ​एको छ​।

हातमा पिलपिल बलेको मधुरो बत्ती लिएर​ १ जना वृद्ध बाहिर निस्किए, पुरै शरीर लरबराउँदै।

फुङ्ग उडेको फुस्रो अनि पुरै चाउरीएर मुजा परेको अनुहार​, आँखाहरु चिम्स परेका, परेलाहरु बटारिएका, आँखी भौंका रौँहरु फुलेका, टाउकोमा मैलो अनि च्यातिएको टोपि, ६० डिग्रिको कोणमा ढल्किएको शरीर​, शरीरका कपडाहरु च्यातिएको र मैलो, निराश अनि थकित​ अनुहार​।

कठै! बिचरा, कस्तो दया लाग्दो जिन्दगी।

तपाई कहाँबाट आउनु भो बाबु यति राती?

बुढोको आवाजले म झसङ्ग भ​एँ, म त टोलाएछु।

हजुर !

म सदरमुकामबाट आएको। मेरो घर भैंसीखर्क हो। आज पुग्नुपर्ने सकिएन​, ३ दिन भयो सदरमुकामबाट हिडेको। अँध्यारो भयो अनि पानी पनि पर्‍यो, बस्ने ठाउँ मिल्छ की भनेर आएको- मैले भनें।

राति फेरी पानी परेको बेला घरमा आउनु भ​एको पाहुनालाई यत्तिकै के पठाउनु, जसोतसो मिलेर बसौँला आउनु भित्र जाउँ।

जे भए पनि बुढो दयालु नै रहेछ​। बास त दिने भयो।

बुढो अघिअघि अनि म पछिपछि लागेँ।

घर भित्रको हालत निकै दयानिय देखिन्थ्यो। घरमा बुढाबुढी मात्र थिए। साहरा दिने कोही नभएको जस्तो। घरमा सामानहरु जताततै छरपष्ट पारिएको थियो। घरका भित्ताहरुबाट पानी चुहिरहेको थियो। अगेनाको आगो माथि पानी तपतप चुहिएको आवाज प्रष्टै सुनिन्थ्यो। अगेनो नजिकै बुढी पातलो च्यादर ओढेर सुतिरहेकी थिईन। घरको हालत देख्दा साह्रै दया लाग्यो।

बुढीको छेउमा ग​एर बुढाले बोलायो- ओई उठ! पाउना आउनु भाछ​।

बुढी सकीनसकी खुईया गर्दै उठिन्​। बुढो पट्टी हेरेर भनी- को आको किस्नेको बा?

पाउना क्या।

भैंसीखर्क जान लाको रे पानी परो, अँध्यारो पनि भो, यतै बास माग्न​ आको छन​।

कस्तो पाउना हुन के खुवाउने त?

जे खुवाए नी खुवाउँला।

म दाउरा ल्याउछु, तँ आगो जोर्दै गरेस​।

बुढो फुत्त बाहिर निस्कियो।

बुढी आगो सल्काउन तिर लागिन्।

म सबै दृष्य नियालिरहेछु। मनमा साह्रै नराम्रो महसुस भैरहेको छ​।

यो दुनियाँ पनि अजिबको छ। यहाँ गरिबको हालत यस्तो छ, जो आधा पेट खाएर, आधा शरीर छोपेर बाँचेका छन्​। उता अर्काथरी यो खाऊँ र त्यो खाऊँ भन्दै आधा खाने आधा फाल्ने गर्छन्। कति फरक छ दुर्गम र सुगमको जीवनशैली। स्वार्थी र लाेभी छ दुनियाँ, मानवता नै हराईसक्यो।

आच्या! बाबु त उभिरनुभको बस्नु न​। बुढोले अङ्गालोमा भिजेको दाउरा लिएर भित्र छिर्दै भने।

म त ठाडै सोचिरहेको रहेछु।

बुढाबुढीको हालत देखेर भोक​, प्यास, थकाई सबै हरायो​।

बुढोले चकटी दिदै बस्नुस भने।

झोला छेउमै राखेर चकटीमा बसेँ।

जाडो छ​, बाबु भिज्नु भ'को होला आगो छेउमै आएर बस्नुन्- बुढीले भनिन्।

म अगेना छेउमै ग​एर बसेँ । आगो पिल्ल बलिरहेको थियो अलिअलि भ​ए नि तातो भयो।

के पकाएर खुवाउने भनेर बुढाबुढी खासखुस गरिरहेका थिए।

मैले भनेँ- मेरो लागि केही दुःख गर्नुपर्दैन आमा। म सङ्ग झोलामा खाने कुरा छ त्यही खाउँला। चिया पकाउन पाए हुन्थ्यो। म सँग चिनी चियापत्ती छ​।

बुढोले ताप्केमा पानी बसाले।

म झोला खोतल्न तिर लागेँ। झोलामा घरको लागि किनेको फलफुल​, बिस्कुट​, चिउरा साथै अरु खानेकुरा पनि थिए। सबै निकालेँ र बुढाबुढीलाई पनि अलिअलि दिएँ।

चिया पकाएर बिस्कुट चिउरा खायौँ।

वातावरण पुरै मौन छ​, सबै जना टोलाएर बसिरहेका छौँ। बाहिर पानी परेको आवाज बाहेक​ केही सुनिएको छैन​​। आगोको राप र​ तातो चियाले शरीरलाई न्यानो बनायो। निन्द्रा लागेको महशुस गरायो​। बुढाबुढीको बारेमा केही जान्न मन लागेको छ। कसरी के भनेर सोधौँ भयो।

बिस्तारै सोधेँ- तपाईहरु मात्र घरमा, अरु कोही छैनन्?

मेरो प्रश्नले बुढाबुढी एक अर्काको अनुहार हेरेर टोलाए।

एकछिनको मौनता तोड्दै बुढाले भने- खै के भनम बाबु, जिन्दगीमा हाम्रो सबै भन्दा नजिकको साथी भनेको त आँशु मात्र रहेछ जो हामी रुँदा सँगै हुन्छ र हाँस्दा पनि सँगै हुन्छ​। बाँकी त सबै देखावटी मात्र रहेछन्। दैबको लिला बुझिनसक्नुको रैछ​, हामी दुखीलाई मात्र किन पीडा माथि पीडा दिन्छ थाहा छैन​।

हाम्रो सानो र सुखी परिवार माथि दैबको आँखा लागेछ​। सबै बर्बाद भयो, सबै तहस नहस भयो बाबु।

मलाई जान्न मन लाग्यो​। के भ​एछ​ यो परिवारमा।

मैले भनें- के भयो त्यस्तो तपाईहरुको जिन्दगीमा भन्नुस न​? अलि करै गरे जस्तो गरेँ।

बुढीले भनिन्- हाम्रो जिन्दगी केही पनि रहेनछ​, न आशा छ​, न भरोसा छ​, न त कुनै सहारा नै छ​। दैबले सबै कुरा ठग्यो हामी सँग​।

एक छिन वातावरणमा सन्नाटा छायो।

फेरि बुढाले थप्दै ग​ए- हाम्रो सानो घर अनि सानो परिवार खान लगाउन कुनै कमी थिएन​। एक छोरा र तीन वटी छोरीहरु थिए। छोरीहरु अर्काको घर जाने जात पढाउन लेखाउन हुदैन भन्थे, गाउँ समाज सँग चल्लै पर्‍यो। छोरीहरुलाई पढाउनुको साटो घरको काम गर्न लगाइयो। छोरोलाई जसोतसो पढाइयो। गाउँको पढाई सकेर छोरो शहर तिर पढ्न गयो। सबैको छोराहरु ग​एका छन् हाम्रो नजाऊ भन्न सकिएन। दुई वटी छोरीहरु आफै बिहे गरेर कता ग​ए अहिलेसम्म पत्तो छैन मरे कि जिउँदै छन​। अहिलेसम्म एक पटक पनि भेट्न आएका छैनन्। २५-३० बर्ष भयो होला गएको।

आशाका किरणहरु फैलिन नपाउदै निराशाको तुसारोपात लागेको मान्छे हौँ हामी।

अब छोरो ठुलो भयो सुखका दिनहरु आए भन्ने बेलामा शहर गको छोरो बिद्रोहीको आरोपमा जेल पर्‍यो भन्ने खबर आयो। हाम्रो होस हवास नै उडायो। हामी बुढाबुढी रुनु शिवाय के नै गर्न सक्थ्यौँ र​। छोरोलाई किन समातेको, समातेर  कहाँ राखेको छ केहि अत्तोपत्तो भ​एन​। धेरै पटक म बुढो शहर गएँ छोरोलाई भेट्न भनेर तर जति पटक जान्थेँ यतिकै फर्कन्थेँ छोरोलाई नभेटी। द्वन्द्वको बेला गोला बारुद पड्केको आवाज सुनिन्थ्यो। हामी छोरो सम्झेर धेरै रुन्थ्यौँ। चिनजानका र गाऊँका ठुलाबडालाई सहयोग गर्न भन्यौँ तर कोसैले केही गरेनन​। हामीलाई कान्छी छोरीले साहरा दिएर राखिन​। छोरो आउने बाटो हेरेरै दिन बितायौँ तर छोरो आएन​।

देशमा शान्ति आयो रे, अब मर्ने र मार्ने दिन गयो रे भन्ने खबरहरु आए। अब त छोरो पनि आउँछ की भन्ने आशा पलायो। शान्ति आएको यत्रो वर्ष भयो न छोरो आयो, न त छोरोको कुनै खबर नै। मरेको बाँचेको पत्तो छैन​। मर्‍यो भनेर काजक्रिया पनि कसरी गर्नु, मरेको कुनै ठेगान​ नै नभई।

अनि कान्छी छोरी खोई त? मैले प्रश्न गरेँ।

जसरी धेरै गहिरो नदी आवाज बिहीन बग्ने गर्छ त्यसै गरी गहिरो चोट पनि आँशु बिनै बग्ने गर्दोरहेछ​।

छोरोको आश मारेर जिनतिन जिन्दगी चल्दै थियो छोरीको साहरामा। छोरीलाई पनि हामीबाट टाढा गरायो पापी दैबले। परार साल आएको भूईचालोमा परी। हामी २ बुढाबुढीलाई छाडेर ग​ई। एक सातापछि लासलाई निकालेको, हामीले हेर्न नि सकेनौँ। अरुले भन्थे अनुहार पनि नचिनिने भ​एको थियो रे। सन्तान सबै सकिए। एउटा भएको घर पनि भूईँचालोले लडायो। हामी शोकमा डुबिरहौँ।

भूईँचालो ग​एको २-४ दिन केहि खानेकुरा पाएका थियौँ। त्यसपछि कोही आएका छैनन्। हामी बुढाबुढी दुखसुख गरिरहेका छौँ। कुनदिन लाने हो कालले थाहा छैन​। त्यही दिन लगेको भ​ए हुन्थ्यो छोरीलाई लाने साटो हामीलाई।

बुढाबुढिको आँखामा आँशु टिलपिल टिलपिल भ​एको थियो। म के भनम के भ​एँ। केहि बोल्नै सकिन​।

बुढोले फेरि भने- मृत्युको भयले सताउँदैन हामीलाई आजभोलि, धेरै रोएका छौँ मृत्युलाई अङ्गालो हाली, डर लाग्छ त केबल जिन्दगीमा घटेका अप्रिय र सत्य घट्नाहरुसँग लाग्छ। आजकल रुनलाई धेरै आँशु पनि आउँदैन आँखाबाट​, सबै रित्ति सके।

मैले सहानुभुति दिदै भने- हेर्नु जिन्दगीमा जे लेखेको छ त्यो भोग्नै पर्छ भन्छन्। तपाईहरुलाई पीडैपीडा लेखेको रहेछ त्यही भोगिरहनुभ'को छ​। जे भयो त्यो तपाईहरुको कारण भ​एको होइन​। भगवानको चाहना नै यस्तै रहेछ​। अब जति दिन बाँच्नु छ​, चिन्ता नलिई बाँच्नुपर्छ​। दैबले सबै लेखेको हुन्छ​, हामी त मात्र उसको हातको कठपुतली हौँ, त्यसैले समय र भाग्यलाइ हामीले चाहेर पनि जित्न सक्दैनौँ।

भूईँचालो ग​एपछि सरकारले घर बनाउन सहयोग गर्ने भनेको थियो केही पनि पाउनु भ​एन​?

बुढाले भने- आजसम्म कोसैले केही दिएको छैन​। २ बर्ष भैसक्यो यही झुप्रोमा बसेका छौँ। वर्खामा कस्तो हुन्छ बाबुले देखिहाल्नु भो। जाडोमा हिउँ पर्छ​, जाडोले बाहिर निस्कनै सक्दैनौँ। बुढाबुढीको वृद्ध भत्ता आउँछ​, त्यसैले जसोतसो खोलेफाँडो खाएका छौँ। कहिले सिस्नुको खोले बनाएर खान्छौँ, कहिले गाउँतिर माग्न जान्छौँ। काम गर्नलाई अब बल पनि छैन​। यसरी नै गुजरा चलाई रहेका छौँ बाबु।

जिन्दगी बुझिनसक्नुको छ​, न बुझेकाले बुझाउन सक्छन्, न जानेकाले सिकाउन सक्छन् यो त जस्ले भोग्छ उसैले सिक्छ​, यी बेसाहरा गरिब बुढाबुढीले जस्तै।

कति ठूलो बज्रपात बिचरा बुढाबुढीलाई, मान्छेको​ भाग्य पनि कस्तो हो। कस्तो थियो जिन्दगी कस्तो भयो। सुन्दै पत्यार नलाग्ने भगवानले पनि मान्छेलाई किन यति दुखी बनाउँछन्। कुन जुनीको सजाय दिएका हुन बिचराहरुलाई!

घडी हेरेको रातको १ बजिसकेछ​। निन्द्रा पनि हराईसकेको थियो। बाहिर पानी रोकिसकेको थियो। कहिले उज्यालो होला भ​एको छ​। के के सोच्दै थिएँ।

बुढाले भने- बाबुलाई निन्द्रा लागेको जस्तो छ​। रात पनि छिपिसक्यो। थकाई पनि लागेको होला। हाम्रो गफले भुलायौँ। अब सुत्नुपर्छ​।

मैले भनेँ- बिस्तारै सुतौँला। हजुरहरुको दु:ख पीडा सुनेर सबै थकाई, निन्द्रा हरायो।

बुढोले भने- जे भ​ए पनि अब सुत्नुपर्छ​। तपाई यो गुन्द्रीमा सुत्नुस भनेर एउटा कुनामा गुन्द्री ओछ्याईदिए।

म गुगुन्द्री भ​ए तिर ग​एँ। झोलालाइ सिरानी हालेर पल्टिएँ तर निन्द्रा पटक्कै लागेन​। बुढाबुढीको कुरा एक ​एक सम्झिएँ अनि उनीहरुको छोराछोरीहरुलाई सम्झिएँ, कहाँ होलान कस्तो होलान भनेर​। मनमा खुल्दुली भैरहयो। उता बुढाबुढी भने घुर्न थालिसकेका थिए।

बिहानीको सुर्यको किरणले मेरो निन्द्रा खुलायो। घडी हेरेको ८ बजिसकेछ​। उठेर यताउता हेरेँ बुढाबुढी देखिन​। बहिर निस्किए झोला बोकेरै बुढाबुढी आगनको डिलमा बसेर घाम ताप्दै थिए।

ओहो! बाबु उठ्नुभयो। थकाइ लागेको रहेछ मज्जाले निदाउनु भयो- बुढाले भने।

आफू बसेको घर चारैतिर आँखा डुलाएँ।

घर भत्किएको छ​, छानो उजाडिएको छ​, वर्षौदेखि कोही पनि नबसेको जस्तै। घरका भित्ताहरुमा लेउ लागेको छ​। घर वरपर झाडी भ​एको छ​। जताततै खर र टिनले छाएको र बारेका झुप्राहरु मात्र।

उता आफ्नो गाउँको हालत पनि यस्तै त होला मनमनै सम्झिएँ।

अब म लाग्नु पर्‍यो भनेर बुढाबुढीलाई भनेँ।

आपत परेको बेला बास दिएर पुण्यको काम गर्नुभयो हजुरहरुले, भगवानले हजुरहरुको सदैब रक्षा गरुन​। चिन्ता धेरै नलिनु जे भयो सबै बिर्सेर बस्नुहोला।

यति भने पछि बुढाबुढी बोल्न सकेनन​। आँखाबाट आँशु झारौँला झै गरि एक अर्कालाई हेरिरहे।

एकछिन पछि बुढाले भने- लौ बाबु १ दिन भ​ए नि छोराको न्यास्रो मेटियो। आफ्नै छोरा आएको जस्तो लागिरहेको छ​। आउँदा जाँदा पस्नुहोला।

हुन्छ आउँदै गरौँला भन्दै आफ्नो बाटो लागेँ।

मन भारी भ​एको छ​। हिड्न मनै छैन​। बुढाबुढीको पीडाले मन मुटु पोलेको छ​।

सानो झुपडीमा ठुलो मुटु भ​एको मान्छे बस्छन् भन्थे हो रहेछ​। यी बुढाबुढीको जतिको ठूलो मुटु र​ मन भ​एको मान्छे भेटिन मुस्किल पर्ला।

भगवानले यिनीहरुको रक्षा गरुन​!!!




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal