PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२९ हजार मत बढी पाउँदा एमाले कांग्रेस भन्दा २९ सिटले नै अगाडि!



रमेश वाग्ले

२९ हजार मत बढी पाउँदा एमाले कांग्रेस भन्दा २९ सिटले नै अगाडि!

काठमाडौं : स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरणको मत परिणामको अन्तिम नतिजाले संसदमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई दोस्रो हैसियतमा र दोस्रो हैसियतमा रहेको नेकपा एमालेलाई पहिलो स्थानमा पुर्‍याइदिएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र भने तेस्रो स्थानमै सीमित भएको छ।

पहिलो चरणमा २० स्थानीय तह बढी जितेर कांग्रेसले भन्दा अगाडि रहेको एमाले दोस्रो चरणमा २९ स्थान बढी जितेर मतान्तर ४९ स्थानमा पुर्‍याउन सफल भएको छ। 


नेपाली कांग्रेसको दुवै चरणको चुनावमा गरी २ सय २७ स्थानीय तहको नेतृत्व प्राप्त भएको छ भने नेकपा एमालेले २७६ स्थानीय तहको नेतृत्व पाएको छ। त्यस आधारमा पहिलो दल बनेको नेकपा एमालेले कांग्रेसले भन्दा कति मत बढी प्राप्त गर्‍यो त?

कांग्रेसलाई अर्धशतकले पछि पारेको एमालेले मत भने त्यो अनुपातमा ज्यादा पाएको छैन। एमालेले कांग्रेसले भन्दा एक लाख भन्दा कम मत अर्थात् ९४ हजार ७ सय ३२ मत मात्र बढी प्राप्त गरेको छ। तर, त्यही मतका आधारमा उसले ४९ स्थान कांग्रेसभन्दा बढी प्राप्त गरेको छ।
 
दुवै चरणको निर्वाचनमा गरी नेकपा एमालेले २७ लाख ५३ हजार १ सय १९ प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५८ हजार ३ सय ८७ मत प्राप्त भएको छ।

पहिलो चरण एमालेलाई २० स्थान बढी, ६५ हजार मत 

तीन प्रदेशका २८३ स्थानीय तहमा भएको पहिलो चरणको निर्वाचनमा एमालेले कांग्रेसले भन्दा २० स्थान बढी जित्न सफल भयो।

गाउँपालिकामा कांग्रेसभन्दा ३ सय ७७ मतले मात्र अगाडि रहेको एमालेले नगरपालिकातर्फ राम्रै अग्रता हासिल गर्‍यो। उसले नगरपालिकामा ६५ हजार दुई सय ३४ मतले कांग्रेसलाई पछाडि पार्‍यो। र, कुल मतमा एमालेले ६५ हजार ६ सय ११ मत कांग्रेसले भन्दा बढी प्राप्त गर्‍यो।
 
त्यति मतका आधारमा कांग्रेसलाई २० स्थानले पछाडि छोडेको एमालेले पहिलो चरणमा १ सय २५ स्थानमा जित हात पार्‍यो भने कांग्रेसले १ सय ५ स्थान जित्दै दोस्रो स्थानमा चित्त बुझायो। 

पहिलो चरणमा एमालेले १२ लाख ५९ हजार ९ सय ५७ मत प्राप्त गर्‍यो भने भने कांग्रेसले ११ लाख ९४ हजार ३ सय ४६ मत प्राप्त गर्‍यो। 
पहिलो चरणमा तेस्रो स्थान प्राप्त गरेको माओवादी केन्द्रले ५ लाख ६८ हजार ९ सय १२ मत प्राप्त गरी ४६ स्थानमा जित हासिल गरेको छ।

दोस्रो चरण : एमालेलाई २९ स्थान बढी जित, २९ हजार मात्र बढी मत

पहिलो चरणको मत परिणाम चित्त नबुझेको भन्दै त्यसको क्षतिपूर्तिसमेत दोस्रो चरणमा गर्ने घोषणा गरेको कांग्रेस दोस्रो चरणमा झन धेरै पछि पर्‍यो। नेकपा एमालेले कांग्रेससँग पहिलो चरणमा भन्दा पनि फराकिलो जित सुनिश्चित गर्‍यो। 

दोस्रो चरणमा कांग्रेसले एक सय २२ स्थान जित्दा एमालेले एक सय ५१ स्थानमा जित हासिल गर्‍यो र कांग्रेससँग स्थानीय तहको अन्तर २९ बनायो। 

स्थानीय तहमा पहिलो चरण भन्दा धेरै स्थानमा जित्न सफल एमालेले मतान्तर भने पहिलो चरणमा झै फराकिलो बनाउन सकेन। 
दोस्रो चरणमा एमालेले १४ लाख ९३ हजार १ सय ६२ मत प्राप्त गर्‍यो भने कांग्रेसले १४ लाख ६४ हजार ४१ मत प्राप्त गर्‍यो। दोस्रो चरणमा एमालेले प्राप्त गरेको मत कांग्रेसले भन्दा २९ हजार १ सय २१ ले मात्र बढी हो। 

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने तीन लाख ७१ हजार २ सय ८७ मत प्राप्त गरी ३८ स्थानमा जित हासिल गरेको छ। 
 

कहाँ कसले जिते? हेर्नुस् विस्तृत विवरण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell