- सञ्जय धरेल
काठमाडौं : इतिहासको गर्व र वर्तमानको आत्मबलमा टेकेर यू-१९ विश्वकपमा छनोट हुने लक्ष्य लिएर सिंगापुर उडेको नेपाल टिमले गरेको प्रदर्शन निराशा जनक रहयो। कुनै समय राम्रो खेलेर नजिते पनि मन जित्ने गरेको नेपाली टिमले यो पटक जितेर पनि मन जित्न सकेन।
सिंगापुर र मलेसिया विरुद्धको खेल जित्न नेपालले झिनो लक्ष्य पाउँदा पनि क्रमश ६ र ५ विकेट गुमाएको थियो। बलिङले खिचेको जितमा ब्याटिङले न्याय गर्न सकेन। एसियन क्षेत्रको क्रिकेट पेपरमा नै कमजोर देखिने सिंगापुर र मलेसिया विरुद्धको जितले त्यति उत्साह भरेको थिएन।
पर्खाइ थियो अफगानिस्तान विरुद्धको खेलको जसमा नेपालको अग्निपरिक्षा हुने निश्चित नै थियो। सोचेजस्तै नेपालको कमजोरी यस खेलमा छताछुल्ल भयो। सदाबहार बलिङले अफगानिस्तानलाई २०० भन्दा कम रनमा अलआउट गरेपनि ब्याटिङ धरासायी बन्दा नेपालले लज्जास्पद हारको सामना गर्नुपर्यो। यससंगै नेपालको विश्वकप छनोट सपना लगभग तुहिएको छ। अब कुनै चमत्कार नै भए मात्र नेपाल छनोट हुनेछ।
आवश्यकता सुधारको
बीच बीचमा सुखद नतिजाले हात पारेपनि त्यसलाई होल्ड गर्न नसक्नु नेपालको मुख्य कमजोरी हो। एउटा चर्चित वाक्य छ, 'जितमा सबै कमजोरी छोपिन्छ, हारमा सबै छताछुल्ल हुन्छ'। यस भनाइलाई अपवाद बनाउने कोसिस कहिले भएन। एसिया कपमा श्रीलंकासंग १ रन अन्तरले हार्दा पनि जित ठानियो तर नेपाली टिमको आगामी लक्ष्यको खाका स्पष्ट देखिएन। त्यसबेला मैदनामै रोएका दिपेन्द्रको फोटो पोस्टहरु त भए तर यू-१९ को आवश्यकता सम्बोधन हुन सकेन।
त्यस अघि युवा विश्वकपमै टेस्ट राष्ट्र न्यूजिल्यान्डलाई हराइयो भन्दै गरिएकव नेपालको खुशीयाली इतिहासको बाकसमा बन्द भयो। तर तुलनात्मक रुपमा अफगानिस्तान निकै माथि पुगिसकेको छ। उसले टेस्ट राष्ट्रलाई हरायो भनेर एकछिन् त रमाउला तर स्पष्ट रोडम्याप कोरेर अघि बढ्छ जितलाई सामान्य ठान्दैन, जसले गर्दा अफगानिस्तानको सबै लेभलको टिम शसक्त बनिसकेको छ। शान्ति क्षेत्र नेपाल भने प्रशासनिक कलहले अशान्त छ। कसैले ठिकै भनेका थिए, शरिरमा घ्यु राख्दा शारिरिक चलानमा भन्दा मानसिक चलानले चाँडो पग्लिन्छ भनेर। भिजन स्पष्ट हुन जरुरी छ। प्रतियोगिता जुन लेभलको भएपनि हुनु राम्रो कुरा हो तर प्रतियोगिता आयोजना गर्दा सरकारी निकायको छायाँ यू-१९ मा नपरेको देखिन्छ। सिनियर टिमलाई कर्पोरेट सेक्टरको साथ छ तर यू-१९ टिम अहिलेको अवस्थामा भर पर्ने भनेको सरकारी बजेटमै थियो। छनोट अघि राखेपको समन्वयमा प्रतियोगिताहरु हुनुपर्दथ्यो।
खेल, अभ्यास पक्षलाई विश्राम दिएर खेलाडीको अर्थमा हेर्दा निश्चित गन्तब्यका लागि सेन्ट्रल कन्ट्राक्टमा राख्नुपर्ने देखिन्छ। जित या हार, जे भए पनि गहिरो समिक्षा हुनु नेपाली क्रिकेटको लागि आवश्यक विषय हो किनभने ग्राफ कि सिधै उकालो देखिन्छ कि सिधै तल खसेको देखिन्छ, स्थिर रहन सकेको छैन जितको सवालमा। त्यस्तै टिमलाई सम्हाल्ने प्रशिक्षकको छनोट पनि खुल्ला प्रतिस्पर्धाबाट गरिनुपर्छ।
विगतलाई भुलेर नयाँ शिराबाट अघि बढ्नुको विकल्प छैन। नेपालको कमजोर मानिएको पक्ष ब्याटिङमा तिब्र सुधार गरिनुपर्छ। टुर्नामेन्ट छैन भनेर मौन रहनुको साटो सम्बन्धित पक्षले भविष्यको लागि आजबाटै गृहकार्य थाल्नु आवश्यक छ। अन्यथा यु१९ क्रिकेट आउने/जाने कथाको विषय मात्र बन्ने छ।
(धरेल नेपाल क्रिकेट सफोर्टर सोसाइटीका फाउण्डर मेम्बर हुन्। यो उनको व्यक्तिगत विचार हो)