PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्थानीय तहमा पहिलो भएपछि निर्वाचन आयोगलाई एमालेको धन्यवाद



रमेश वाग्ले

स्थानीय तहमा पहिलो भएपछि निर्वाचन आयोगलाई एमालेको धन्यवाद

काठमाडौं : स्थानीय तह निर्वाचनमा पहिलो भएको उपलक्ष्यमा आइतबार केक काटेर खुशी मनाएको नेकपा एमालेले त्यसको भोलिपल्ट सोमबार निर्वाचन आयोगलाई धन्यवाद दिएको छ।

निर्वाचन आयोगमा आज पुगेको एमाले प्रतिनिधि मण्डलले निर्वाचन कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनका लागि सरकारलाई दिएको दवावको प्रशंसा गर्योध। दोस्रो चरणको निर्वाचनमा एमालेले नेपाली कांग्रेसले भन्दा २९ हजार मत बढी ल्याउँदा २९ नै स्थानीय तहमा बढी जित हासिल गर्न सकेको थियो। 

'माघ सातभित्र सबै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले सरकारलाई दवाव दिइरहेको छ, त्यसका लागि हामीले धन्यवाद दिएका छौं,' एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले भने, 'हामीले अहिले दिएको दवाव पर्याप्त नभएकाले अब कडाइका साथ दवाव दिन पनि आग्रह गरेका छौं।' 

आयोगले पनि निर्वाचनका विषयमा चिन्तित रहेको भन्दै थप दवाव दिने पक्षमा रहेको प्रमुख आयुक्त अयोधीप्रसाद यादवले एमाले नेताहरुलाई बताएको उनले जानकारी दिए। 

सरकारले स्थानीय तह निर्वाचन सारेका कारण संविधानले तोकेको कार्यसूची प्रभावित हुने अवस्था देखिएको भन्दै नेम्बाङले त्यही कारण दवाव आवश्यक भएको बताए।
'संविधानले तोकेको माघ ७ भित्र सबै चुनाव सरकारले गराउँछ भन्नेमा हामीलाई शंका लागेको छ,' नेम्बाङले भने, 'त्यसैले हामीले थप दवावका लागि निर्वाचन आयोगलाई आग्रह गरेका हौं।'

जिल्ला समन्वय समिति गठनमा चासो

एमाले प्रतिनिधि मण्डलले निर्वाचन भइसकेका जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचनका लागि पनि क्रियाशिलता लिइदिन आग्रह गरेको छ। 

'निर्वाचन निर्वाचन भइसकेका जिल्लामा पनि जिल्ला समन्वय समितिको निर्वाचनमा आलटाल भइरहेको छ,' नेम्बाङले भने, 'त्यसैले जिल्ला समन्वय समिति गठनका लागि आग्रह गरेका छौं।' 

संविधानले निर्वाचन सम्पन्न भएको तीस दिन भित्र जिल्ला सभाको बैठक बसिसक्नुपर्ने व्यवस्था गरे पनि जिल्ला समन्वय समिति कति समयभित्र गरिसक्नुपर्ने समय तोकेको छैन। तर कतिपय जिल्लामा अझै जिल्ला सभाको बैठक समेत बसेको छैन। 

जिल्ला सभामा सदस्य हुने जिल्ला भित्रका स्थानीय तह अध्यक्ष र उपाध्यक्षले आफू भित्रबाट वा जिल्लाभित्रका स्थानीय तहबाट निर्वाचितहरु मध्येबाट जिल्ला समन्वय समिति प्रमुख तथा सदस्यहरु निर्वाचित गर्छन्। संविधानले जिल्ला समन्वय समितिमा महिला दलितसहित नौ जना रहने व्यवस्था गरेको छ। 

गाउँसम्मै गएर मतदाता नमावली संकलन गर

नेकपा एमालले निर्वाचन आयोगलाई गाउँसम्मै गएर मतदाता नामावली संकलन गर्न तथा बसेकै स्थानबाट मतदाता नामवलीमा नाम लेखाउने वातावरण बनाउन आग्रह गरेको छ। एमालेले निर्वाचन आयोगले एकजना पनि मतदाता मतदानबाट बञ्चित नहुनेगरी मतदाता नामावली संकलन गर्नुपर्ने भन्दै त्यका लागि आवश्यक पर्ने सबै उपाय लगाउन आग्रह गरेको हो। 

'प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्दै गर्दा एकजना पनि मतदाता नछुटुन् भन्नेमा निर्वाचन आयोग सचेत हुनुपर्छ,' नेम्बाङले भने, 'आयोगले जिल्ला निर्वाचन कार्यालयमा मात्र गरिरहेको नामावली संकलन पर्याप्त हुँदैन भनेर हामीले ध्यानाकर्षण गराएका छौं।' 

उनले प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले के गर्न सकिन्छ भनेर गृहकार्य गरिरहेको बताएको जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell