PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

युट्युबमा एक करोड भ्युज : कसलाई के हुन्‍छ फाइदा?



स्वेच्छा राउत

युट्युबमा एक करोड भ्युज : कसलाई के हुन्‍छ फाइदा?

काठमाडौं : फिल्म प्रचार प्रसारका लागि इमेज च्यानलको एक कार्यक्रममा अन्तर्वार्ता दिन पुगेका थिए माधव वाग्ले लगायतको 'रेशम फिलिली' युनिट। अन्तर्वार्ताको बीचमा बज्यो फरक अनि रमाइलो सुनिने गीत 

'पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो
लाग्यो मलाई रमाइलो, तिमी र म घुम्न जाउँ न'

गीत दर्शक स्रोताको लागि नौलो थियो। भिडियो तयार नभएको गीतको अडियोमात्र अन्तर्वार्ताको बीचमा बजाइएको थियो। अन्तर्वार्ता सार्वजनिक भएको केही दिनमा गीत एकाएक चर्चामा आयो। बूढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलबाट गीतको लिरिकल (शब्दमात्र भएको) भिडियो सार्वजनिक भयो।



गीतलाई फिल्म युनिटले बेचेको भने थिएन। रेशम फिलिली निर्माता माधव वाग्लेका अनुसार इमेज च्यानलको म्युजिकल राइट्स बूढासुब्बाले लिएको थियो जसका कारण च्यानलमा बजेको गीत बुढा सुब्बाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भयो। 

गीतको राइट्स र हिट्स आम स्रोताको चासोको विषय थिएन। 'पिरतीको छाता' यसरी चलिदियो कि भिडियो बिनाको गीतलाई पनि युट्युबमा झण्डै पचास लाख पटक हेरियो। 

'केही समस्या नभएको भए जालमा करोड हिट्स बटुल्ने पहिलो नेपाली गीत हुन्थ्यो', बूढासुब्बा डिजिटलका विश्व खड्काको दाबी। उनका अनुसार गीतमा कपिराइट क्लेम भयो र युट्युबले हटाइदियो। पछि फिल्म युनिटले फिल्मको पुरै डिजिटल राइट्स बुढा सुब्बालाई बेचेको हो। पुन: अपलोड गरिएको गीतमा दुई लाख हिट्स मात्र छ। 

जालमा यसरी रुचाइयो कि सयौं कभर गीत र भिडियो अपलोड भए। रेशम फिलिली निर्माता माधव वाग्ले भन्छन्, 'गीत धेरै सुनिनुको फाइदा फिल्मको प्रचार हो।' 

फिल्म रिलिज भएको भोलिपल्ट वैशाख १२ को भूकम्प गएपछि फिल्मको व्यापार फिलिली हुनपुग्यो देशभित्र तर गीतकै कारण देश बाहिर भने राम्रो व्यापार गर्यो। माधव वाग्ले भन्छन्,'गीतकै कारण विदेशमा रेशम फिलिली धेरैले हेरे।' गीतको चर्चाले दर्शक पक्कै आकर्षित गर्छ भन्ने कुरा वाग्लेले पुष्टि गरे। 

पहिलो एक करोड भ्युज

नेपाली भिडियोको युट्युब इतिहासमा रेकर्ड कायम गर्योक फिल्म वडा नं ६ को गीत 'सुर्के थैली खै'ले। युट्युबमा एक करोड हिट्स कमाउने पहिलो नेपाली भिडियो। भर्खरै यो गीतको भिडियोले दुई करोड हिट्स नघाएको छ। यो फिल्मको पनि डिजिटल राइट्स बूढासुब्बा डिजिटलले नै किनेको थियो। गीत फिल्म प्रदर्शनपछि चर्चामा आएको बताउँछिन् दीपाश्री निरौला। भनिन्, 'सुर्के थैली खैले इतिहास त बनायो। तर त्यसको फाइदा फिल्म प्रचारको क्रममा चाख्न पाएनौं। गीत चुलीमा पुग्दा फिल्म हलबाट उत्रिसकेको थियो।' 



फिल्मको पूरै डिजिटल राइट्स १० लाखमा बेचेको निरौलाले जानकारी दिइन्। त्यसैले सुर्के थैलीको एक वर्षमा एक करोड हिट्सको फाइदा न फिल्म प्रचारमा भयो न व्यवसायिक पाटोमा। दीपा भन्छिन्, 'भिडियोमा देखिएको कलाकार र गीतकार/ संगीतकारको लागि उपलब्धि बन्यो।' 

वडा नं ६ युनिटकै फिल्म 'छक्कापञ्जा'को गीत ‘पूर्व पश्चिम रेल’ दोस्रो गीत बन्यो जसले सुर्के थैलीले भन्दा छोटो समयमा एक करोड भ्यूज पुर्यामयो। दुबै गीतको लागि गीतकार तथा संगीतकार थिए राजनराज सिवाकोटी। यी दुई गीतको सफलताले आइटम गीतको लहर चलेको नेपाली फिल्म इन्डस्ट्रीमा लोक भाकाको ट्रेन्ड सुरु गरिदियो। छक्कापञ्जाको लागि निर्माता रहेकी दीपाश्री भन्छिन्,'पूर्व पश्चिम रेल’ले त फिल्म प्रचार प्रसारको लागि निकै ठूलो भूमिका खेल्यो। त्यस बाहेक आर्थिक वा अन्य केही फाइदा छैन फिल्मलाई।' उनले आफ्नो फिल्मको गीत सफल हुनुनै खुसीको विषय भएको बताइन्। 

५० लाखमा डिजिटल राइट्स

पूर्वपश्चिम रेलको फिल्मसहित पुरै डिजिटल राइट्स ५० लाखमा बिक्री भएको थियो। राइट्स खरिद गरेको हाइलाइट्स नेपालका ओम गुरुङ भन्छन्,'भिडियोको लागि लोकल विज्ञापन नभएसम्म जति हिट्स बटुले पनि त्यसले व्यवसायिक नाफा गर्दैन।' उनका अनुसार भिडियोको भ्यूजले नाफा गराउने होइन। युट्युबको भिडियोमा बज्ने विज्ञापन र विज्ञापनमा हुने क्लिकको आधारमा युट्युबले पैसा दिन्छ। 'विज्ञापन डिस्प्लेको कति र विज्ञापनमा हुने क्लिकको कति भन्ने बारे चाहिं विज्ञापन दाता र युट्युबको कन्ट्र्याक्टमा भर पर्छ।' 

पूर्व पश्चिम रेल र ठमेल बजारको भ्यूज आक्रमक बन्दा नेपाली भिडियोको लागि हिरो, एनसेल लगायत कम्पनीले विज्ञापन दिएको उनी बताउँछन्। नेपाली भिडियोमा भारतीय विज्ञापनहरु पनि केही हदमा बज्छ तर देशभित्र नै चाहिं विज्ञापन दाता नभएको उनको तर्क छ। 'इन्टरनेट यति सहज भइसक्दा पनि युट्युबको लागि नेपाली विज्ञापन सहज बनेको छैन।' 

ओम गुरुङ भन्छन्, 'नेपाली हिट गीतहरु धेरै नेपालबाटै हेरिन्छ। नेपालबाट ८० लाख पटक भिडियो हेरिंदा एक हजार नदिने युट्युबले विदेशबाट १० हजारपटक हेरिंदा एक हजार डलर दिन्छ।' त्यसैले पनि विज्ञापन नै प्रमुख आयस्रोत भएको उनको दाबी छ। 

फिल्मसहित 'लुट टू' हाइलाइट्स नेपालले किन्दा गीत ठमेल बजारको भिडियोमा विज्ञापन पनि आयो। फिल्मको डिजिटल राइट्स किन्नेलाई पनि आर्थिक रुपमा फाइदा नै भयो र फिल्मको पनि निकै राम्रो प्रचार भयो। सुन्दा लाग्छ राम्रो बनेको गीत त फिल्म युनिटले नै अपलोड गर्दा पनि त फाइदा हुन्छ।

तर फिल्मले गीत आफै अपलोड गर्नुको सट्टा बिक्री गर्नुको बाध्यता बारे निर्माता माधव वाग्ले भन्छन्,'फिल्म बन्दै गर्दा गीत तयार भइसक्छ। बिक्री गरियो भने खर्च जुट्दै गर्छ। बेच्न सकिएन भने निर्मातालाई आर्थिक पाटोमा गाह्रो हुन्छ।' 

एक करोड भ्युजले फिल्मलाई के फाइदा?

फिल्म दुई रुपैयाँ युनिटले डिजिटल तथा इन्टरनेसनल फिल्म राइट्स बिक्री गरेर फिल्मको लगानी रिकभर गरेको निर्देशक असिम शाहको दाबी छ। फिल्मको काठमाडौं भित्र र बाहिरको लागि बिक्रेता रहेको स्टेशन फाइभको तर्फबाट प्रचण्ड श्रेष्ठले दिएको जानकारीका अनुसार फिल्मको प्रचार सहितको लगानी एक करोड १० लाख हो।

गत सोमबार त फिल्मको गीत 'कुटुमा कुटु सुपारी दाना'ले एक करोड हिट्स बटुलेको उपलक्ष्यमा समारोह नै आयोजना गरेर केक काटियो। फिल्म पोस्ट प्रोडक्शनको काम चल्दैछ। ४९ दिनमै एक करोड भ्यूज कमाउनु आफैमा एउटा रेकर्ड हो। निर्देशक असिम शाह भन्छन्,'गीत सफल हुनु फिल्म प्रचार मात्र होइन कलाकार सफल हुनु हो। गीतको श्रष्टा, संगीतकार र निर्देशक सफल हुनु हो। त्यसैले गीतको हिट्स प्रचारको माध्यम मात्र होइन। जोडिएकाको परिचय पनि हो।' 

असिम स्वीकार्छन् गीतले फिल्मको प्रचारमा राम्रो काम गर्छ। 'आजकाल त टिजरको काम गीतले गर्छ। दुई रुपैयाँको टिजर नै कुटुमा कुटु हो। अब एकैपटक ट्रेलर सार्वजनिक हुन्छ।' 

फिल्मको प्रचार, टिजरको काम गीतले गरेको छ। फिल्म युनिटलाई फिल्मको गीतले एक करोड भ्यूज कमाउनुको व्यवसायिक एवं अन्य फाइदा छैन। जतिमा राइट्स् बिक्यो बिक्यो। 

त्यसपछिको अन्य कमाइ सबै खरिदकर्ताको। बरु पर्दा अगाडि र पछाडिका  कलाकारहरु चर्चामा आउँछन्। सुर्के थैली, पूर्व पश्चिम रेल, कुटुमा कुटुकमा सर्जक राजनराज सिवाकोटी भन्छन्- गीतको चर्चाले हामी पर्दा पछाडिकाहरुलाई पनि खुसी दिन्छ, काम गर्नुको सन्तुष्टि दिन्छ।' आर्थिक रुपमा भने फिल्म युनिटले गीतको लागि जति पारिश्रमिक दियो त्यसमै गीतकार, संगीतकार र गायक गायिकाले चित्त बुझाउनु पर्छ। क्रेडिट लाइनमा नाम त देखिन्छ तर गीत चर्चित भइराख्दा उनीहरुले पनि भ्यूज, लाइक र डिस्लाइक गनेर बस्नुको विकल्प हुँदैन। 

गीत किन्ने, फिल्म नकिन्ने

गीत र फिल्म डिस्ट्रिब्युटर हाइलाइट्स नेपालका ओम गुरुङ भन्छन्, 'हाम्रा लागि पनि विज्ञापन आए त अलि अलि फाइदा हुन्छ नत्र कन्टेन्टले अर्काइभ राम्रो देखाउँछ भन्नु मात्र त हो। अरुले घर, गाडी, सुन, जग्गामा लगानी गरेको जस्तै मैले फिल्म भिडियोमा गर्छु। रिक्स लिएर। पैसा हुँदै नहुनु भन्दा थोरै मात्र भएपनि हुन्छ नि।'  हाइलाइट्स नेपालले फिल्म 'प्रेमगीत २'को डिजिटल राइट्स ७० लाखमा खरिद गरेको निर्माता सन्तोष सेनको दाबी छ। अब फिल्मको गीत र फिल्म युट्युबमा सार्वजनिक भएपछि बटुल्ने हिट्स फरक कुरा। सम्बन्धित भिडियोहरुमा विज्ञापन आए त खरिदकर्तालाई राम्रै फाइदा हुन्छ तर विज्ञापन आएन भने हाइलाइट्स नेपाललाई कसरी हुन्छ फाइदा?

'केही पनि फाइदा हुँदैन,' गुरुङको दावी। 

विज्ञापन अभावकै कारण हाइलाइट्स नेपालले सन् २०१८ बाट गीत मात्र किन्ने, फिल्म नकिन्ने निर्णय गरिसकेको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell