PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेस भेलामा प्रधानमन्त्रीलाई प्रश्न - एसपी किन फिर्ता गरेको, मधेसी भएर?



कांग्रेस भेलामा प्रधानमन्त्रीलाई प्रश्न - एसपी किन फिर्ता गरेको, मधेसी भएर?

काठमाडौं : तेस्रो चरणको स्थानीय चुनावका रणनीति गरिरहेको कांग्रेसको भेलामा छलफलमा भने अर्कै विषयले ठाउँ पाएको छ।

सभापति र नेताहरुले २ नम्बर प्रदेशमा नेपाली कांग्रेसको अवस्था के छ, निर्वाचन जित्न कसरी सहज हुन्छ जस्ता विषयमा बोल्नका लागि भने पनि आठै जिल्लाका सभापति, क्षेत्रीय सभापति र सांसदहरु समेतले प्रधानमन्त्रीसँग पर्सा र सप्तरीका एसपी फिर्ताका विषयमा प्रश्न उठाएका हुन्।
 
'एमालेको सभामा हिंसा भड्किएपछि कोही आउन नमानेका वेला आफ्नो करियरलाई नै दाउमा राखेर एसपी अनुराग द्वीवेदी आएका थिए,' सप्तरीका कांग्रेस सभापति दिनेश यादवले भने, 'उनलाई कुनै त्यस्तो चार्ज पनि लगाएको छैन। तर एकाएक फिर्ता बोलाइएको छ।'

उनले मधेसी मुलका भएकै कारण उनलाई मात्र नभएर पर्शाका एसपी गोविन्द साहलाई पनि फिर्ता बोलाइएको आरोप लगाए।
 
'हामीलाई मधेसी दलका नेताहरुले मात्र हैन मधेसी जनताले समेत मधेसमा मधेसी प्रहरी कर्मचारीले प्रशासनमा आउँन र काम गर्न पाउदैनन् भन्दै प्रश्न गर्न थालेका छन्,' पर्शा कांग्रेसका सभापति अजय द्विवेदीले भने, 'जव द्वन्द्व भइरहेको ठाउँमा मधेसीलाई काम गर्न दिदैनन् भन्ने मनोविज्ञान बन्छ भने त्यसको नतिजा के हुन सक्छ?'

उनले आफूले जनतालाई जवाफ दिन गाह्रो भएको भन्दै त्यही प्रश्न सरकारको समेत नेतृत्व गरेको आफ्नो नेतृत्वलाई गरेको बताए।
 
कांग्रेसका धनुशाका सभापति रामशरोज यादवले सबै एसपी फिर्ताको प्रश्न आठ जिल्लाका सभापतिको मात्र नभएर सबै क्षेत्रीय सभापति र सांसद्हरुको समेत भएको बताए।
 
'एउटा कर्मचारी सरुवाको विषय सरकारको अधिकार हो भन्ने नबुझेको यहाँ कोही पनि छैन र नबुझेर यो विषय उठाएको पनि हैन,' सभापति यादवले भने, 'तर, मधेसमा द्वन्द्व भएर समाधानका लागि गएका कर्मचारीलाई समाधानपछि विनाकारण फिर्ता गरिन्छ भने त्यसको सन्देश पक्कै पनि राम्रो हुँदैन।'

उनले सुरक्षा क्षेत्रमा जनताको मनोविज्ञान महत्वपूर्ण हुने भन्दै मधेसमा मधेसी प्रशासक हुन दिदैनन भन्ने भावना विकास गर्न नहुने बताए। 

प्रहरी हेटक्वाटरले पर्सा र सप्तरीका एस्पीलाई फिर्ता बोलाएपछि त्यहाँ अर्को एस्पी पठाएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell