PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कथा : नयाँ पार्टी 



कथा : नयाँ पार्टी 

  • डा. लेखनाथ काफ्ले 

अन्ततः चुनावको घोषणा भयो। 

एउटै विचार भएका नेता र पार्टीहरु छरिएर नबसौं । अब एउटै पार्टी बनाउँ । यो देशको आवश्यकता पनि हो । बडे  नेताले ६ जना नेताहरुको संयुक्त चियापान समारोहमा प्रस्ताव राखे। हुन पनि हो । पहिले एउटै पार्टीमा बसेर राजनीति गरेका उनीहरुका समयक्रममा छरिएर ६ वटा पार्टी भैसकेका थिए। 

मिलेपछि मेरो हैसियत के हुने ? भुँडी नेता।
 
त्यै हैसियत कै कारणले आफैले छाडेको नेताको पछि लाग्न त आफ्नो पुरानो मुद्धा टुंगो लाग्नु पर्यो नि । त्यसैले उनले त्यसो भनेका थिए ।

हामी सबै मिलेर चलाउँला, सल्लाहले कुरा मिलाउँला, बडे नेता । 

उसो भए म यो प्रक्रियामा सामेल छैन, भुँडी नेता निस्किए । 

ठीकै छ हामीहरु मात्रै भए पनि एकता प्रक्रियामा जाउँ, बडे नेताले भनेकोमा सबै सहमत भए । 

अध्क्षय सबैभन्दा अनुभवीलाई दिनु पर्छ, बडे नेता । 

होइन युवालाई दिनु पर्छ, कलिलो नेता । 

होइन, देश विदेशका कुराहरु जानेकोलाई दिनु पर्छ, म्यानपावर नेता । 

सबैभन्दा धेरै जनसंख्या भएको प्रदेशबाट हुनु पर्छ, खैनी नेता । 

समावेशीको हिसाबले मै हुनु पर्छ, दारी नेता ।  

६-६ मैनामा अध्यक्ष बदलौं, अहिलेलेलाई मै भए । 

पाँच पार्टीको एकता घोषणा भयो । बडे नेता फेरि सबैका नेता भै नयाँ पार्टीको अध्यक्षको आसनमा विराजमान भए।
 
म बडे नेता पछिको वरिष्ठ हुँ । मलाई दोश्रो वरियता चाहिन्छ । पहिलो बैठक मै दारी नेता कड्किए । 

त्यस्तो कहाँ हुन्छ ? मेरा समर्थक धेरै छन् सबैका भन्दा, खैनी नेता ।

उसो भए मलाई यो एकता-सेकता चाहिएन, दारी नेता निस्किए । 

यताउता, खलबल, गनगन गर्दागर्दै चुनाव आयो तर चुनाव नराम्रोसँग हार्यो नयाँ पार्टीले । एउटै सिट जित्न सकेन, सबैजसो ठाँउमा नयाँ पार्टीका उम्मेदवारहरुको जमानत नै जफत भयो । कतिपय ठाँउमा शुन्य भोट भयो । चुनाव समिक्षा बैठक डाकियो ।  
 
उताबाट आएको तेत्रो पैसा खर्च हुदाँ पनि चुनाव किन हारियो? बडे नेता कुर्लिए ।

मेरा समर्थकले धरौटी समेत आफ्नो गोजीबाट हाले । त्यै पनि जफत भयो । उताबाट आएको त्यत्रो पैसा कता गयो ? खैनी नेता । 

नेता फलाना ज्यू, पैसा त ठाउँमा पुगेनछ नि ? बडे नेता । 

होइन पैसा सबैलाई भाग लगाएर नै दिएको हो, म्यानपावर नेता । 

मैले एक पैसा पनि पाएको छैन, खैनी नेता ।

मलाई त पैसा आएको थाहै थिएन, कलिलो नेता । 

पार्टीमा उताबाट आएको रकमको व्यापक घोटाला भएको र त्यसै कारणले चुनावमा पार्टीले हावा खाएको घघडान वक्तव्य निकाले खैनी नेता र कलिलो नेताले । पार्टी आचरण विपरीत, पार्टी पद्दति बिरोधि र चुनावमा अन्तर्घातका गतिविधिहरु गरेकोमा दुवैलाई पार्टीबाट निष्कासन गर्ने फरमान जारी गरे बडे नेता र म्यानपावर नेताले । 

यस्तै आरोप, प्रत्यारोप, वक्तव्य र विरोध हुँदै चुनावको रन्को सकियो । ऋण लागेका केही कार्यकर्ताहरु वैदेशिक रोजगारका लागि पासपोर्ट बनाउनतिर लागे, केहि आफ्नो पुरानो दलाली, ठेकेदारी, तस्करी पेसाहरुमा फर्के ।

हाम्रा मान्छेलाई यसो विदेश घुमाइदिनु पर्‍यो सरकार, बडे नेताले प्रधानमन्त्रीसंगको एक्लाएक्लै भेटमा मुख खोले । 

ठिकै छ, हामीलाई काम लाग्ने मान्छे हो तपाईं  दुई साताको माछापालनको एउटा तालिम छ तपाईंको पार्टीबाट एकजना सिफारिस गर्नुस न । सरकारको आह्वान ।

हुन्छ, म भोलि नै सिफारिस पठाउछु, बडे नेता । 

बडे नेताले राजधानी मै ब्युटीपार्लर चलाएर बसेकी आफ्नै छोरीको नाम खुसुक्कै सिफारिस गरे । उड्ने भन्दा २ दिन अगाडी विदेश भ्रमणमा जानेको नामावली आयो । त्यहाँ त बडे नेताको छोरीको नाम हुने नै भयो ।  म्यानपावर नेताले घनघोर बिरोध जनाए । पहिले निस्केका ४ जना नेताहरुले पनि पत्रिकामा बडे नेताको सन्तान प्रेमको धुरन्धुर ब्याख्या गरे । बडे नेताकी छोरी माछापालनको तालिमको लागि विदेश उडिन । एता पार्टी पनि उड्यो । म्यानपावर नेताले पार्टीसंग सम्बन्ध विच्छेद गरेको घोषणा गरे । 

अब फेरि चुनाव पहिले जस्तै देशमा अरुहरु सहित ती ६ पार्टीहरुसमेत चालु हुँदा भए। 

ती भर्खरै पुनर्गठित पार्टीहरुले आफ्नो अस्तित्व प्रदर्शनको लागि केहि चक्काजाम, बन्द र कालोमोसो दल्ने कामहरु गरे । एक दुई ठाउँमा प्रेसर कुकर बम पनि पड्काए, ट्याक्सीहरुमा आगो लगाए । फलाना देशका ढिस्काना राजदुतहरुसंग ब्रेकफास्ट, लन्च र डिनर बैठक गरे । पार्टीहरु मिसिने, छुट्टिने, चोइटिने, जोडिनेक्रम चल्दै गयो । नेताहरुको विदेश भ्रमण, उपचार र आर्थिक सहुलियत सरकारसंग माग्ने र लिने कार्य जारी रह्यो। कार्यकर्ताहरुको आन्दोलनहरुमा लागेको चोट, नोक्सान र चुनावको ऋणको ब्याज बढ्दै गयो । 

समयक्रम चल्दै गयो । मानसपटलमा पुराना घटनाहरु मधुरा हुँदै गए ।  

यत्तिकैमा फेरि चुनावको घोषणा भयो । 
   
बडे नेताले सदा झैँ एउटा बिशेष चियापानको आयोजना गरे । 

एउटै विचार भएका नेता र पार्टीहरु छरिएर नबसौं । अब एउटै पार्टी बनाउँ । यो देशको आबश्यकता पनि हो । फेरी हेर्नुस ठुला पार्टीहरुको त्यो केजातिको ३ प्रतिसत थ्रेशहोल्डको षड्यन्त्र ।

सबैले पार्टीहरु एकताको लागि संयुक्त बक्तब्य जारी गर्न राजी भए । यो पटक ६ होइन १२ पार्टीहरु जम्मा भएका थिए । आखिर ३ प्रतिसतको कालो तरवार हल्लिरहेको न छ । 

यो चक्र कालान्तर घुमिरहेको छ ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell