PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भरतपुर महानगरका मेयरका उम्मेदवारको आग्रहः अदालतबाट छिटो निकास निकालियोस्



रासस

भरतपुर महानगरका मेयरका उम्मेदवारको आग्रहः अदालतबाट छिटो निकास निकालियोस्

चितवन : भरतपुर महानगरपालिका – १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको भन्दै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन्। 

दोस्रो चरणको निर्वाचनबाट विजयी जनप्रतिनिधिले गाउँ र नगरसभामार्फत भावी कार्यक्रम सार्वजनिक गरिसक्दासमेत भरतपुर महानगर अन्योलमा छ।

भरतपुर महानगरको मतगणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछिको विवाद अहिले सर्वोच्च अदालतमा पुगेको छ । उक्त मुद्दाका कारण यहाँ जितेर बसेका जनप्रतिनिधिलेसमेत काम गर्न पाएका छैनन् । 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त समूहबाट महानगरपालिका प्रमुखका उम्मेदवार रेणु दाहालले चाँडै निर्णय आए मतदातालाई समेत सहज हुने बताइन्।

उनले भनिन्, ‘एकदम लामो समय भयो, छिटो टुंग्याउन पाए हुन्थ्यो, दाहालले भनिन्, काम रोकिएको जस्तो महसुस भइरहेको छ।’ 

नेकपा एमालेबाट महानगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पनि निर्णय आउन ढिलाइ भएको जनाउँदै चाँडै निर्णय आए राम्रो हुने प्रतिक्रिया दिए । ‘विधि, परम्परा र अन्तर्राष्ट्रिय अनुभवका आधार सर्वोच्चले हेर्ला’, ज्ञवालीले संक्षिप्त प्रतिक्रिया दिए। 

अहिले दुवै उम्मेदवार अदालतमा निर्णयको ‘पर्ख र हेर’ को अवस्थामा छन्। निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेशविरुद्ध भरतपुर–१९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

सो मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनु भनी आदेश दिएपछि प्रक्रिया रोकिएको छ। 

त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आजका लागिसमेत पेशी राखिएकामा फेरि सरेको छ। मुद्दा हाल्ने स्वयं विकसमेत जे निर्णय आए पनि छिटो निर्णय गर्न आग्रह गर्छन्। 

जेठ १४ पछिको अवस्था 

जेठ १४ को मध्यरात पौने १२ बजे भरतपुर–१९ को मतगणना हुँदै थियो। दुई हजार ८९७ मत खसेको मध्ये एक हजार ८०९ मत गनेर सकिएको थियो। यसमा ज्ञवालीले ४१ हजार ६४१ तथा दाहालले ४० हजार ९०८ मत ल्याएका थिए । उनीहरुको मतान्तर ७३३ थियो।

उक्त वडामा एक हजार ८०९ मत गन्दा दाहालले ५१ मत बढी ल्याएकी थिइन्। अब करिब एक हजार र केही मत गन्न बाँकी थियो। अनि भरतपुर २० को तीन हजार ३०२ मत गन्न बाँकी नै थियो। 

रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवसमा घोषणा गरिने तयारी थियो। एकाएक राति पौने १२ बजे मतपत्र च्यातिएपछि मतगणना रोकियो जसमा ९० मत च्यातिएको पाइएको थियो।

एमालेले माओवादी कार्यकर्ताले च्यातेको आरोप लगाएको छ भने माओवादी केन्द्रले एमालेले कब्जा गर्न लागेका बेला मतपत्रको सुरक्षा गर्ने क्रममा च्यातिएको जिकिर गर्दै आएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell