PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चितवनमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु



पहिलोपोस्ट

चितवनमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चितवन: जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गएराति भरतपुर महानगरपालिका–१४ वीरेन्द्रचोकमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा ना ४२ प २८१ नम्बरको मोटरसाइकल चालक स्थानीय भीमसेननगर बस्ने वर्ष ४८ का बलराम भण्डारी रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ४५ वर्षीया पद्मा भण्डारी गम्भीर घाइते भएकी छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। राति ११ बजे दुर्घटना भएकोमा उपचारको क्रममा राति १२ः१५ मा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, पूर्वी चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा गएराति ना ४२ प ४०३१ नम्बरको मोटरसाइकलले स्थानीय ४५ वर्षीया सावित्री चौधरी र ३६ वर्षीय राजेन्द्र चौधरीलाई ठक्कर दिँदा सावित्रीको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

राजेन्द्रको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। राती ९ः१० बजे सो दुर्घटना भएको हो।

सौराहाबाट टाँडीतर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell