PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

देशको आर्थिक समृद्धि सरकारको प्राथमिकताः  प्रधानमन्त्री



रासस

देशको आर्थिक समृद्धि सरकारको प्राथमिकताः  प्रधानमन्त्री


काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक समृद्धि वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। 

शुक्रबार नेपाल उद्योग परिसंघको १४ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भारत र चीनलगायत मुलुकसँगको बढ्दो व्यापार घाटाले आफूलाई चिन्तित तुल्याएको बताए। 

व्यापार असन्तुलन घटाउन निर्यातजन्य उद्योगको स्थापनाका साथै निर्यातमूलक सामग्रीको विकास र बजार प्रवद्र्धन अपरिहार्य भएको बताउँदै प्रधानमन्त्रीले  निकासी प्रोत्साहन तथा पैठारी घटाउने उद्योग व्यवसाय स्थापनाका निम्ति उद्यमी–व्यवसायीहरूलाई आग्रह गरे। 

व्यापार घाटाले भयावह परिस्थिति सृजना गर्ने , वैदेशिक मुद्रा सञ्चिति र शोधनान्तर बचतमा चाप पर्ने वास्तविकता औंल्याउँदै उद्यमीहरूलाई निर्यात प्रवद्र्धनमा लाग्न आह्वान गरे। 

भारतसँगको सीमा क्षेत्रमा उद्योग स्थापना गर्ने र त्यतातर्फ नै निकासी गर्ने वातावरण बनाउने सोच सरकारको रहेको बताउँदै उनले दक्षिणको छिमेकीसँग उसँगको व्यापार घाटा कम गर्नेबारेमा भारत सरकारका उच्चअधिकारीसँग वार्ता गर्ने जानकारी दिए। 

संयुक्त लगानी भित्र्याउनेतर्फ पनि गम्भीर भएर लाग्न उद्योगपतिहरूलाई अनुरोध गर्दै प्रधानमन्त्रीले कानुनी बाधा भए तिनलाई संशोधन गर्न सरकार तयार रहेको बताए । उनले भने, “कानुनी समस्या भए भन्नुहोस्, त्यसको मस्यौदा तयार गरेर दिनुहोस् सरकारले तत्काल आवश्यक प्रक्रिया थाल्नेछ ।” 

कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्यायसहितको समावेशी आर्थिक विकास अहिलेको आवश्यकता भएको बताउँदै ऊर्जा, पर्यटन, कृषि, जडीबुटी उपयोगबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गरे। 

लगानीको नयाँ युगतर्फ मुलुक अग्रसर भएकाले सार्वजनिक–निजी साझेदारीको विकल्प नरहेको भन्दै उनले पहिले आन्तरिक पुँजी प्रवाह गरेर उद्योगधन्दा स्थापना गर्नुपर्ने र त्यसपछि दातृ निकाय तथा विदेशी लगानीकर्ता खोज्नु उपयुक्त हुने बताए। 

उनले भने,‘आफ्नै देशमा उपलब्ध सीप, क्षमता, स्रोत र साधनको उपयोग गरौ, पुँजी पलायन रोकौँ, विश्व बैंकलगायत बहुपक्षीय निकायसँगै अनुदान होइन बरु ऋण मागौँ। ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्वतर्फ देश उन्मुख भएकाले राजनीतिक दलसहित समाजका सबै वर्ग आर्थिक विकासका निम्ति जुट्नुपर्ने बताए। 

भौतिक पूर्वाधार निर्माणजस्ता आर्थिक समृद्धिका आधार तयार गर्न मार्ग प्रशस्त भएकाले निर्यातमूलक उद्योग स्थापना र उत्पादकत्व वृद्धिका लागि नेकपा एमालेले निजी क्षेत्रलाई सधै सघाउने दृढता व्यक्त गरे । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्यमी–व्यवसायीले देशको आर्थिक प्रगतिका निम्ति सरकारसँग सहकार्य गर्न चाहेका बताउँदै अव्यावहारिक ऐनकानुनका कारण आफूहरूलाई मर्का परेको गुनासो गरिन्। 

परिसंघका संस्थापक अध्यक्ष विनोदकुमार चौधरीले २०४७ सालपछि हासिल भएको आर्थिक विकास र वृद्धिदर पुनः प्राप्त गर्न सकिने प्रशस्त सम्भावना रहेकाले राजनीतिक नेतृत्वले उद्योग क्षेत्रका पीरमर्का बुझेर अभिभावकको भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए। 

परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकको अर्थतन्त्र वृद्धि उन्मुख भएपनि आर्थिक समृद्धिसँग सम्बन्धित पूर्वाधार, वित्तीय व्यवस्थापन, सुशासनजस्ता विषयमा खासै ध्यान नगएको बताउँदै लगानी वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका निम्ति नीतिगत व्यवस्था गर्न सरकारसँग अनुरोध गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell