PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पुरातात्विक सम्पदा पुनर्निर्माणमा विवाद, कहिले निस्कने निकास? 



आकाश क्षेत्री

पुरातात्विक सम्पदा पुनर्निर्माणमा विवाद, कहिले निस्कने निकास? 

काठमाडौंः २०७२ साल वैशाख १२ गतेको भूकम्पले काठमाडौंमा रहेका कयौं ऐतिहासिक सम्पदालार्इ क्षति पुर्‍यायो।  केही सम्पदालार्इ त तहसनहस नै बनायो।

 भूकम्प गएको २ वर्ष वितिसकेको छ तर, भूकम्पले क्षति पुर्‍यायएका सम्पदाहरुको पुनर्निर्माणको काम भने एकादेशको कथा जस्तै बनेको छ।
 
नेपाललार्इ चिनाउने पुरात्विक सम्पदाहरु यसरी क्षतिग्रस्त हुँदा समयमै पुनर्निर्माण हुनपर्ने हो तर, भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि रानीपोखरी, धरहरा, हनुमानढोका दरवार स्क्वायर क्षेत्र जस्ता पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण कार्य सुरु हुन नसक्नु विडम्बनाको कुरा हो। 
काठमाडौंमा भएका दुर्इवटा धरोहर रानीपोखरी र धरहरा भन्ने बित्तिकै सम्पूर्ण नेपाललार्इ नै चिनाउने धरोहरको रुपमा चिन्न सकिन्छ तर, यस्ता धरोहर समयमा पुनर्निर्माण नभएर विवादमा फस्ने गरेका छन्। 

किन भएन सम्पदाको पुनर्निर्माण  ? 

सम्पदा पुनर्निर्माण गर्दा आउने विभिन्न किसिमका विवादकै कारण  समयमा पुननिर्माण हुन नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यामलाल भुसाल बताउँछन्। 

प्रवक्ता भुसालका अनुसार स्थानीयवासी, पुनर्निर्माण गर्ने कम्पनी, पुरातत्व विभागलगायतको बेमेलका कारण समयमा पुनर्निर्माण हुन नसकेको हो। 

केही समय अघिमात्र त्यस्तै विवादमा फसेको रानीपोखरी पुनर्निर्माणका लागि भर्खरै सहमति भएको भनिएपनि पुनर्निर्माणको काम सुरु भएको भने छैन।

धरहरा पनि विवादमै फसेका कारण पुनर्निर्माणको काम अस्तव्यस्त भएको छ भने हनुमानढोका दरवार स्क्वायर क्षेत्रमा पनि विवाद कायमै छ।

विवादमै धरहरा पुनर्निर्माण

नेपाल टेलिकमले करिब ६ अर्ब लगानी गरेर धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको थियो। तर, टेलिकमले सरकारले तयार गरेको डिजाइनमा नभइ आफ्नै नयाँ डिजाइनमा धरहरा बनाउने प्रस्ताव गरेपछि केही संस्था तथा स्थानीयले प्रस्तावको बिरोध गरेका थिए। 

नेपाल टेलिकमले धरहरा बनाउने प्रस्ताव ल्याएपछि विवाद चुलिएको प्राधिकरणका प्रवक्ता भुसाल बताउँछन्।  

साथै ३० वर्षसम्म लिजमा दिएर धरहरा निर्माण गरिने र अन्तर्राष्ट्रिय कन्सल्टेन्टबाट निर्माण गरिने आधुनिक डिजाइन विवादित भएपछि धरहरा पुनर्निर्माण सुरु हुन सकेको छैन। 
 
नेपाल टेलिकमले धरहरामा आफ्ना प्रचार सामग्री राख्ने भनेपछि विरोध भएको  प्राधिकरणका प्रवक्ता भुसाल बताउँछन् भने स्थानीयवासीले भने   पुरातत्व सम्पदाको नीति विपरित  कंक्रिटको प्रयोग गरी धरहरा पुनर्निर्माण गर्न नदिने बताउँदै आएका छन्। 

 

यस्तो थियो रानीपोखरी विवाद 

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा महानगरपालिका र पुरातत्व विभागको लामो विवादपछि विभागले नै निर्माण गर्ने टुंगोमा पुगेको छ। यसैकारण बालगोपालेश्वर मन्दिरको पुननिर्माण ढिलो गरि सम्पन्न हुने भएको हो।

सुरुमा महानगरपालिकाले आरसीसी ढलान गरेर रानी पोखरी पुनर्निर्माण गर्ने भनेको थियो। तर युनेस्कोले आपत्ति जनाएपछि  मन्दिर आधुनिक निर्माण सामग्री प्रयोग नगरी पुनर्निर्माण गर्ने जिम्मा पुरातत्व विभागलाई दिइएको छ। बालगोपालेश्वर मन्दिर २०७५ सालको असारमा मात्रै तयार हुने भएको हो।

पुनर्निर्माण प्रधिकरणले भने विवादकै कारण यसको पुनर्निर्माण समयमा हुन नसक्ने आशंका व्यक्त गरेको छ।  

खतरामा विश्वसम्पदाहरु  

भूकम्पका कारण क्षतिग्रस्त हुन पुगेको  हनुमानढोका दरवार स्क्वायर क्षेत्रलार्इ पोल्यान्डमा हुँदै गरेको यूनेस्कोको १४१‌ ‌औं महासभाले विश्वसम्पदा सूचीबाट हटाएर खतराको सूचीमा राख्ने भनिएपनि अहिले त्यो टरेको बताउँछन् पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल।

यसको पुरै पुनर्निर्माण हुन अझै लगभग ५ वर्ष लाग्ने पुरातत्व विभागका वरिष्ठ इन्जिनियर संपत घिमिरेले पहिलोपोस्टलार्इ बताए। 

त्यस्तै, भक्तपुर दरवार स्वायर पनि पुनर्निर्माण हुन धेरै समय लाग्ने पुनर्निर्माणमा खटिएका इन्जिनियरहरु बताउँछन्। चाँगुनारायण मन्दिरको पनि पुनर्निर्माण कार्य भर्खरमात्र सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell